सात सवाल
साहित्य तथा राजनीतिक विषयमा लेख्ने पदम सुन्दास बहराइनका लागि नेपालका पूर्वराजदूतसमेत हुन्। कथा तथा कविता लेखनमा सक्रिय उनका चोरिएको रात, भोजपुरको चिनारीलगायत कृति सार्वजनिक छन्। दलित अभियन्ताका रूपमा आजीवन विभिन्न संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरेका उनी दलित साहित्य अध्ययनमा विशेष रुचि राख्छन्। साहित्यले समाज रूपान्तरणमा अर्थपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार राख्ने उनले नेपालन्युजसँग गरेको पुस्तक संवाद :
हालै पढेको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ?
छुदेन काविमोको उरमाल उपन्यास हालै पढेर सकाएँ। २०८१ सालको मदन पुरस्कार जितेको यस उपन्यासमा भारतको पश्चिम बंगालअन्तर्गत दार्जिलिङ-डुवर्सतिर चिया बगानमा काम गर्ने नेपालीमूलका गरिब सुकुमवासी मजदुरहरूको कष्टपूर्ण जीवनको यथार्थ चित्रण छ।
अहिले आफ्नै जन्मस्थान भोजपुरको एसएलसीसम्म पढेको विद्योदय हाइस्कुलबाट प्रकाशित प्रभात ३ स्मृतिग्रन्थ पढिरहेको छु।
तपाईंलाई मन पर्ने विधा कुन हो?
मलाई कथा, कविता र उपन्यास विधा समान रूपमा मन पर्छ।
अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न।
अध्ययन गर्ने निर्धारित समय छैन। फुर्सदको समयमा सकभर एकान्त वातावरणमा पढ्न मन पर्छ।
औसतमा अध्ययनलाई दैनिक कति समय छुट्याउनुहुन्छ?
दैनिक दुईतीन घण्टा।
प्रिय तीन पुस्तकका नाम?
आहुतिको नयाँघर, श्रवण मुकारुङको बिसे नगर्चीको बयान र बालकृष्ण समको चिसो चुल्हो।
पञ्चायतकालमा लेखिएको नयाँघर उपन्यासले नेपाली समाजको आमूल परिवर्तनको परिकल्पना गरेको छ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानमा साथ दिने एक जना दमाईं पात्रले वर्तमान अवस्थामा पनि आफ्नो मुक्ति हुन नसकेको आक्रोश पोखिएको बहुचर्चित कविता हो, ‘बिसे नगर्चीको बयान’। यो कविता सुन्न श्रोताहरूले पहिलो पटक हलमा टिकटै काटे। यस संग्रहमा परेका अन्य कविताहरू पनि समसामयिक र सशक्त छन्।
बालकृष्ण समको चिसो चुल्हो (महाकाव्य?)मा तथाकथित तल्लो जातको मुख्य पुरुष पात्रमा समाज परिवर्तनको हुटहुटी भेटिन्छ।
पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन के हो?
समाजमा विद्यमान विभेद र त्यसको न्यूनीकरण गर्न ज्ञान प्राप्तिका लागि पुस्तकले ममा धेरै प्रभाव पारेको छ।
पुस्तक किन पढ्ने?
मेरा लागि पुस्तक बौद्धिक ज्ञान बढाउने माध्यम हो।
डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?
बालबालिकाको व्यक्तित्व विकासमा पुस्तकको विशेष भूमिका हुन्छ। ज्येष्ठ नागरिकका लागि समेत पुस्तकले प्राकृतिक उपचार विधिको काम गर्छ। त्यसैले बालबालिकादेखि पाका नागरिकसम्मलाई ध्यानमा राखेर पठनपाठनका गतिविधिहरू सञ्चालन गरिनु उपयोगी हुन्छ।