काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

व्यक्तिवृत्त

२५ वर्षे प्रशिक्षक जीवनमा ११ देश घुमिसकेका इटालीमूलका स्विस प्रशिक्षक एरिनाको अबको नेपाल यात्रा

३० फाल्गुन २०८२
गुग्लिएल्मो एरेना। तस्बिर : ला‌ओस फुटबल एसोसियसन
अ+
अ-

फुटबलमा बिरलै कसैलाई मौका प्राप्त हुन्छ। तर, यो मामिलामा निकै भाग्यमानी देखिन्छन्, इटालीमूलका स्विस प्रशिक्षक गुग्लिएल्मो एरिना। फुटबल वृत्तमा उनी ‘गुली’ उपनामले चिनिन्छन्। २५ वर्षे प्रशिक्षण यात्रामा ११ भन्दा बढी देश घुमिसकेका छन्। उनै ‘गुली’ लाई नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत बिहीबार प्रमुख प्रशिक्षक नियुक्त गरेको छ।

उनको प्रशिक्षणको डेढ दशक लामो यात्रा अफ्रिकी देशबाट सुरु भएर पहिलो पल्ट दक्षिण एसियाली देशमा आइपुगेको छ। उनको फिरन्ते अभियानले नेपालको राष्ट्रिय टोलीलाई कति फाइदा पुर्‍याउला, त्यो समयले नै बताउनेछ। तर, उनी राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न दुई साताअघि काठमाडौँ आइसकेका थिए। एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, “उहाँलाई राष्ट्रिय टोलीको १५औँ मुख्य प्रशिक्षक नियुक्त गरिएको हो।”

उनको नेतृत्वमा २६ मार्चमा राष्ट्रिय टोलीले दशरथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ। त्यसको पाँच दिनपछि नेपालले एएफसी एसियन कप छनोटमा उनकै पूर्वटोली लाओसविरुद्ध खेल्ने तय छ। यतिबेला उनी राष्ट्रिय टोलीको पुनर्निर्माणमा जुटिसकेका छन्।

गुग्लिएल्मो एरिना। तस्बिर : ला‌ओस फुटबल एसोसियसन

कतै नअडिने प्रशिक्षक

मार्च २०२३ मा साथीहरूसँग छुट्टी मनाउन एरिना क्याम्बोडियामा गएका थिए। उनको यात्राको उद्देश्य आराम र रमाइलो गर्नु मात्र थिएन। उनी दक्षिण-पूर्वी एसियाको फुटबल प्रतियोगिता पनि हेर्न चाहन्थे।

रंगशालामा खेल हेरिरहेकै बेला एक अपरिचित व्यक्ति एरिनानजिकै आइपुगे र उनले फ्रेन्च भाषामा आफू लाओस फुटबल संघको पदाधिकारी भएको जानकारी दिए।

एरिनाको विषयमा ती अधिकारीलाई पहिल्यै कसैले सुनाएको रहेछ– फ्रान्सका प्रभावशाली प्रशिक्षक फिलिप ट्रुसियर सन् २०१५ मा चीनको हाङचाउ क्लबमा आबद्ध हुँदा उनका सहायक एरिना थिए भनेर।

बौद्ध स्तूप, झरना र हात्तीका लागि प्रसिद्ध लाओसको जनसंख्या करिब ७५ लाख छ। यस देशमा फुटबल निकै लोकप्रिय भए पनि विश्व वरीयतामा कमजोर टोली हो। पहिलो पल्ट राष्ट्रिय टोलीको जिम्मेवारी पाउँदा एरिनाले लाओसलाई सन् २०२६ को विश्वकपमा छनोट गराउने महत्त्वाकांक्षी लक्ष्य राखेका थिए।

त्यही भेटमा लाओस फुटबल संघको पदाधिकारीले एरिनासमक्ष राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रस्ताव राखे। रंगशालाको त्यस कुराकानीमा एरिनाले तत्कालै  निर्णय गर्न सकेनन्। र, गफ भएको तीन दिनपछि उनी लाओस उडे।

राजधानी भियान्टिनमा लाओस फुटबल संघका अधिकारीसमक्ष कुराकानी गर्ने क्रममा उनले रणनीतिक रूपमा टोलीलाई कसरी बलियो पार्न सकिन्छ भनेर आफ्नो योजना प्रस्तुत गरेका थिए। जसमा खेलाडीहरूको मैदानभित्र र बाहिरको अनुशासन तथा फुटबलका लागि आवश्यक शारीरिक तयारीमा विशेष ध्यान दिने प्रस्ताव थियो।

लाओस फुटबल संघसँग दुईवर्षे करार सम्झौतामा हस्ताक्षर भएपछि उनले लाओसको राष्ट्रिय टोली मात्र होइन, यु-२३ टोली हेर्ने जिम्मेवारी पनि पाए।

बौद्ध स्तूप, झरना र हात्तीका लागि प्रसिद्ध लाओसको जनसंख्या करिब ७५ लाख छ। यस देशमा फुटबल निकै लोकप्रिय भए पनि विश्व वरीयतामा कमजोर टोली हो। पहिलो पल्ट राष्ट्रिय टोलीको जिम्मेवारी पाउँदा एरिनाले लाओसलाई सन् २०२६ को विश्वकपमा छनोट गराउने महत्त्वाकांक्षी लक्ष्य राखेका थिए।

गुग्लिएल्मो एरिना। तस्बिर : ला‌ओस फुटबल एसोसियसन

यसका लागि उनले पहिलो र दोस्रो डिभिजन खेलिरहेका खेलाडीहरूको प्रतिभा जाँच गरे। र, सम्भावित खेलाडी छनोट गरेर नयाँ टिम बनाए। आफूलाई सहयोग गर्न उनले मोरक्कोको क्लब र्‍यापिड औएद जेम क्लबमा आबद्ध गोलकिपर प्रशिक्षक र सहायक प्रशिक्षकलाई पनि लाओस झिकाए।

उच्च स्तरको प्रतिस्पर्धाका लागि टोली तयार गर्ने क्रममा उनले नांगो खुट्टाले सडकमा फुटबल खेल्दै क्लबसम्म पुगेका अधिकांश खेलाडीको खेलमा ठूलो परिवर्तन ल्याए।

“सुरुमा उनीहरू अलि अचम्मित थिए,” एरिनाले आरटीएसको ‘१९ः३०’ कार्यक्रममा भनेका थिए, “यहाँका धेरै खेलाडी सडकमा खेलेर बढेका हुन्। उनीहरूमा प्रतिभा छ, तर रणनीतिक र मानसिक पक्ष कमजोर थियो।”

एरिना स्विजरल्यान्डको मोन्त्रे सहरमा फुटबल खेल्दै हुर्किए। उनी इटालीको प्रसिद्ध युभेन्ट्स क्लबका कट्टर समर्थक हुन्। खेलाडी जीवनमा उनी स्ट्राइकरको भूमिकामा आफूलाई अगाडि बढाउन चाहन्थे। यसका लागि उनले तेस्रो डिभिजनमा प्रयास नगरेका होइनन्।

अगस्ट २०२३ मा थाइल्यान्डमा भएको दक्षिण-पूर्वी एसियाली कपमा उनको नेतृत्वमा लाओस थाइल्यान्डसँग ४-१, मलेसियासँग ५-१ र भियतनामसँग २-० ले पराजित भयो। तर, सिंगापुरलाई गोलरहित बराबरीमा रोकेपछि खेलाडीहरूमा ठूलो परिवर्तन देखियो। उनी सिनियर टिमसँग ताजकिस्तानमा एसियन कप छनोट खेल्न गएका थिए। यहाँ खराब नतिजा निस्किएपछि १४ सेप्टेम्बरमा उनलाई एक्कासि बर्खास्त गरियो। त्यसयता उनले कुनै राष्ट्रिय टोली सम्हालेका थिएनन्। घुमिफिरी नेपालको सम्हाल्दै छन्।

प्रशिक्षणको सुरुआत

५२ वर्षीय एरिनाको प्रशिक्षणको कथा सुरु हुन्छ, स्विजरल्यान्डको लेक जेनेभा किनारबाट। जहाँ उनी इटालीको आप्रवासी परिवारमा जन्मिएका थिए। उनीसँग दुई वटा पासपोर्ट छन्। उनका बुवा मेसिना क्षेत्रको नोभारा दी सिसिलियामा मिस्त्रीका रूपमा कार्यरत छन् भने आमा तेर्मे विग्लियातोरेकी कारखाना मजदुर हुन्।

एरिना स्विजरल्यान्डको मोन्त्रे सहरमा फुटबल खेल्दै हुर्किए। उनी इटालीको प्रसिद्ध युभेन्ट्स क्लबका कट्टर समर्थक हुन्। खेलाडी जीवनमा उनी स्ट्राइकरको भूमिकामा आफूलाई अगाडि बढाउन चाहन्थे। यसका लागि उनले तेस्रो डिभिजनमा प्रयास नगरेका होइनन्। तर, आमाबुवाबाट लुकीछिपी फुटबल खेल्दा उनको करिअरले सोचेजस्तो सफलता प्राप्त गरेन। आमाबुवा छोराले फुटबलभन्दा पढाइमा राम्रो गरोस् भन्ने चाहन्थे। त्यसैले खेलाडीका रूपमा उनको करिअरको ग्राफ माथि उक्लिएन। उनले कार पेन्टरका रूपमा काम सुरु गरे। केही समय बिमा कम्पनीमा बिताए। तर, फुटबलको भूतले पिछा नछोडेपछि खेलाडी बन्ने रहर हापेर प्रशिक्षक बन्ने निर्णयमा उभिए।

स्विजरल्यान्डमा प्रशिक्षक बन्न निकै गाह्रो छ। तर, अफ्रिकामा काम गरिरहेका युरोपेली प्रशिक्षकको कथा सुनेर प्रभावित हुन्थे। उनले प्रशिक्षणको यात्रा सन् २००३ मा बुर्किनो फासोको प्रिमियर लिग क्लब येनेन्गाबाट सुरु गरे। पहिलो सिजनमै उक्त क्लबले देशको प्रतिष्ठित प्रिमियर लिगको उपाधि जितेपछि उनको चर्चा चुलियो।

गुग्लिएल्मो एरिना। तस्बिर : ला‌ओस फुटबल एसोसियसन

त्यसपछि उनले अफ्रिका र एसियाका विभिन्न क्लबमा काम गर्दै अनुभवको दायरालाई फराकिलो बनाए। यसैक्रममा उनी सन् २०१५ मा चीनको हाङ्चाउ ग्रिनटाउन क्लबमा फ्रान्सेली प्रशिक्षक ट्रुसियरका सहायकका रूपमा आबद्ध भएका थिए। यहाँ काम गर्नु नै उनका लागि लाओसको राष्ट्रिय टोली सम्हाल्ने अवसर प्राप्त भयो।

यसअघि उनी युनाइटेड अरब इमिरेट्स (यूएई)को दिब्बा अल-हिसन र दुबई कल्चरल स्पोर्टस् क्लब (सीएससी)मा आबद्ध थिए। सन् २०१६ मा दुबई सीएससीमा आबद्ध हुँदा उनले आफ्नो क्लबलाई प्रेसिडेन्ट कपको समूह चरण पार गराउँदै इमिरेट्स कपका लागि योग्य बनाएका थिए। यस उपलब्धिले उनको प्रशिक्षणको क्षमता पुष्टि भएको थियो।

एरिनाको प्रशिक्षण शैली अरूभन्दा केही भिन्न छ। उनी स्थानीय संस्कृति र फुटबललाई जोडेर खेलाडीहरूको वृत्तविकास गर्न रुचाउँछन्। प्रायः ४-४-२ को ‘फर्मेसन’ मा खेलाउन रुचाउने उनी इटालीका आरिगो साक्कीको प्रशिक्षणबाट निकै प्रभावित छन्।

यसबीच उनी स्विजरल्यान्डको दक्षिण-पश्चिम भागमा रहेका क्लब कोलोम्बिए-मुराज (२००७) र कोन्थे (२०१८-२०१९)मा पनि आबद्ध भए।

अपुरो सपना

साढे दुई दशक लामो करिअरमा उनी अहिले पनि घरबारविहीन छन्। उनलाई आफू स्थिर प्रशिक्षक बन्न नसकेकामा कुनै पछुतो छैन। भन्छन्, “मैले फुटबलका कारण संसारभरि यात्रा गरे। फुटबलकै माध्यमबाट जीवन बिताउन र अनुभव साटासाट गर्न चाहन्छु।”

एरिनाको प्रशिक्षण शैली अरूभन्दा केही भिन्न छ। उनी स्थानीय संस्कृति र फुटबललाई जोडेर खेलाडीहरूको वृत्तविकास गर्न रुचाउँछन्। प्रायः ४-४-२ को ‘फर्मेसन’ मा खेलाउन रुचाउने उनी इटालीका आरिगो साक्कीको प्रशिक्षणबाट निकै प्रभावित छन्। एन्टोनियो कोन्टेबाट उनले प्रेसिङ शैली, जियान पिएरो गास्पेरिनीबाट आक्रामक पासिङ र सिमोने इन्जाघीबाट खेलाडीलाई चलायमान बनाउने कला सिकेका छन्।

त्यसैले उनको अबको लक्ष्य छ, युरोपमा पनि प्रशिक्षण दिने। त्यो अवस्था उनलाई अहिलेसम्म जुरेको छैन। सन् २०१७ मा उनलाई ग्रिसको शीर्ष डिभिजन क्लबबाट प्रस्ताव आएको थियो। तर, प्रशासनिक समस्याका कारण सम्भव भएन। उनी इटालीको सिरी ‘सी’ क्लबले पनि आफूलाई प्रस्ताव गरेको बताउँछन्। तर, सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि आफूसँगै प्रायोजक पनि ल्याउनुपर्ने सर्त अगाडि सारेपछि त्यो सम्भव भएन।

गुग्लिएल्मो एरिना बायाँ र एन्फा महासचिव किरण राई सम्झौतामा हस्ताक्षर गर्दै। तस्बिर : एन्फा

उनी भविष्यमा युरोपको प्रशिक्षक बन्ने आफ्नो अभियानबाट विचलित भएका छैनन्। भन्छन्, “मैले इटालीमा कहिल्यै प्रशिक्षण दिएको छैन। एक दिन सिरी ‘ए’ मा प्रशिक्षण दिने ठूलो सपना छ।”

उनी त्यो अवसर नेपालको राष्ट्रिय टोलीलाई हेर्दै गर्दा आउन सक्नेतर्फ पनि आशावादी छन्। किनभने, उनले आशा मारेका छैनन्। र, जसले आशालाई मर्न दिँदैन, अन्ततः उही सफल हुन्छ। हेरौँ, एरिनाको भाग्यले उनलाई फेरि कता कता डुलाउला? तर, ‘अव्यवस्था’ मा चलेको नेपाली फुटबलमा आबद्ध हुँदा उनले ‘फलामको चिउरा’ चपाउनुपर्ने पक्का छ।