काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २४औँ पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ।
संघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत डा. केसी पुनः अनशन बस्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको जनाएको छ। अनशनका क्रममा उनको स्वास्थ्यमा विभिन्न जटिलता देखिन थालेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा डा. केसीको उमेर तथा हालै सम्पन्न शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेको अवस्थालाई ध्यानमा राख्दा उनको स्वास्थ्य थप जोखिममा परेको उल्लेख गरिएको छ।
संघले डा. केसीले उठाएका मागहरू जायज भएकाले तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
“उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको अवस्थालाई मध्यनजर गर्दै उहाँले उठाउनुभएका जायज मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न आवश्यक पहल गर्न नेपाल सरकारलगायत सबै सरोकारवालालाई आग्रह गर्दछौँ,” संघले विज्ञप्तिमा भनेको छ।