काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन्। इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।
उनले भने‚ “विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायत विविधतालाई पनि बिर्सन हुँदैन। वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई पनि तीव्र रूपमा अघि बढाउनु आवश्यक छ।”
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोत-साधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकसामु जलवायु परिवर्तनको ठुलो चुनौतीका रूपमा रहेको उल्लेख गरे। उनले भने‚ “यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्छ। हाम्रो विकास हरित विकासको सिद्धान्तमा आधारित हुनुपर्छ।”
उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्छ भन्ने कुरालाई बिर्सन नहुने बताए। लोकतन्त्रको सौन्दर्यलाई केवल आदर्श मात्र होइन व्यवहार र आचरणमा अवलम्बन गर्न सके मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्धि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे। उनले भने‚ “समयले आज त्यो दायित्व तपाईंहरूलाई सुम्पेको छ। हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा विदेसिने क्रम बढ्दो छ। यो देशका लागि चिन्ताको विषय हो। म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर/आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्यांकन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्छु।”