काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि देशभर चिकित्सकहरूले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा अवरुद्ध नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न निर्देशन नदिएको स्पष्ट पार्दै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार केही स्थानमा सेवा सञ्चालन भइरहेको छ भने बिरामीलाई असर पर्ने गरी स्वास्थ्य सेवा रोक्न नहुने मन्त्रालयको धारणा छ।

मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै अस्पताल तथा अन्य स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ। चिकित्सकहरूको माग र आन्दोलनलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वयमा छन्।

मन्त्रालयले चिकित्सकमाथि भएको दुर्व्यवहारको समाधान खोज्दै बिरामीको उपचार सेवामा असर नपर्ने गरी आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ।