काठमाडौँ। नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू आन्दोलित बनेका छन्।
समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले काठमाडौँको शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन्।
उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा हुने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियालाई ध्यानमा राख्दै अपराधीका लागि कडा सजायको व्यवस्था हुनुपर्ने मागसमेत राखेका छन्।
सुकुम्बासी, भूमिहीन किसान र जग्गाको टुक्रासमेत नभएका देशका वास्तविक नागरिकको समस्या सधैँका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूको माग रहेको आन्दोलनमा उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए।
साथै उनीहरूले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सीप र प्रविधिमा आधारित व्यवहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन्।