काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाडावर्तन पुरिएका छन्।

सोही ठाउँका छानबहादुर क्षेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

स्थानीय राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ। यसैगरी, खुसीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ।

उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो।