अनुवाद
भाषा नभएको भए मानव जाति सायद धेरै पहिले समाप्त भइसक्थ्यो।
मानव सभ्यताको लामो विकासक्रममा उसले हासिल गरेका सबैभन्दा महान् उपलब्धिमध्ये मानव समाजको निर्माणभन्दा ठूलो सायदै अर्को कुनै छ। यही प्रारम्भिक उपलब्धिका आधारमा उसले सोच्ने र व्यवहार गर्ने त्यस्ता विशेष गुणहरूको विकास गर्यो, जसले कम्तीमा उसलाई अन्य तल्ला अविकसित जीवहरूभन्दा फरक बनायो।
हामी कहिलेकाहीँ यस तथ्यलाई बिर्सन्छौँ। यसको कारण हो, हामी यति लामो समयदेखि समाजको संरक्षण, सहारा र सुविधाभित्र बाँचेका छौँ कि यसको महत्त्वलाई स्वाभाविक ठान्न थालेका छौँ। एक अर्थमा, यही बिर्सनुलाई नै समाजप्रतिको सबैभन्दा उच्च सम्मान पनि भन्न सकिन्छ। यो ठिक त्यस्तै हो, जसरी मानिसले आफूले लिने प्रत्येक साससँगै नबोलेरै पनि ईश्वरप्रति कृतज्ञता र श्रद्धा प्रकट गरिरहेको हुन्छ। यदि अवस्था यस्तो नभएको भए हामी मानिस नभई देवदूत जस्ता हुन्थ्यौँ, जसलाई जीवनमा उकुसमुकुस वा झिँजो लाग्ने भन्ने कुरा नै थाहा हुँदैनथ्यो।
समाजको निर्माणमा भाषाको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो भन्नेमा कुनै दुईमत छैन। भाषाविना मानव समाजको अस्तित्व नै सम्भव थिएन। यहाँ ‘समाज’ भन्नाले हामी मौरीको घार वा कमिलाको ताँती जस्तो यान्त्रिक र चेतनाविहीन समूहलाई बुझ्दैनौँ, जसले केही आधारभूत संकेतमार्फत केवल सजिला उद्देश्य मात्र पूरा गर्छ। लेखक जोयस क्यारीका शब्द सापटी लिएर भन्नुपर्दा समाज भनेको त स्वतन्त्र हुन अभिशप्त त्यस्तो समुदाय हो जहाँ मानिस आफ्नो जोखिमपूर्ण नियतिलाई चुनौती दिँदै अर्थपूर्ण र सिर्जनात्मक अस्तित्व निर्माण गर्न सक्षम हुन्छ।
समाज जस्तै हामीलाई आफ्नो बोली पनि यति स्वाभाविक लाग्छ कि हामी त्यसबारे ज्यादा सोच्दैनौँ, न त यसको आविष्कार हुनुअघिको मानव अवस्थाबारे कल्पना नै गर्छौं। तर, हामीलाई थाहा छ, मानिसमा भाषाको ज्ञान जन्मजात आएको हुँदैन। उसमा यसको क्षमता मात्र जन्मजात आएको हुन्छ। त्यसैले कुनै प्राचीन समयमा हाम्रा पुर्खाहरूसँग भाषा थिएन भन्ने कुरा स्पष्ट छ।
त्यही प्राचीन समयको कुनै एउटा घटनाको कल्पना गरौँ। कुनै एक जना मान्छे अनजानवश एउटा ढुंगे ओडारभित्र पस्छ, जहाँ अर्को मानिस अँध्यारो कुनामा भर्खर खाना खाएर बसेको हुन्छ। यो कुरा ओडारभित्र पसेको व्यक्तिलाई थाहा हुँदैन। नयाँ आगन्तुकले त्यहाँ अर्को मानिस छ भन्ने कुरा पहिलो पटक तब मात्र थाहा पाउँछ, जब कसैले उसको टाउकामा ढुंगाले हिर्काउँछ। यदि त्यो अवस्था हामीले अहिले भन्ने गरेको जस्तो मानवीय हुन्थ्यो भने, सम्भवतः ‘तिमीलाई के चाहिएको हो?’ भन्ने एउटा साधारण प्रश्न वा रिसाएर ‘यहाँबाट निस्किहाल!’ भन्ने वाक्य जस्ता साधारण गफगाफले नै त्यो टकरावलाई हिंसारहित ढंगले टुंग्याउन सक्थ्यो।
निश्चय नै भाषाले सबैजसो हिंसा हटाउन सक्छ भन्ने दाबी गर्नु मूर्खता हो। आखिर मानिस पनि अरू जनावरभन्दा कम हिंस्रक छैन, बरु अझ बढी नै छ भन्दा पनि हुन्छ। ऊ सम्भवतः आफ्नै जातिलाई लगातार हिंसा गर्ने एक मात्र प्राणी हो। तर, यति हुँदाहुँदै एउटा कुरा के सत्य हो भने, भाषा नभएको भए मानव जाति सायद धेरै पहिले समाप्त भइसक्थ्यो।
सन् १९५० को दशकमा पूर्वी अफ्रिकाको ओल्डुभाइ उपत्यकामा डा. एल.एस.बी. लिकीले गरेका प्रसिद्ध उत्खननलाई पछ्याइरहेका धेरै मानिस उनको एउटा दाबीले स्तब्ध भएका थिए। आधुनिक प्यालेन्टोलोजीको महत्त्वपूर्ण खोज मानिने ‘प्रि-जिन्जान्थ्रोपस’ नाम दिइएको करिब १२ वर्षको बालकको अवशेष अनुसन्धान गरेपछि डा. लिकीले सम्भवतः त्यस बालकको हत्या भएको हुन सक्ने बताएका थिए। अफ्रिकाको अझै दक्षिण भूभागमा अध्ययन गरिरहेका प्रोफेसर रेमन्ड डार्टले पनि ट्रान्सभालका गुफाहरूमा यस्तै नरहत्याका प्रमाणहरू फेला पारेका थिए। तर, यदि हामी मानव इतिहासको प्रारम्भिक मनोविज्ञानलाई बुझ्थ्यौँ भने, यस्तो कुरा हामीलाई त्यति अचम्म लाग्ने थिएन।
भाषा दूषित हुँदा त्यसको नोक्सानी हामी सबैले बेहोर्नुपर्छ। यो ठीक त्यस्तै हो, जस्तै कुनै देशको मुद्रा अवमूल्यन हुँदा त्यसको असर केवल अर्थमन्त्री वा बैंकका अधिकारीहरूलाई मात्र होइन, सम्पूर्ण नागरिकलाई पर्छ।
अब अर्को र केही फरक उदाहरण हेरौँ। मानौँ, एउटा नवजात शिशु रोइरहेको छ। उसकी आमाले ऊ भोकाएको होला भन्ने ठानेर दूध चुसाउँछिन्, तर त्यो शिशु दूध खान मान्दैन र झन् जोडले रुन थाल्छ। उसले दिसापिसाब पो गरेको छ कि? उसलाई कतै दुखेको पो छ कि? लुगाभित्र कमिला पसेर टोकेको पो हो कि? कि उसलाई निद्रा लागेको हो? अथवा अर्थोकै समस्या छ?
शिशु रुनुको सही कारण फेला नपर्दासम्म एउटी अनुभवहीन आमाले केवल अनुमानको आधारमा अनेक अड्कलबाजी गरिरहनुपर्छ। त्यतिन्जेल बच्चाले पीडा भोगिरहेको हुन्छ भने आमाले मानसिक तनाव। अर्को शब्दमा भन्नुपर्दा, त्यस शिशुसँग दुईचार वटा शब्दहरूको ज्ञान नहुँदा उसका सामान्य आवश्यकता बुझ्न र उसलाई सन्तुष्ट बनाउन सकिँदैन। मलाई लाग्छ, यो झुर उदाहरणबाट पनि के जान्न सकिन्छ भने, भाषा समाजका व्यवहार र सम्बन्धलाई सहज बनाउने महत्त्वपूर्ण साधन हो।
सानो र आपसमा घनिष्ठ समाजहरूमा भाषाको महत्त्व अझ स्पष्ट देखिन्छ। उदाहरणका लागि, हिब्रुहरूको सृष्टिकथामा ईश्वरले वचनमार्फत संसार सिर्जना गरेका थिए। ईसाई परम्परामा, सन्त जोन द गोस्पेलको सुसमाचारमा ‘वचन’ नै स्वयं ईश्वर बनेको उल्लेख छ।
अफ्रिकाका धेरै समाजमा पनि भाषाको शक्ति र शब्दको प्रभावबारे यस्तै धारणा पाइन्छ। नाइजेरियाको इग्बो समाजबारे इग्वे र ग्रिन लेख्छन्– जो व्यक्ति भाषा कुशलतापूर्वक प्रयोग गर्न जान्द्थ्यो, उखान-टुक्का र आहान राम्रोसँग प्रयोग गर्थ्यो, उसलाई समुदायले सम्मान गर्थ्यो र प्रायः त्यो समाजको नेतृत्व पनि उसैलाई दिने गरिन्थ्यो।

अफ्रिकाको अर्को भूगोल केन्याका लेखक मुगो गाथेरुले आफ्नो आत्मकथामा बलियो दृष्टान्तसहित लेखेका छन्– किकुयू समुदायमा राम्रो बोल्ने मानिसलाई सधैँ सम्मान गरिन्छ, र त्यहाँ ‘मुखिया’ भन्ने शब्दको अर्थ नै ‘मुखले राम्रो बोल्ने’ हुने गर्दछ।
तान्जानियाको वापांग्वा समुदायको एउटा सृष्टिकथा अझ रोचक छ। त्यो यसरी सुरु हुन्छ– आकाश फराकिलो, उज्यालो, सफा र खाली थियो। त्यहाँ न त तारा थिए, न चन्द्रमा। केवल एउटा रुख हावामा उभिएको थियो, र सिरसिर बतास चलिरहेको थियो। रुखमा केही कमिला थिए। बतास, रुख, कमिला र आकाशलाई शब्दको अदृश्य शक्तिले नियन्त्रण गरिरहेको थियो। त्यो शब्द वा वचन कुनै देखिने वस्तु त थिएन, तर त्यो यस्तो शक्ति थियो जसले एउटा वस्तुबाट अर्को वस्तुको सृष्टि हुने कुरालाई सम्भव बनाउँथ्यो।
अफ्रिका र अन्य ठाउँका आजका समाजहरू पुराना धार्मिक मान्यताबाट धेरै पर पुगिसकेका भए पनि कुनै कुनै सन्दर्भमा भाषाको पुरानो गरिमा अझै बाँकी रहेको पाइन्छ। लेखक कमारा लायेले आफूले बाल्यकाल बिताएको गिनी भने देशमा यस्तो दृष्टिकोण अझै जीवित रहेको उल्लेख गरेका छन्। उनका अनुसार त्यहाँका गाउँका मानिसहरूमा एउटा उच्च गरिमा थियो, जुन सहरको जीवनमा प्रायः अभाव हुने गर्दथ्यो। उनीहरू सोचेर मात्र बोल्थे किनकि त्यहाँ बोल्नु आफैँमा विशेष र गम्भीर कुरा मानिन्थ्यो।
अन्त्यमा, बिल्कुलै फरक सांस्कृतिक परिवेशबाट एउटा उदाहरण हेरौँ। जेरोम रोथेनबर्गद्वारा सम्पादित उत्कृष्ट कवितासंग्रह सेकिङ द पम्पकिनमा समावेश एस्किमो समुदायको परम्परागत कविता ‘म्याजिक वर्ड्स’ का यी हरफहरू–
त्यो यस्तो समय थियो,
जहाँ शब्दहरू जादु जस्ता हुन्थे।
मानव मनसँग रहस्यमय शक्ति हुन्थ्यो।
यतिकै बोलिएको एउटा शब्दले पनि
अनौठा परिणामहरू ल्याउन सक्थ्यो।
त्यो शब्द एकाएक जीवन्त बनेर आउँथ्यो
मानिसहरूले जे चाहन्थे, त्यसले त्यही नै बनाउँथ्यो
यसका लागि केवल त्यो शब्द बोलिदिए पुग्थ्यो…
यसले के देखाउँछ भने, कुनै समय शब्दहरूलाई केवल सञ्चारको माध्यम मात्र होइन, सृष्टि र परिवर्तनको शक्ति पनि मानिन्थ्यो।
यस्ता मिथकहरूको जन्म भएका साना र आत्मनिर्भर समाजहरूमा भाषाको विश्वसनीयता सुरक्षित रहन्छ किनभने त्यहाँ आफ्नो समुदायभित्र के भइरहेको छ भन्ने कुरा सबैले सजिलै थाहा पाउन, बुझ्न र मूल्यांकन गर्न सक्छन्। त्यसैले त्यहाँ सत्य र असत्यबीचको सीमारेखा प्रायः स्पष्ट कोरिएको हुन्छ। कुनै व्यक्तिले आफ्ना समुदायका मानिसहरूसँग कुरा गर्दा उनीहरूलाई ऊ कस्तो स्वभाव र चरित्र बोकेको व्यक्ति हो भन्ने पहिल्यै थाहा हुन्छ।
इग्बो समुदायको भनाइमा, कोही व्यक्ति यस्ता हुन्छन् जसका शब्दमा विश्वास गरेर काम गर्न सकिन्छ। र, कोही यस्ता पनि हुन्छन्, जसले यदि तिमीलाई ‘यहीँ उभिरहन’ भन्यो भने, तिमीले तुरुन्तै टाप कस्नु भन्ने बुझ्नुपर्छ!
तर, समाज ठूलो र जटिल बन्दै जाँदा हामी सबै तथ्य आफैँ जान्न सक्दैनौँ, बरु अरूको भनाइ सुनेर त्यसैमा विश्वास गर्न बाध्य हुन्छौँ। हामी कति निर्णयहरूको अधिकार पनि अरूलाई सुम्पन्छौँ, जसलाई हामीले चिनेकै हुँदैनौँ।
यस विषयमा म केहीबेरपछि फेरि फर्कनेछु। तर, त्यसअघि यससँग सम्बन्धित अर्को महत्त्वपूर्ण समस्याबारे चर्चा गरौँ। त्यो समस्या के हो भने, भाषा आफ्नो वरिपरिको वातावरणमा आउने हरेक नयाँ परिवर्तन, मानिसले प्राप्त गर्ने हरेक नयाँ अनुभूति, समाजको जीवन दिनप्रतिदिन जटिल बन्दै जाँदा थपिने हरेक नयाँ आयाम, अनि प्रत्येक व्यक्तिका निजी अनुभूति र विशिष्ट अभिव्यक्तिलाई समेट्नका लागि आवश्यक गतिमा परिवर्तन हुन सक्दैन। यही कारण भाषामा निरन्तर दबाब सिर्जना भइरहन्छ।
यही प्रसंगमा कवि टी.एस. एलियटका ‘फोर क्वारटेट्स’ का ती अविस्मरणीय पंक्तिहरू सम्झनामा आउँछन्, जहाँ कविले शब्दसँग जुध्दा भोग्नुपर्ने निरन्तर संघर्ष, निराशा र पीडालाई अत्यन्त मार्मिक रूपमा व्यक्त गरेका छन्:
शब्दहरूलाई सही ढंगले प्रयोग गर्न सिक्ने प्रयास गर्दै गर्दा,
हरेक प्रयास एकदमै नयाँ सुरुवात हुन्छ, र हुन्छ एक बेग्लै असफलता पनि।
साँच्चै हामी जस्ता सामान्य मानिसले यो प्रश्न उठाउन सक्छौँ, के यो साँच्चै सबैको समस्या हो, कि आफ्नो आदर्श शक्तिको अनुकम्पा पाउन पीडामार्फत आफूलाई नै कठोर रूपमा कस्ने कुनै अति संवेदनशील साधकको रोदनको अर्को रूप मात्र हो?
जब एलियट ‘सही वाक्य’ को महिमा गाउन थाल्छन्, उनका शब्दहरूमा मानौँ कुनै आध्यात्मिक उन्मादको झल्को देखिन थाल्छ:
सही तर अश्लीलता नभएका सामान्य शब्द,
सटीक तर विद्वता नछाँट्ने औपचारिक शब्द
र ती सबै एउटै लयमा नृत्य गरिरहे जस्ता…
महान् उद्देश्य र उत्सवमय उल्लासको यो अनौठो मिश्रणले हामीलाई केही अन्योलमा पार्न सक्छ। तर, शब्दको शुद्धता र गरिमाप्रति एलियट कति गम्भीर र सचेत थिए भन्नेमा चाहिँ कुनै शंका छैन। अनि हामीमध्ये साह्रै साधारण र व्यावहारिक सोच भएका मानिसले पनि यो नठानौँ कि भाषाप्रतिको यस्तो चिन्ता र एलियटले जोड दिएका कडा अनुशासन कविहरूका लागि मात्र आवश्यक हुन्छन्। भाषा दूषित हुँदा त्यसको नोक्सानी हामी सबैले बेहोर्नुपर्छ। यो ठीक त्यस्तै हो, जस्तै कुनै देशको मुद्रा अवमूल्यन हुँदा त्यसको असर केवल अर्थमन्त्री वा बैंकका अधिकारीहरूलाई मात्र होइन, सम्पूर्ण नागरिकलाई पर्छ।
हाम्रा ती आदिम पुर्खाहरू, जसले हाम्रो लागि भाषा निर्माण गरे, त्यसलाई जोगाएर पुस्तान्तरण गरे र सोझै भन्नुपर्दा पशुत्वबाट मानवतातर्फको पहिलो खुड्किलो पार गरे, उनीहरूले भाषाको दुरुपयोग नगर्नु भन्ने गम्भीर चेतावनी पनि विभिन्न प्रतीक र मिथकमार्फत हामीलाई सुम्पेर गएका छन्।
अर्थमन्त्री र मुद्राको अवमूल्यनकै प्रसंग निस्कँदा एउटा रोचक घटना सम्झनलायक छ। सन् १९७२ को स्प्रिंग संस्करणको द अमेरिकन स्कोलर पत्रिकामा प्रकाशित प्रोफेसर डगलस बुसको ‘पोल्युटिङ आवर ल्यांग्वेज’ शीर्षकको निबन्धमा एउटा रमाइलो उद्धरण दिइएको छ। अमेरिकाका तत्कालीन अर्थमन्त्री जोन कोनालीले भनेका थिए, ‘साठीको दशकको सुरुआतमा हामी बलिया थियौँ, हामी संक्रामक थियौँ।’
उनले प्रयोग गर्न खोजेको शब्द र आशय त्यो थिएन भनेर स्पष्ट रूपमा भन्न सकिन्छ। यो केवल जिब्रो चिप्लिएको एउटा सामान्य भुल थियो, यद्यपि यस्तो प्रकारको भुल मनोविश्लेषक सिग्मन्ड फ्रायडका अनुयायीहरूका लागि भने निकै रोचक विषय बन्न सक्थ्यो। तर, कुनै कुनै पेसाभित्र शब्दको अवमूल्यन गर्ने प्रवृत्ति नै हुन्छ भन्ने निष्कर्ष निकाल्नु पनि पूर्णतः अनुचित नहुन सक्छ।
अब हामी भाषाको स्वभाव र त्यसले सेवा गर्ने समाजकै चरित्रका कारण उत्पन्न हुने स्वाभाविक सीमाबारेको छलफलबाट अर्को अझ गम्भीर खतरातर्फ मोडिनुपर्छ। त्यो खतरा भाषाको जन्मजात अपूर्णता वा यसको सामान्य प्रयोगकर्ताहरूको अयोग्यता वा लापरवाहीका कारण उत्पन्न हुँदैन। बरु आफ्नो स्वार्थ पूरा गर्न शब्दलाई जानाजान तोडमोड गर्ने र आफ्नो उद्देश्यअनुसार प्रयोग गर्ने मानिसहरूले भाषाको गरिमाप्रति गर्ने नियोजित आक्रमणबाट उत्पन्न हुन्छ।
मानिसले सिर्जना गरेका अन्य आविष्कार जस्तै भाषाको पनि दुरुपयोग हुन सक्छ भन्ने कुरा सर्वविदितै छ। भाषालाई यसको मूल उद्देश्यबाट विचलित गरी निरर्थक र विनाशकारी माध्यमसम्म बनाउन सकिन्छ। यस आधुनिक संकटप्रति आफ्ना लेखनमा गहिरो चिन्ता व्यक्त गर्ने जर्ज अर्वेल भाषा केवल विचार व्यक्त गर्ने माध्यम होइन, यसलाई विचार लुकाउन र मानिसलाई सोच्नै नदिने बनाउनसमेत प्रयोग गर्न सकिन्छ भनेर हामीलाई सम्झाउँछन्।
सायद हामी सबै यो यथार्थसँग राम्ररी परिचित छौँ। यसको सुरुआत विज्ञापनका आकर्षक नाराबाटै हुन्छ, जसले हामीलाई भन्छ ‘प्रगतिशील बन्नुहोस्! फलानो फलानो टुथपेस्ट प्रयोग गर्नुहोस्!’ वा कुनै डिपार्टमेन्ट स्टोरले ‘बचत उत्सव’ मा सहभागी हुन आह्वान गर्छ।
त्यसपछि आउँछ केही विद्वान् मानिसहरूले आफ्ना ज्ञानका घेरालाई अरूका लागि दुर्गम बनाइराख्न प्रयोग गर्ने जटिल शब्दावली। उदाहरणका लागि, ‘दुवै स्तन निकालियो’ भन्नुको सट्टा ‘बाइल्याटरल मास्टेक्टोमी गरियो’ भन्ने शब्दावली प्रयोग गरिन्छ। त्यसपछि पालो आउँछ त्यस्ता राजनीतिज्ञहरूको, जसले क्लिष्ट सरकारी भाषाको आडमा नागरिकको जीवन वा उसका सन्तानको भविष्यसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई नै अस्पष्ट बनाएर राख्छन्। वा त्यस्ता सरकारी तथ्यांकविद्को, जसले ‘अपराधको वृद्धिदर घट्दो दरमा बढिरहेको छ’ भन्ने जस्ता अलमल्याउने वाक्य प्रयोग गरेर वास्तविकता नै धमिल्याइदिन्छन्।
हरेक समुदायसँग आफ्ना प्राचीन मिथक वा पवित्र धार्मिक कथाहरूको एउटा सम्पदा हुन्छ। यी अलौकिक कथाहरू मानिसले जीवन र मृत्युका रहस्य तथा समस्यालाई बुझ्ने प्रयासस्वरूप र अस्तित्वको जटिलतालाई अर्थ दिन सिर्जना गरेका हुन्।
आधुनिक जीवनका यी परिचित प्रवृत्तिबारे थप समय खर्च गर्नु आवश्यक छैन। बरु यस प्रसंगलाई १९ अक्टोबर १९७१ मा न्युयोर्क टाइम्समा प्रकाशित एक अन्तर्वार्तामा कवि डब्ल्यू. एच. अडेनले व्यक्त गरेको विचार उद्धृत गर्दै टुङ्ग्याउन चाहन्छु :
‘नागरिकका रूपमा होइन, एउटा कविका रूपमा मेरो एउटै राजनीतिक कर्तव्य छ, आफ्नो भाषालाई भ्रष्ट हुनबाट जोगाउनु। आज यो दायित्व झन् गम्भीर बनेको छ किनभने भाषा अत्यन्त तीव्र गतिमा भ्रष्ट हुँदै गएको छ। भाषा भ्रष्ट भएपछि मानिसहरूले आफूले सुनेका कुराको विश्वास गुमाउँछन्, र त्यही अविश्वासले अन्ततः हिंसालाई जन्म दिन्छ।’
यसरी कुरा फेरि त्यही प्रारम्भिक गुफामानवको अवस्थामै पुगेर टुंगिन्छ, जहाँबाट हामीले आफ्नो चर्चा सुरु गरेका थियौँ। वास्तवमा, मेरो मुख्य उद्देश्य यही कुरा प्रस्तुत गर्नु हो कि हाम्रा ती आदिम पुर्खाहरू, जसले हाम्रा लागि भाषा निर्माण गरे, त्यसलाई जोगाएर पुस्तान्तरण गरे र सोझै भन्नुपर्दा पशुत्वबाट मानवतातर्फको पहिलो खुड्किलो पार गरे, उनीहरूले भाषाको दुरुपयोग नगर्नु भन्ने गम्भीर चेतावनी पनि विभिन्न प्रतीक र मिथकमार्फत हामीलाई सुम्पेर गएका छन्।
हरेक समुदायसँग आफ्ना प्राचीन मिथक वा पवित्र धार्मिक कथाहरूको एउटा सम्पदा हुन्छ। यी अलौकिक कथाहरू मानिसले जीवन र मृत्युका रहस्य तथा समस्यालाई बुझ्ने प्रयासस्वरूप र अस्तित्वको जटिलतालाई अर्थ दिन सिर्जना गरेका हुन्। पश्चिम अफ्रिकाको उत्तरी सभाना क्षेत्र जुन क्यामरुन र नाइजेरियादेखि माली र सेनेगलसम्म फैलिएको छ, त्यहाँका फुलानी समुदाय त्यस्तै गौरवशाली घुमन्ते जाति हो। उनीहरूको जीवन गाईवस्तुसँग घनिष्ठ रूपमा जोडिएको छ, र गाईको दूध नै उनीहरूको जीवन निर्वाहको मुख्य आधार हो। मालीबाट संकलित फुलानी समुदायको एउटा सृष्टिकथा यसरी सुरु हुन्छ :
सुरुमा दूधको एउटा विशाल थोपा मात्र थियो।
त्यसपछि डुन्डारी आयो र उसले ढुंगा सिर्जना गर्यो।
ढुंगाबाट फलाम उत्पन्न भयो;
फलामबाट आगो;
आगोबाट पानी;
र पानीबाट हावा।
त्यसपछि डुन्डारी दोस्रो पटक पृथ्वीमा आयो।
उसले यी पाँच तत्त्वलाई एकत्रित गर्यो
र तिनैबाट मानिसको सृष्टि गर्यो।
तर मानिस अहंकारी बन्यो।
त्यसपछि डुन्डारीले अन्धोपन सिर्जना गर्यो,
र अन्धोपनले मानिसलाई पराजित गर्यो।
तर अन्धोपन नै अत्यन्त अहंकारी भएपछि,
डुन्डारीले निद्रा सिर्जना गर्यो,
र निद्राले अन्धोपनलाई पराजित गर्यो।
तर निद्रा पनि अहंकारी भएपछि,
डुन्डारीले चिन्ता सिर्जना गर्यो,
र चिन्ताले निद्रालाई पराजित गर्यो।
जब चिन्ता पनि अहंकारी बन्यो,
डुन्डारीले मृत्युको सृष्टि गर्यो,
र मृत्युले चिन्तालाई पराजित गर्यो।
तर जब मृत्यु स्वयं अत्यन्त अहंकारी बन्यो,
डुन्डारी धर्तीमा तेस्रो पटक अवतरित भयो।
यसपटक ऊ ‘गुएनो’ बनेर अनन्त अस्तित्वका रूपमा आयो,
र गुएनोले मृत्युलाई नै पराजित गर्यो।
तपाईंले याद गर्नुभयो होला, मानिसको सृष्टिपछिको दोस्रो खण्डमा ‘अत्यन्त अहंकारी बन्यो’ भन्ने वाक्यांश लयात्मक संगीतको मुख्य ताल झैँ बारम्बार दोहोरिरहन्छ। यो मिथक रच्नेहरूले हामीले त्यसलाई बेवास्ता नगरौँ भन्ने चाहेको स्पष्ट देख्न सकिन्छ। वास्तवमा, यही कुरा नै उनीहरूको मुख्य सन्देश थियो।
अहंकारले अन्ततः मानिसको विनाश गर्छ। यही सन्देश पटक पटक दोहोर्याइएको छ। मानौँ, हावाको वेग र गर्जनलाई छिचोल्दै सभानाको एक छेउबाट अर्को छेउसम्म कसैले ठूलो स्वरमा सन्देश पुकारिरहेको छ, ताकि टाढाको मानिसले पनि त्यो सन्देश स्पष्टसँग सुनोस्। अझ यसलाई आधुनिक बिम्बमा भन्ने हो भने, खराब मौसम वा अवरुद्ध टेलिफोन लाइनमा कतै टाढाको दूरीमा फोन गर्दा जस्तै उताको मानिसले प्रस्टसँग सुनोस् भनेर एउटै कुरा पटक पटक दोहोर्याइएको छ।
फ्रान्सेली संरचनावादी मानवशास्त्री क्लाउड लेभी स्ट्राउसले मिथकमा देखिने यस्तो पुनरावृत्तिलाई सूचना सिद्धान्तसँग जोडेर व्याख्या गर्ने प्रयास गरेका छन्। उनका अनुसार हाम्रा पुर्खाहरू सन्देश पठाउने प्रेषक हुन् र हामी समाजमा नयाँ प्रवेश गरेका मानिसहरू ती सन्देशका प्रापक। ती पुर्खाले आफ्नो लामो अनुभव र इतिहासबाट जीवनको अर्थ, हामीले विकास गर्नुपर्ने गुण र जोगाइराख्नुपर्ने मूल्यहरूबारे निरन्तर सन्देश पठाइरहेका छन्। तर, उनीहरू हामीबाट समयको हिसाबले धेरै टाढा छन्, र हामी दैनिक जीवनको कोलाहल र व्यस्तताले घेरिएका छौँ। त्यसैले उनीहरूले एउटै कुरा वाक्यपछि वाक्य, मिथकपछि मिथक दोहोर्याइरहनुपर्छ। कहिले शब्द फेरिन्छन्, कहिले कथाको रूप तर मूल सन्देश परिवर्तन हुँदैन जबसम्म त्यो हाम्रो मनमा गहिरोसँग बस्दैन।
यदि यो व्याख्या सही हो भने, फुलानीहरूको सृष्टिकथाले अहंकारको खतराबारे मात्र चेतावनी दिँदैन, यसले मिथकहरूको समग्र उद्देश्य र भूमिकालाई पनि अत्यन्त सुन्दर ढंगले उजागर गर्छ।
अब नाइजेरियाको इग्बो समुदायको अर्को छोटो मिथकतर्फ लागौँ, जुन भाषाको विषयसँग अझ प्रत्यक्ष रूपमा सम्बन्धित छ।
जब संसारमा पहिलोपटक मृत्यु आयो, मानिसहरूले चुकुका सामु एउटा दूत पठाए। उनीहरूको आग्रह थियो, मरेका मानिसहरूलाई फेरि जीवन दिएर आफ्नै घर फर्काउन सकिँदैन र? यस सन्देशका लागि उनीहरूले कुकुरलाई दूत बनाएर पठाए।
जब भाषालाई गम्भीर रूपमा विकृत गरिन्छ र त्यो सत्यबाट अलग हुन्छ, मानवतामा फेरि एक पटक भयावह विपत्तिहरू आइपर्न सक्छन्।
तर, कुकुर सिधै चुकुकहाँ गएन। ऊ बाटोमै अलमलियो। त्यहीबेला भ्यागुताले मानिसहरूको सन्देश सुन्यो। उसले मानव जातिलाई दण्ड दिन चाहन्थ्यो, त्यसैले ऊ कुकुरलाई उछिनेर पहिला चुकुकहाँ पुग्यो। उसले भन्यो, ‘मानिसहरूले मलाई आफ्नो सन्देश सुनाउन भनेर तपाईंसामु पठाएका छन्, उनीहरू मृत्यु भएपछि फेरि पहिलेकै संसारमा फर्किन चाहँदैनन्।’
चुकुले मानिसहरूको यही इच्छा रहेछ भन्ने माने। भ्यागुतापछि गएको कुकुर सही सन्देश लिएर पुग्दा चुकुले आफ्नो निर्णय परिवर्तन गर्न अस्वीकार गरे। त्यसैले मानिस पुनर्जन्म लिन त सक्छ, तर उही शरीर र उही व्यक्तित्वका साथ यस संसारमा कहिल्यै फर्कन सक्दैन।
भनिन्छ, अफ्रिकाभर यस मिथकका सात सयभन्दा बढी फरक फरक रूपहरू पाइन्छन्। एउटा मिथकभित्र समयक्रममा दोहोरिने सन्देश यसरी पूरै महादेशभर फैलिएको देखिन्छ। यसबाट स्पष्ट हुन्छ, हाम्रा पुर्खाहरूले यो सन्देशलाई अत्यन्त महत्त्वपूर्ण ठानेका थिए। त्यसैले यो यति व्यापक रूपमा फैलिएको छ र यसका यति धेरै रूपहरू भेटिन्छन्।
दूत कतै कुकुर हुन्छ, कतै माउसुली, कतै छेपारो त कतै अर्को कुनै जनावर हुन्छ। कतिपय कथामा दूतको अयोग्यता वा लापरवाहीका कारण सन्देश बिग्रन्छ भने कतिपयमा चाहिँ मानिसविरुद्धको नियोजित दुर्भावनाका कारण। अर्को संस्करणमा, मानिसले अधैर्य भएर दोस्रो दूत पनि ईश्वरकहाँ पठाउँछ, र त्योसँग रिसाएर ईश्वरले अमरताको वरदान नै फिर्ता लिन्छन्।
तर, कथा जति नै फरक भए पनि यसको मूल भाव एउटै रहन्छ। मानिसहरूले आफ्ना सृष्टिकर्तासँग अमरताको वरदान माग्दै सन्देश पठाउँछन्, र सृष्टिकर्ता त्यो दिन तयार पनि हुन्छन्। तर, अन्तिम क्षणमा सन्देशमै केही त्रुटि हुन्छ। अनि मानव जातिले लगभग हातमा परिसकेको मानिसलाई देवतासरह बनाउने त्यो अनुपम वरदान सधैँका लागि गुम्छ। तब मानिसले बुझ्छ, स्वर्गको द्वारबाट पनि नरकतर्फ जाने बाटो खुला हुन सक्छ।
मेरो विचारमा, भाषा र मानवको नियतिबारेको यो सबैभन्दा महान् मिथक हो। यसको शिक्षा सबैका लागि स्पष्ट हुनुपर्छ। मानौँ, भाषा सिर्जना गर्ने र त्यसकै सहाराले पशुत्वबाट मानवतातर्फको यात्रा सम्भव बनाउने हाम्रा पुर्खाहरू आज पनि हामीलाई भाषाको उद्देश्यमा हस्तक्षेप नगर भनेर यसरी चेतावनी दिइरहेका छन्। किनकि चाहे त्यो अज्ञानताका कारण होस् वा अझ भयावह दुर्भावनाका कारण, जब भाषालाई गम्भीर रूपमा विकृत गरिन्छ र त्यो सत्यबाट अलग हुन्छ, मानवतामा फेरि एक पटक भयावह विपत्तिहरू आइपर्न सक्छन्।
(अफ्रिकी साहित्यका विख्यात लेखक चिनुआ अचेबेको निबन्धकृति होप्स एन्ड इम्पेडिमेन्ट्समा संकलित निबन्ध ‘ल्यांग्वेज एन्ड द डेस्टिनी अफ म्यान’ को सुरेश बडालले गरेको नेपाली अनुवाद)