भद्रपुर। झापाको दमकमा कार, मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका ४‚ भाइरल रोडको संगम चोकनजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो।
कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दमक नगरपालिका ३ का ५३ वर्षीय रणबहादुर विष्ट सख्त घाइते भएका थिए। उनको टाउको, दुवै हात तथा खुट्टामा गहिरो चोट लागेको थियो। उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका ८ का ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात तथा खुट्टामा चोट लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।