काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएका संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अपिल गरेको छ।

मंगलबार सभापति रवि लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा कुनै पनि समस्या वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपालको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावको संरक्षण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

रास्वपाले नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला पक्षलाई अफवाह र उत्तेजनाबाट टाढा रहन तथा साम्प्रदायिक वा सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

पार्टीले वर्तमान संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम राख्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा अवस्था सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग सहकार्य गरिरहेको जनाएको छ।

साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सधैं दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका खेल्न तयार रहेको जनाएको छ।

यसैबीच, पार्टीले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ। साथै, रास्वपाका स्थानीय समिति र सम्पूर्ण कार्यकर्तालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।