काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

आवरण

‘आयुर्वेदको भियाग्रा’ मानिने शिलाजितको विश्वबजार करिब ४० अर्बको हुँदा प्रमुख उत्पादक नेपालको भने नाम मात्रको कमाइ

५ चैत्र २०८२
एआईसिर्जित तस्बिर
अ+
अ-

जुम्ला निवासी ७० वर्षीय बलभद्र बुढा विगत ३० वर्षदेखि शिलाजित व्यवसायमा संलग्न छन्। जेठ र असारको महिना सिञ्जाको सिरान र मुगुको दोसाँधमा पर्ने उच्च पहाडी क्षेत्रबाट निस्किने शिलाजित संकलन गर्दै उनी राजधानी काठमाडौँ भित्रिन्छन्। र, चाबहिलमा भाडाको घरमा तीन महिना बसेर काठमाडौँ उपत्यकालगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक र दोलखासम्म पुगेर शिलाजित बिक्रीवितरण गर्छन्। उनलाई जुम्लाबाट काठमाडौँ आइपुग्न १०-१२ हजार रुपैयाँ लाग्ने गरेको छ। अझ, काठमाडौँ बसाइका क्रममा कोठाभाडालगायत खानपिनमा खर्चिनुपरेको पैसाको हिसाब छुट्टै छ। तर, यति हुँदा पनि उनी एकपल्ट काठमाडौँ आउँदा दुईतीन लाख रुपैयाँ बचत गरेर जुम्ला फर्किने गर्छन्।

शिलाजित बेचेरै उनले आफ्ना तीन छोरामध्ये जेठालाई शिक्षक बनाइसकेका छन्। माइला छोरा गाउँमै भेडापालन गर्छन् भने कान्छो काठमाडौँमा भेटेरिनरीको अध्ययन गरिरहेका छन्। कुनैबेला उनी नेपालमा मात्र होइन, भारतको बनारस, हिमाञ्चल प्रदेश, राजधानी दिल्ली र पन्जाबसम्म पुगेर शिलाजित बेच्थे। बुढ्यौलीले छुन थालेपछि अहिले उनको घुमफिर नेपालभित्र सीमित भएको हो।

काठमाडौँको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारनजिकै अनामनगरमा यसै साता भेटिएका उनी भन्दै थिए, “के गर्ने बाबु। ल्हासामा सुन छ, कान मेरो बुच्चै!”

शिलाजित। तस्बिर : दीप सुवेदी

विश्वबजारमा शिलाजितको माग उच्च छ। यसमा पनि रोचक तथ्य, नेपालको शिलाजित विश्वकै उत्कृष्ट मानिन्छ। अझ, भारतमा उत्पादन हुने शिलाजितको कच्चा पदार्थको सबैभन्दा ठूलो स्रोत नेपालको उच्च पहाडी क्षेत्र हो। यी सबै तथ्यबारे साक्षात्कार हुँदा पनि नेपाल सरकार ‘कानमा तेल हालेर’ बसेको देख्दा उनी उदेक मान्छन्।

शिलाजित हिमाली चट्टानमा पाइने पोषक तत्त्वले भरिपूर्ण एक प्रकारको र्‍याल हो। यसमा ८४ भन्दा बढी खनिज पदार्थ भेटिन्छ, र सबैभन्दा महत्त्वपूर्ण फुल्भिक एसिडको मात्रा उच्च हुन्छ। जसले रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने, बुढ्यौलीपना रोक्ने र यौनशक्ति बढाउने काम गर्छ। त्यसैले केही औषधि पसलेहरू शिलाजितलाई ‘आयुर्वेदको भियाग्रा’ भनेर सम्बोधन गर्छन्।

नेपालमा सरकारी तबरबाट सञ्चालित देशकै पुरानो औषधालय सिंहदरबार वैद्यखाना विकास समितिका जडीबुटी विशेषज्ञ डा. हरिदेवप्रसाद यादव भन्छन्, “खनिज र वनस्पतीय गुण पाइने कारण वनस्पति विभागले शिलाजितलाई दुवै समूहमा राखेको छ। यसको सेवनबाट रगतको शुद्धीकरण हुन्छ। रगत शुद्ध हुनेबित्तिकै शरीरको सबै कुरा सामान्य भएर जान्छ। प्रेसर, थाइराइड, सुगर सबैमा रगतको भूमिका महत्त्वपूर्ण हुन्छ। यसैलाई शुद्ध गरेपछि राम्रो हुँदै जाने हो। खनिजमा टोनिक हुन्छ। रगत पनि शुद्ध, अनि शरीरमा ऊर्जा थपिएपछि यौनदेखि सबै कुरा राम्रो हुने हो।”

देशभित्रको व्यापार

विश्वबजारमा मात्र होइन, नेपालमा पनि शिलाजितको माग उच्च छ। तर, नेपालमा यसको वैज्ञानिक अनुसन्धान भएको देखिँदैन। त्यसैले देशभित्र यसको वास्तविक माग कति हो, त्यो यकिन हुन सकिरहेको छैन। नेपाल आयुर्वेदिक उत्पादन संघका अध्यक्ष सुमन पाण्डे हाल नेपालमा उत्पादन भइरहेको शिलाजितको आन्तरिक बजारको अवस्था यकिन नभए पनि ठूलो परिमाणमा किनबेच भइरहेको जनाउँछन्। उनी भन्छन्, “अहिले नेपालमा वार्षिक करिब एक अर्बको हाराहारीमा शिलाजितको कारोबार भइरहेको छ।”

सुमन पाण्डे। तस्बिर : बिक्रम राई

नेपालमा यतिबेला देशभित्रका मात्र नभई, भारतीय कम्पनीबाट उत्पादित शिलाजित पनि प्रशस्त पाइन्छन्। रमाइलो कुरा, भारतबाट आएका ती शिलाजितहरूको कच्चा पदार्थको ‘हब’ नै नेपाल हो। नेपालको कानुनले शिलाजितलगायत अन्य आयुर्वेदिक औषधिको हकमा भारतलगायत तेस्रो मुलुकमा कच्चा पदार्थ निर्यात गर्न रोक लगाएको छ। तर, चोरबाटो हुँदै गैरकानुनी रूपमा कच्चा पदार्थ भारतीय कम्पनीमा आपूर्ति भइरहेको तथ्यबाट सरकार अवगत हुँदा पनि मौन देखिन्छ।

नेपालमा लामो समयदेखि सिंहदरबार वैद्यखानाले सरकारीस्तरमा शिलाजित प्रशोधन तथा बिक्रीवितरण गर्दै आएको छ। यसबाहेक नेपालमा अहिले १२ वटा निजी कम्पनी पनि सक्रिय छन्।

“नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने भनेर औषधि व्यवस्था विभागमा ५० वटा कम्पनीहरू दर्ता भएका होलान्। तर, उत्पादन २२-२३ वटा कम्पनीले मात्र गरिरहेका छन्। यसमा शिलाजित १२ वटा कम्पनीले उत्पादन गर्छन्,” पाण्डे भन्छन्। यी कम्पनीले वर्षमा ३६ हजार केजी शिलाजित उत्पादन गरिरहेको उनको भनाइ छ। यस हिसाबले नेपालका निजी कम्पनीले वार्षिक ७२ करोड रुपैयाँको हाराहारीमा व्यापार गरिरहेको तथ्यांकले बताउँछ। सिंहदरबार वैद्यखानाले पनि गत वर्ष दुई हजार किलो हाराहारीमा शिलाजित उत्पादन गरेको लेखा अधिकृत उमानाथ ढकालको भनाइ छ। उनी भन्छन्, “लगभग साढे चार-पाँच करोडको हाराहारीमा बिक्री छ।”

भारतले नेपालबाटै लगेको शिलाजितको कच्चा पदार्थको प्रशोधन गरेर आफ्नो नाममा ‘ब्रान्डिङ’ गर्दै विश्वबजारमा बेचिरहेको छ। तर, नेपालले देशभित्रै यसलाई सीमित गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाल पछाडि परिरहेको डा. हरिदेवप्रसाद यादव बताउँछन्।

यी कम्पनीबाहेक पतञ्जलिलगायत अन्य भारतीय कम्पनीको शिलाजित पनि बजारमा छ्यापछ्याप्ती उपलब्ध छन्। “यी सबै तथ्यांक जोड्दा एक अर्बको हाराहारीमा व्यापार होला भन्ने मेरो अनुमान हो,” पाण्डे भन्छन्।

नेपालमा हाल क्याप्सुल, पाउडर र पेस्टका रूपमा शिलाजितको बिक्रीवितरण भइरहेको छ। सिंहदरबार वैद्यखानामा उत्पादनविद्का रूपमा कार्यरत वासुदेव कँडेल देशले शिलाजितको निकासी र प्रशोधन राम्रोसँग गरेको खण्डमा यसको बजार ८-१० अर्बको हाराहारीमा पुर्‍याउन सकिने दाबी गर्छन्।

२०३३ सालदेखि वैद्यखानामा कार्यरत उनी सरकारी नीति स्पष्ट नहुँदा शिलाजितको विश्वव्यापी जुन माग छ, त्यो आफ्नै देशमा पनि खुम्चिएकामा दु:ख मनाउ गर्छन्।

नेपालमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा शिलाजितको मात्रा बढी रहेको अनुमान गरिन्छ। विगतमा डोल्पा, हुम्ला, जुम्ला, म्याग्दी, बागलुङ, बागमती प्रदेशको वरिपरि, पूर्वी पहाडको खोटाङ र संखुवासभातिरबाट शिलाजित संकलन गरिन्थ्यो। तर, २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाउँदै भुइँचालो गएपछि शिलाजित निस्किने पहाडका मुहानहरू खलबलिएको विज्ञहरूको भनाइ छ।

त्यसैले पहिले ८-१० हजार किलोको हाराहारीमा सिंहदरबार वैद्यखानामा उत्पादन हुने शिलाजितको परिमाण घटेर अहिले तीन हजारमा झरेको छ। तर, यसलाई बढाउन सकिने कँडेल बताउँछन्।

वासुदेव कँडेल। तस्बिर : दीप सुवेदी

वैदेशिक व्यापार

सरकारको नीति विदेशमा शिलाजित बेच्न नपाउने छ। त्यसैकारण विदेशी बजारमा नेपाली शिलाजित कति खपत भएको छ, त्यसको आधिकारिक तथ्यांक कसैसँग छैन। तर, विदेश जाने नेपाली तथा नेपालको जडीबुटीको विषयमा राम्रो जानकार विदेशीहरूले व्यक्तिगत रूपमा बिक्रीका लागि शिलाजित लगिरहेको सिंहदरबार वैद्यखानाका लेखा अधिकृत ढकाल सुनाउँछन्।

नेपालले शिलाजितका लागि तेस्रो मुलुकको बजार खोज्नै पर्दैन। करिब एक अर्ब ५० करोड जनसंख्या पुग्न लागेको भारतको बजारलाई मात्र लक्षित गरे पुग्छ।

उनी भन्छन्, “बेलायतमा सबैभन्दा बढी लैजाने गरेको सुनेका छौँ। तर, त्यो सबै व्यक्तिगत पहलमा हो। त्यसैले विदेशमा हाम्रो उत्पादनको बजार कत्रो छ, स्पष्ट हुन सकेको छैन।”

शिलाजितको विश्वबजारको विषयमा पाँच महिनाअघि प्रकाशित रिपोर्टमा गत वर्ष २० करोड ३१ लाख अमेरिकी डलर (लगभग ३० अर्ब १९ करोड रुपैयाँ) कारोबार भएको र यसको बजार अझै फैलन सक्ने प्रक्षेपण गरिएको छ।

भारतको मेघालयदेखि अफगानिस्तानको हिन्दकुश हिमशृंखलामा पर्ने पहाडी क्षेत्रमा शिलाजितको मात्रा बढी पाइन्छ। यस शृंखलामा नेपालको उच्च हिमाली क्षेत्रले बढी स्थान ओगटेका कारण पनि यहाँको शिलाजित उच्चस्तरीय रहेको विशेषज्ञ कँडेलको भनाइ छ। उनी भन्छन्, “नेपालको उत्तरी भूभागलाई चारैतिरबाट हिमालको उच्च पहाडले घेरेको छ। फेरि घाम पनि प्रचुर मात्रामा लाग्छ। त्यसैले हामीकहाँ उच्चस्तरको मात्र होइन, बढी कच्चा पदार्थ पनि भएको हो।”

शिलाजितमा थुप्रै खनिज र फुल्भिक एसिडको गुण भएका कारण यो आयुर्वेदका अन्य थुप्रै उत्पादनमा प्रयोग हुन्छ। त्यसैले पनि यसको विश्वव्यापी माग बढेको हो।

फेरि नेपालको शिलाजितको गुण यति राम्रो छ, अन्य देशको एक केजी शिलाजित प्रयोग गर्नुभन्दा नेपालको २०० ग्राम मात्रै प्रयोग गर्दा पनि असर प्रभावशाली देखिने पाण्डेको दाबी छ। त्यसैले पनि नेपालको शिलाजित चोरी निकासीमार्फत भारतलगायत अन्य मुलुकतर्फ जाने गरेको उनी बताउँछन्।

सरकारले शिलाजित पाउने पहाडहरूको लगत राम्रोसँग राखेर, यसको संकलनदेखि प्रशोधनसम्मको प्रक्रियालाई व्यावसायिक हिसाबले अगाडि बढाएको खण्डमा थुप्रै युवाले रोजगारी पाउने र राज्यको ढुकुटीमा पनि धन भित्रिने बलभद्र बुढाको सुझाव छ।

“हामीले आफ्नो शिलाजितलाई राम्रो ब्रान्डिङ गरेर विश्वबजारमा उतार्न सक्यौँ भने अर्बैं रुपैयाँ देशमा भित्र्याउन सक्छौँ। तर, के गर्ने नीतिनियम नै बाधक छ,” पाण्डे दुखेसो पोख्छन्। उनको भनाइमा नेपालले शिलाजितका लागि तेस्रो मुलुकको बजार खोज्नै पर्दैन। करिब एक अर्ब ५० करोड जनसंख्या पुग्न लागेको भारतको बजारलाई मात्र लक्षित गरे पुग्छ। तर, यसका लागि द्विपक्षीय सम्झौता हुनुपर्ने सुझाव दिन्छन् उनी।

सिंहदरबार वैद्यखाना विकास समिति। तस्बिर : दीप सुवेदी

“अहिलेको नीतिनियमअनुसार नेपालले पत्थर पनि निर्यात गर्न दिँदैन। तर, भारतमा मजाले गइरहेको छ। हाम्रो देशको नियम कच्चा पदार्थ नबेच्ने छ, उनीहरूको नीति प्रशोधन भएको समान नलिने छ। यस कुरामा सहमति बनाउनुपर्‍यो। आखिर सामान चोरी निकासी भएर गई नै रहेको छ,” उनी भन्छन्।

भारतले नेपालबाटै लगेको शिलाजितको कच्चा पदार्थको प्रशोधन गरेर आफ्नो नाममा ‘ब्रान्डिङ’ गर्दै विश्वबजारमा बेचिरहेको छ। तर, नेपालले देशभित्रै यसलाई सीमित गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाल पछाडि परिरहेको डा. यादव बताउँछन्।

उनी सरकारले ठोस नीति बनाएको खण्डमा नेपालको शिलाजितको मूल्य बढ्न सक्ने संकेत गर्छन्। “हामीकहाँ ठोस नीति नै छैन। राम्रो नीति बन्ने हो भने विश्व बजारमा अझ राम्रो मूल्य पाउन सक्छौँ,” उनी भन्छन्।

सिंहदरबार वैद्यखानाले १०० ग्राम शिलाजितको मूल्य एक हजार रुपैयाँ तोकेको छ। तर, विश्वबजारमा यसको मूल्य त्योभन्दा उच्च रहेको तथ्यांकले बताउँछ।

सरकारले शिलाजित पाउने पहाडहरूको लगत राम्रोसँग राखेर, यसको संकलनदेखि प्रशोधनसम्मको प्रक्रियालाई व्यावसायिक हिसाबले अगाडि बढाएको खण्डमा थुप्रै युवाले रोजगारी पाउने र राज्यको ढुकुटीमा पनि धन भित्रिने बलभद्र बुढाको सुझाव छ। तीन दशक शिलाजित संकलन र बिक्रीवितरणमै सक्रिय उनी भन्छन्, “माल पाएर, चाल नपाएको यसैलाई भन्या होला।”