मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा घटनास्थल पुगेर अनुसन्धान गर्दै नेपाल प्रहरीको टोली।
अ
अ+
अ-
विराटनगर । शुक्रबार दिउँसो करिब ४ बजे आमाले खाजा खुवाएपछि घरआँगनमै खेल्न गएकी चार वर्षीया कायानत प्रवीण खातुन साँझसम्म घर फर्किइनन्। परिवारले सुरुमा उनी छिमेकमै खेलिरहेकी होलिन् भन्ने ठाने पनि समय बित्दै जाँदा खोजी सुरु गरिएको थियो। आफन्त र स्थानीयको सहयोगमा घर आसपासका खाल्डाखुल्डी, बारी र बाटोघाटोमा खोजी गर्दा अन्ततः साँझ करिब साढे ७ बजे घरदेखि करिब २ सय मिटर उत्तरतर्फ रहेको घाँसीबारीमा उनको शव फेला परेको हो।
मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी चार वर्षीया कायानतको हत्या भएको अवस्थामा शव फेला परेपछि गाउँ नै शोकमा डुबेको छ। बालिकाको विभत्स हत्याले स्थानीयलाई स्तब्ध बनाएको छ भने प्रहरीले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको छ।
मृतकका बुवा जफारुल मियाँका अनुसार उनकी श्रीमतीले दिउँसो छोरीलाई खाजा खुवाएकी थिइन्। त्यसपछि कायानत घरबाहिर खेल्न गएकी थिइन्। साँझसम्म पनि घर नफर्किएपछि परिवारले खोजी थालेको थियो।
“हामीले सुरुमा छोरी छिमेकमै खेलिरहेकी होली भन्ने सोच्यौं। पछि घर वरिपरिका सबै ठाउँ खोज्यौं। कतै भेटिएन। अन्ततः घरदेखि करिब २ सय मिटर उत्तर बारीमा मृत अवस्थामा छोरीलाई देख्दा हाम्रो होस उड्यो,” जफारुलले भावुक हुँदै भने।
जफारुलका दुई छोरा र एक छोरी थिए। कायानत परिवारकी एक्ली छोरी थिइन्।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको निधार र कन्चटमा गहिरो चोट रहेको पाइएको प्रहरीले जनाएको छ।
शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा नभएको र तल्लो भागमा कपडा लगाएकै अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका घरबाट माथिल्लो कपडा नलगाएको अवस्थामा हराएको भन्ने जानकारी प्राप्त भएको थियो।
एसपी कटवालका अनुसार घटनास्थल र शवको अवस्थाका आधारमा हालसम्म बलात्कार भएको संकेत देखिएको छैन। प्रारम्भिक अनुसन्धानमा अभिभावकसँगको कुनै पुरानो रिसइबीका कारण बालिकाको हत्या गरी शव घाँसीबारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ। तर हत्या किन, कसले र के कारणले गर्यो भन्ने विषय अझै खुल्न बाँकी रहेको उनले बताए।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव शुक्रबार राति ११ः२० बजे पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने एसपी कटवालको भनाइ छ।
हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजी तथा घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा टोली परिचालन गरिएको छ। टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै स्थानीयसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।
सत्यतथ्य सार्वजनिक गर्न स्थानीयको माग
घटनापछि मृतकका आफन्त र स्थानीयले निष्पक्ष अनुसन्धान गरी दोषीलाई यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्। अनुसन्धानका लागि पुगेका मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसमक्ष स्थानीयले हत्याको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेका हुन्।
स्थानीय मोहम्मद अन्सारीले यस क्षेत्रमा चार वर्षीया बालिकाको हत्या पहिलोपटक भएको भन्दै घटनाले सबैलाई स्तब्ध बनाएको बताए।
“हामी प्रहरीलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छौं। तर दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर सार्वजनिक गर्नुपर्छ,” उनले भने।