काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष लिङ्देनले घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी कानुनविपरीत हिंसा भड्काउने जुनसुकै व्यक्ति वा समूह भएपनि कारबाही गर्न माग गरेका हुन्।
उनले घटनामा एक युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले दण्डहीनताको संस्कृतिले यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन्।