काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

३ श्रावण २०८३
अ+
अ-

काठमाडौं। लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल अमेरिकाकै महँगो खेलकुद प्रतियोगितामध्ये एक बन्ने भएको छ।

न्युजर्सीस्थित न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनलको टिकट मूल्य अन्तिम समयमा निकै बढेको छ। फिफाको पुनर्बिक्री प्लेटफर्ममा सस्तो टिकट नै ६ हजार ४११ डलर पुगेको थियो भने केही सिटको मूल्य ३५ हजार डलरसम्म पुगेको छ।

विशेष आतिथ्य सुविधासहितका टिकटको मूल्य झण्डै ६० हजार डलरसम्म पुगेको छ। एक विक्रेताले एउटा टिकट २२ लाख ९९ हजार ९९८ डलर (करिब ३५ करोड ५० लाख रुपैयाँ) मा सूचीकरण गरे पनि उक्त मूल्यमा बिक्री भएको प्रमाण छैन।

टिकट पुनर्बिक्री प्लेटफर्म सिटगिकका अनुसार फाइनलको औसत टिकट मूल्य ११ हजार डलरभन्दा माथि पुगेको छ, जुन सन् २०२४ को सुपर बाउलको औसत मूल्यभन्दा पनि बढी हो।

फिफाले यस विश्वकपमा पहिलोपटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेपछि मागअनुसार टिकटको मूल्य बढेको हो। समूह चरणकै टिकटको प्रारम्भिक मूल्य ५७५ डलर राखिएको थियो।

महँगो टिकटका कारण सामान्य समर्थक विश्वकपबाट टाढिएको भन्दै आलोचना भइरहे पनि फिफाका अनुसार अधिकांश खेलमा स्टेडियम भरिभराउ भएका छन्।