काठमाडौँ। हास्य कलाकार नारद खतिवडा पक्राउ परेका छन्।
हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-१० बस्दै आएका ५२ वर्षीय खतिवडालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त प्रकरणमा खतिवडासहित अन्य तीन जना पनि पक्राउ परेका छन्। अन्य पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका-८ सिरिसे घिर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोटका ३८ वर्षीय विक्रमबहादुर थापा र नपलपरासी सुनौल नगरपालिका-७ घर भई नख्खीपोट बस्दै आएका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अध्यागमन विभागद्वारा पक्राउ गरिएका ९ जना चिनियाँ नागरिकलाई छुटाइदिने भनेदै उनीहरूले ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ। १२ असारमा अध्यागमन विभागले ९ जना चिनियाँ नगारिकलाई ललितपुर सानेपाबाट पक्राउ गरेको थियो।
कलाकार खतिवडासहितको टीमले छुटाउने र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी झिकाइदिने भन्दै ७२ लाख रुपैयाँ माग गरेका थिए। माग गरेबमोजिम ९ लाख रुपैयाँ चिनियाँ नागरिकले दिइसकेका थिए।
तर, नछुटेपछि चिनियाँ नागरिकले प्रहरीलाई खबर गरे। सूचना पाएपछि प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाएको छ।