काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

काठमाडौं। नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो।

सोही घटनाका दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले बल प्रयोग गरी संघका केन्द्रीय सदस्य तथा नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि दुर्व्यवहार र गालीगलौज गरेको भन्दै संघले घोर भर्त्सना गरेको छ।

संघले आक्रमणकारीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न र वार्ताको क्रममा चिकित्सकहरूलाई दुर्व्यवहार गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न राज्यसँग जोडदार माग गरेको छ।

राज्यको दमनकारी व्यवहारको विरोध स्वरूप सांकेतिक रूपमा सेवा बन्द गरिएको र आन्दोलनका थप कार्यक्रम आजै बस्ने सर्वपक्षीय भेलाले तय गर्ने विज्ञप्तिमा उल्लेख छ।