अपराध
लुटिएको गहना ६ लाख ४४ हजार रुपैयाँ बिक्री, सुनचाँदी व्यवसायी पनि पक्राउ
पोखरा। सुनका गहनाको लोभमा आफ्नै साथीको हत्या गरेको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
बेँसीसहर नगरपालिका २‚ बोहोराबेँसीका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या गरेको आरोपमा दोर्दी गाउँपालिका १ ढोकेघर स्थायी घर भई हाल भोटेओडार बस्दै आएका ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार लामिछानेले २१ असारको साँझ बेँसीसहर नगरपालिका १‚ उदिपुरस्थित गाईखुरे झरनाभन्दा माथिको जंगलमा बोहोराको हत्या गरेको स्वीकार गरिसकेका छन्।
बोहोरासँग लामो समयदेखि चिनजान रहेका लामिछाने घटनाका दिन आफैँ बोहोराको घरमा पुगेका थिए। त्यसपछि उनीहरू भोटेओडार, उदिपुर, चिप्लेटी र गाईखुरे झरनालगायत स्थानमा घुमफिर गर्दै गएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। परिवारसँग सम्पर्कविहीन भएपछि बोहोराको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो।
प्रहरीले बोहोरा र लामिछानेबीच भएको टेलिफोन सम्पर्क, प्रत्यक्षदर्शीको बयान र मोबाइल ट्र्याकिङका आधारमा २४ असारमा लामिछानेलाई नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानबाट बोहोरा र लामपछाने यसअघि पनि सँगै हिँड्ने, खानेपिउने र जुवातास खेल्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार लामिछानेले हत्या गरेपछि बोहोराको साथमा रहेका करिब साढे दुई तोला सुनका गहना चितवनस्थित एक सुन पसलमा लगेर ६ लाख ४४ हजार रुपैयाँमा बेचेका थिए। उक्त गहना खरिद गरेको आरोपमा भरतपुर महानगरपालिका २१‚ पार्वतीपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ४३ वर्षीय दीपक विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीबाट बिक्री भएका गहनासमेत बरामद गरेको जनाएको छ।
बस्नेतका अनुसार विश्वकर्माले गहना किनेपछि तत्काल ४४ हजार रुपैयाँ नगद दिएका थिए भने बाँकी ६ लाख रुपैयाँ पछि दिने सहमति भएको खुलेको छ।
बेँसीसहर ८‚ शेरामा बस्दै आएका बोहोरा २१ असारदेखि सम्पर्कविहीन भएका थिए। उनको शव २५ असारको बिहान फेला परेको थियो। शवमा टाउको र अनुहारमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान र चोरी कसुरमा जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।