धरान। धरानस्थित भाटभटेनी सुपरमार्केटको भवनभित्र जलेको अवस्थामा चार जनाको शव फेला परेको छ। जेन–जीको नाममा अराजक समूहले तोड्फोड र आगजनी गरेको भाटभटेनीको भवनमा शुक्रबार मात्र आगो नियन्त्रणमा आएपछि चार जनाको शव जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले जानकारी दिए।
उनका अनुसार जलेर खरानी भएको अवस्थामा फेला परेका मानव कंकालको पहिचान हुन सकेको छैन।
केही व्यक्ति हराएको भन्दै आफन्तहरू सम्पर्कमा आउने क्रम जारी रहेकाले ती शव बाहिरबाट प्रवेश गरेका मान्छेहरूको हुनसक्ने अनुमान गरिएको डीएसपी जवेगुले बताए। जेन–जीको आन्दोलन सकिएपछि २४ भदौको बेलुका धरानका नेताहरूका घर र भाटभटेनीमा आगजनी भएको थियो।
भाटभटेनीको आगो निभाउन धरान उपमहानगरपालिकाका दमकल प्रयोग गरिए पनि नियन्त्रमा आएको थिएन। शुक्रबार आगो नियन्त्रणमा आएपछि प्रहरी र स्थानीय जलेको भवनभित्र प्रवेश गर्दा शव फेला परेका हुन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।