काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
डिल्लीबजार कारागारबाट भाग्न खोजेकाहरूलाई नियन्त्रणमा लिई अन्यत्रै स्थानान्तरण गर्दै सेना। तस्बिर : शिखा श्रेष्ठ/नेपालन्युज
अ+
अ-

काठमाडौं। विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ। जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो।

बुधबार तीन जनालाई धादिङकै गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिइएको थियो। आज नियन्त्रणमा लिएकाहरूमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नख्खु कारागारका नौ, भीमफेदी कारागारका चार, भद्र केन्द्रीय कारागारबाट भगेकामध्ये एक जनालाई पक्राउ गरिएको धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल असीम श्रेष्ठले जानकारी दिए।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा नेपाली सेनाले बुधबारदेखि जाँच गरिरहेको छ। जाँचका क्रममा सोधिखोजी गरेर कैदीबन्दीको पहिचान गर्ने गरिएको कर्णेल श्रेष्ठको भनाइ छ।

नेपाली सेनाले साना तथा ठूला जुनसुकै सवारीसाधन प्रयोग गर्ने र पैदल हिँडेर आउजाउ गर्नेहरूलाई समेत जाँच गरिरहेको छ। केहीलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।

बुधबार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाए पनि आज नियन्त्रणमा लिइएको ३५ जनालाई सेनाले गजुरीस्थित भैरवनाथ गणमा नै राखिरहेको र उनीहरूको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिए।

परिस्थितिजन्य अवस्थाले कारागारबाट भागेका कैदीबन्दीलाई स्वतस्फूर्त आत्मसमर्पण गर्न पनि नेपाली सेनाले आग्रह गरेको छ।