‘झन्झटिलो कानुन बदलौँ’
विराटनगर। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारको गैरजिम्मेवारीपनका कारण संसद् र सामाजिक सञ्जालबीचको अन्तर हराउँदै गएको टिप्पणी गरेका छन्।
विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रममा आइतबार उनले सदनमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दामा सरकार लाचार र अनुत्तरदायी बनेको आरोप लगाए। उनले संसद्को गरिमा र प्रभावकारितामाथि प्रश्न उठाउँदै भने, “संसदमा हामी बोलिरहेका छौँ तर त्यो संसद् पनि अहिले बोल्ने ठाउँ मात्रै भएको छ। फेसबुक र संसद् एउटै लाग्न थाल्यो। फेसबुकमा पनि बोल्छु, बोलेर केही हुँदैन। संसद्मा पनि बोल्छु, त्यहाँ पनि केही हुँदैन। जब सरकार जवाफदेही बन्दैन, तबसम्म केही नहुने रहेछ।”
साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र सदनप्रतिको उदासीनतामाथि प्रहार गरे। प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित नहुने र आए पनि अत्यन्तै कम समय मात्र बस्ने गरेको उनले बताए। नेपाल-भारत सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले हलुका टिप्पणी गरेको उनको आरोप छ। “नेपालले भारतको सिमाना धेरै ठाउँमा मिचेको छ भनेर थाहा पाएको छु भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, अनि कहाँ मिचेको छ त भन्दा उहाँ आउनुहुन्न,” उनले भने, ‘डेढ महिना कराएपछि २० मिनेटजति यसो आएर बस्नुहुन्छ र फेरि गइहाल्नुहुन्छ। यसरी सरकार चलिरहेको छ।”
देशको आर्थिक अवस्था र विभिन्न क्षेत्रका समस्याप्रति सरकार बेखबर रहेको उनले उल्लेख गरे। उद्योगपति, व्यापारी, व्यवसायी, निर्माण व्यवसायी, किसान र मजदुरका समस्याबारे संसद्मा निरन्तर प्रश्न उठाउँदा पनि सरकारले चित्तबुझ्दो उत्तर नदिएको उनको गुनासो छ। १ साउनदेखि महँगी अत्यधिक बढेको भन्दै उनले शिक्षा, स्वास्थ्य र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आमउपभोक्ता मारमा परेको बताए। उनले भने, “आमउपभोक्ताको हितमा सरकारले करसम्बन्धी उचित नीति बनाएको छैन। हामीले बारम्बार खबरदारी गरिरहेका छौँ। सल्लाह दिइरहेका छौँ तर बहुमतको दम्भ देखाएर सुझावलाई बेवास्ता गरिन्छ।”

सरकारको कार्यशैलीप्रति लक्षित गर्दै उनले कामभन्दा नाम परिवर्तनमा मात्र सत्तापक्ष अल्झिएको टिप्पणी गरे। साम्पाङले भने, “अहिले आशातीत काम भइरहेको छैन। कानुन संशोधन गर्नुको साटो मन्त्रालयको नाम परिवर्तन गरेर समय बिताइँदै छ। भौतिक पूर्वाधार मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालय बनाउँदैमा वा बसको रङ (कलर) परिवर्तन गर्दैमा जनताको जीवनमा तात्त्विक परिवर्तन आउँदैन। झन्झटिलो कानुनी प्रक्रियामा सुधार गरेर मात्र जनताको जीवन बदल्न सकिन्छ।”
साम्पाङले देशको बढ्दो वैदेशिक ऋण र उत्पादनहीनताप्रति समेत चिन्ता व्यक्त गरे। “हामी विदेशी ऋण लिएर प्रत्येक वर्ष सरकारी कामकाज चलाइरहेका छौँ। ८० प्रतिशत मान्छे काम नगरी गफ मात्र गरेर आफूलाई विद्वान् सम्झन्छन्,” उनले भने। आफ्नो पार्टीको ‘श्रम संस्कृति’ को अवधारणा स्पष्ट पार्दै उनले अरूको रोटी खोसेर खानु राजनीति नभएको तर्क गरे। उनले भने, “हाम्रो सिद्धान्तले प्रशस्त उत्पादन गर्नुपर्छ र भोकालाई पनि खुवाउनुपर्छ भन्छ। आफू मात्रै खाएर पेट ठुलो बनाउने र अरू चाहिँ झिङ्ग्रिङ हुने प्रवृत्तिको हामी विरोधी हौँ।”
श्रमलाई सबैभन्दा ठुलो शक्ति मान्ने आफ्नो पार्टीको मान्यता रहेको भन्दै उनले कुनै पनि काम सानो नहुने र श्रमले नै देश समृद्ध बन्ने विश्वास व्यक्त गरे।