विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुई समूहबीचको विवाद झडपमा परिणत भई अवस्था हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर आठ जना सर्वसाधारण घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइतेमध्ये २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। टाउकोमा चोट लागेका राईसहित प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी जवान रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव उपचाररत रहेका छन्।
घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने झडपको कारण र गोली चलाउनुपर्ने अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।