सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव उपर शनिबार (९ साउन) मा छलफल हुने भएको छ।
बिहिबार दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको थियो। उक्त बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख नन्दा गुरुङले सूचना टाँस गरेर शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेकी हुन्।
कार्यव्यवस्था समितिले अविश्वास प्रस्तावलाई संसदमा लैजाने निर्णय भने गरको छैन। बैठकमा सभामुख गुरुङले विशेष कारण देखाएर आजका लागि तोकिएको बैठक बस्न नसक्ने र चाँडै बैठकको मिति तोक्ने प्रतिबद्धता जनाएअनुरुप आगामी बैठक तय गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए।
३१ असारमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट ३२ असारमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच सांसदले हस्ताक्षर गरेका छन्।
मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस र नेकपाले मतदान गर्ने निर्णय गरिसकेका छन्। कांग्रेसले बुधबार र नेकपाले बिहिबार मुख्यमन्त्रीविरुद्धको प्रस्तावको पक्षमा उभिने निर्णय गरको हुन्।
४० सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २१ सांसद आवश्यक पर्दछ। कर्णालीमा एमाले, कांग्रेस र नेकपा मध्ये जो जता मिलेपनि सरकार बनाउन अंक पुग्छ। प्रदेशसभामा कांग्रेसका १४, नेकपाका १४, एमालेका १०, राप्रपा र स्वतन्त्र एक–एक जना सांसद छन्।