काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा प्रदर्शनकारी तथा प्रहरीसहित १६ जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू हुने आदेश जारी गरेका हुन्। आइतबार राति १२:३० बजे जारी गरिएको आदेशअनुसार तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायतका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशमा कानुन हातमा लिने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यु लागू गरिएका पाँच क्षेत्रको सीमा पनि निर्धारण गरेको छ।