काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

वीरेन्द्रनगर। सुर्खेतमा एक सातादेखि खाना पकाउने (एलपी) ग्यास लिन आउनेको भिड लाग्ने गरेको छ।

सर्वसाधारण राति २ बजेदेखि खाली ग्यासका सिलिन्डर लिएर डिलरमा पुग्छन्। एक-दुई दिन कुरेर मात्र भरिएको सिलिन्डर लिएर फर्किछन्। पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो।

विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन्। केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा निर्भर छन्। ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था पनि छैन। यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ।

वीरेन्द्रनगर नगरपालिका ९‚ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति गरेको सुनाइन्। “चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होलाजस्तो हुन्थ्यो। चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो। आज बल्लतल्ल ग्यास पाइयो। ठुलै युद्ध जितेजस्तो महसुस भएको छ‚” उनले भनिन्।

चौधरी प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्तै अन्यले पनि ग्यास नपाएर भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुपर्‍यो। यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र सहज पहुँच नभएका नागरिक प्रभावित भएका छन्।

पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी, ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको वीरेन्द्रनगर नगरपालिका ९ का तीर्थबहादुर थापाको गुनासो छ। उनले भने, “हामी आइतबार बिहान ५ बजेदेखि खाली सिलिन्डर लिएर लाइनमा बसेका छौँ। अझै पालो आएको छैन। बेलुका खाली सिलिन्डर लिएर घर फर्केपछि भोलिपल्ट पुन: लाइनमा बस्न आउँछौँ। राति खाली सिलिन्डर सुरक्षाका लागि पाँच सयजनाले प्रतिव्यक्ति २० रुपैयाँ तिर्ने गरेका छौँ। आज पनि ग्यास पाउने हो कि होइन थाहा छैन।”

यसैबीच नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले १ देखि १० साउनसम्म वीरेन्द्रनगरबाट १७ हजार सिलिन्डर खाना पकाउने ग्यास वितरण गरिएको जानकारी दिए। उनले भने, “यसअघि हरेक महिनामा २६ हजार सिलिन्डर वितरण हुन्थ्यो। तर साउनको १० दिनमा १७ हजार सिलिन्डर वितरण भएको छ। यो परिमाण ठुलो हो। यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ।”

प्रमुख घिमिरेका अनुसार सुर्खेतमा ग्यासको अभाव छैन। बरु अनधिकृत विक्रेताले विभिन्न स्रोतबाट संकलन गरी भण्डारण गरेर राखेको हुनसक्ने उनले आशंक व्यक्त गरे। सञ्चारकर्मीसहित सरोकार भएका निकायले यसबारे आवश्यक अध्ययन/अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ। “अभाव छैन, अभाव गराइएको छ। यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन्‚” उनले भने।

कालीकोट घर भई सुर्खेतमा बस्दै आएका अपांगता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर रित्तै फर्कनुपरेको बताए। जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्गको सहजता र सबै उपभोक्ताको उपलब्धताका लागि प्रहरी प्रशासनको निगरानीमा ग्यास वितरण गरिँदै आइएको बताए। ग्यास अभावका विषयमा ‘के भएको हो’ सोबारे अध्ययन भइरहेको पनि उनको भनाइ छ। -रासस