काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक नागरिक, सरोकारवाला तथा सम्बन्धित पक्षलाई आफ्नो सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको मस्यौदा, त्यसको तर्जुमा गर्नुको कारण तथा सम्भावित प्रभावबारे जनताको राय संकलन गर्न सूचना जारी गरिएको हो ।
मन्त्रालयले सम्बन्धित सबै पक्षलाई मन्त्रालयद्वारा सञ्चालन गरिएको सुझाव पोर्टलमार्फत आफ्नो राय तथा सुझाव पठाउन अनुरोध गरेको छ ।
