विराटनगर। विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित एक जना उपसचिव पक्राउ परेका छन्।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगद सहित प्रहरीले नियन्त्रणमा लिएको हो।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट ३ साउनमा काठमाडौँ जाने तयारीमा थिए।
विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो।
उक्त रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो।
विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले तामाङलाई बरामद रकमसहित थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए। सामान्यतया प्रहरीले स्रोत नखुलेको थोरै रकम बरामद गर्दा समेत तत्कालै प्रेस विज्ञप्ति जारी सार्वजनिक गर्ने प्रचलन छ। तर, उपसचिव तहकै कर्मचारी पक्राउ परेको यति ठुलो घटनालाई भने मोरङ प्रहरीले हालसम्म गुपचुप राखेको छ।
यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको अनुसन्धान भइरहेको स्वीकार गरे। ‘हामीले नियन्त्रणमा लिएको व्यक्तिले सम्पत्तिको स्रोत देखाउन सक्नुभएको छैन,’ एसपी कटुवालले भने, ‘सम्भवतः आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी छ।’
यसरी गम्भीर प्रकृतिको घटनालाई प्रहरीले सार्वजनिक नगर्नुमा माथिल्लो तहको दबाब रहेको हुनसक्ने आशंका गरिएको छ। स्रोतका अनुसार, आर्थिक वर्षको अन्त्य भइ चालु आर्थिक वर्षको सुरुवातमा हुने भुक्तानी र विभिन्न योजनाहरूबाट संकलन गरिएको ुकमिसनको रकम लिएर उनी काठमाडौँ जान लागेका थिए।
असार मसान्तको सेटिङको पैसा बोकेर शक्ति केन्द्र फकाउन काठमाडौँ हिँडेका कर्मचारीलाई जोगाउन राजनीतिक र प्रशासनिक तहबाटै दबाब आएको स्रोतको दाबी छ। सरकारी पदमा बहाल रहेका जिम्मेवार व्यक्तिले यति ठुलो नगद बिनाकुनै कागजात बोकेर हिँड्नुले सिधै भ्रष्टाचारको संकेत गर्छ। यस्तो अवस्थामा प्रहरीले अभियुक्तलाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउनुको सट्टा गोप्य राख्नुले प्रहरीको कार्यसम्पादनमाथि समेत संशय उब्जिएको छ।