काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन । आठ वर्षअघि आजकै दिन (२०७५ साउन १०) निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारासम्म पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए ।

‘यो प्रकरणमा प्रहरी संगठनले सघन रूपमा लामो समयदेखि अनुसन्धान गर्दैछ,’ प्रवक्ता रावतले भने, ‘प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि गम्भीर चासोका साथ विभिन्न कोणबाट अनुसन्धान जारी छ ।’

हरेकजसो सरकार गठन हुँदा निर्मलाको न्यायका लागि आवाज उठ्ने गरेको छ । निर्मला प्रकरणले उग्ररूप लिँदा महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ भगतपुरका सन्नी खुनाले ज्यान गुमाएका थिए ।

सयौं व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याइएको थियो । डिएनए परीक्षणदेखि सुरक्षाकर्मीसमेत अनुसन्धानमा तानिएका थिए । माथिल्लो तहबाट छानबिन समिति गठन हुनेदेखि राज्यले गम्भीर भएर घटनाको अनुसन्धान जारी राखेको भए पनि अभियुक्तको पहिचान गरी कानुनी दायरामा ल्याउन भने आठ वर्ष बित्दासमेत सकिएको छैन ।