काठमाडौँ। ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ ६८८ हप्ताअघिदेखि जारी बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गल पुलमुनिको वाग्मती किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ।
सफाइका क्रममा उठाइएको साढे तीन मेट्रिक टन नकुहिने फोहर महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको हो।
सफाइमा काठमाडौँ महानगरपालिका-११ का वडाध्यक्ष हीरालाल तन्डुकार, वडा नं ९ का वडासदस्य टेकराज अधिकारी, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सहभागिता थियो।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान अहिलेसम्म जारी छ। सफाइ महाअभियान सुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा अभियानकर्मी वाग्मती नदी किनारमा उपस्थित भएर सफाइ गर्दै आएका छन्।
साउने झरी, गर्मी, जाडो, दसैँ, तिहारजस्ता ठूला चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियानले निरन्तरता पाउँदै आएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
अर्को हप्ताको सफाइ कार्यक्रम पनि यसै स्थानमा हुने सफाइ महाअभियानले जनाएको छ। महाअभियानबाट प्रभावित भएर राजधानीका सबै नदी, चक्रपथका विभिन्न खण्ड र सम्पदास्थलमा पनि सफाइ भइरहेको छ।
यसैगरी राजधानी बाहिरका मुख्य मुख्य सहरका साथै ठूला नदी सभ्यतास्थलमा पनि सफाइ अभियान सञ्चालन भइरहेको छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभरका १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ।