वीरगन्ज। नेपाल चिकित्सक संघले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ।
सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ।
शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतङ्क सृजना गरिएको र सोही क्रममा डा राममाथि साङ्घातिक आक्रमण गरिएको सङ्घको भनाइ छ।
सङ्घले भनेको छ, “स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ।”