काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

सात सवाल

किताब पढेपछि कम्तीमा पाठकले जीवनको कुनै न कुनै अप्ठ्यारा फुकाउने उपाय प्राप्त गरोस्।

२ जेष्ठ २०८३
अ+
अ-

लैंगिक विभेद, जातीय तथा सामाजिक उत्पीडनका विषय उठान गर्ने प्रगति राई सशक्त महिला हस्ताक्षर हुन्। लेखककी स्वास्नी, बिर्सिएको मृत्यु थाङ्ग्रा जस्ता चर्चित उपन्यासकी लेखक राईको बादी विज्ञप्ति कवितासंग्रहसमेत प्रकाशित छ। २०७९ सालको मदन पुरस्कारका लागि मनोनीत राईको थाङ्ग्रा पहिचान पुरस्कार जित्न सफल कृति हो। उनै राईसँग नेपालन्युजले गरेको सात सवाल :

हालै पढ्नुभएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ?

हालै पढेको पुस्तक वसन्त बस्नेतको सिमसारा  उपन्यास हो। केदार संकेतको कथासंग्रह अन्तिम साँझ पढिरहेको छु। संग्रहमा भएको बोस्नियाली गृहयुद्धको दर्दनाक कथा ज्यादै मन पर्‍यो। अरू कथा पनि रोचक र अलौकिक रहेछन्।

तपाईंलाई मन पर्ने विधा?

कविताको माध्यमबाट छोटोकरीमा आफ्नो भावना व्यक्त गर्न सकिन्छ भने उपन्यासमा धक फुकाएर लेख्न पाइन्छ। त्यसैले कविता र उपन्यास मेरा प्रिय विधा हुन्।

अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न।

मेरो अध्ययन गर्ने समय धेरैजसो सुत्नुअघि रातको ९ बजेपछि हुन्छ। यो समयमा पढ्दा अरू तनावले सपनामा ऐँठन पार्ने अवसर पाउँदैन। स्वेच्छाले पढ्ने पुस्तकहरू म घरमै बसेर बढ्छु। कुनै पुस्तक कामविशेषले समीक्षा/सम्पादनका लागि पढ्नुपर्ने छ भने कुनै शान्त क्याफेमा गएर पढ्छु। म बस्ने एरिया ललितपुर नखिपोटमा यस्ता सुनसान क्याफे धेरै भेटिन्छन्। नयाँ कृति सम्पादनका क्रममा पनि धेरै किताब पढिरहेकी हुन्छु।

 प्रिय तीन पुस्तक?

भाग्यवाद र विकास, सिमसारा र खाम्योक ।

डोरबहादुर विष्टको भाग्यवाद र विकासमा नेपालमा कसरी जातीय तहको पिरामिड बनाएर शासन गरियो भन्ने कुरा खुलाइएको छ।

वसन्त बस्नेतको उपन्यास सिमसारामा आमाबाबुको खराब स्वभावले बच्चाको मनोविज्ञानलाई कतिसम्म उकुसमुकुस बनाउँछ भन्ने चित्रण छ। यो हरेक परिवारका आमाबाबुले पढ्दा उपयोगी हुने उपन्यास हो।

जानू काम्बाङको उपन्यास खाम्योक भर्खरै प्रकाशन भएको छ। मैले यसको पाण्डुलिपि पढ्ने अवसर पाएकी थिएँ। यसमा नेपालमा बसेर अनेक सपना देखाई परदेशीको भावना र अर्थमाथि खेलबाडको कथा भनिएको छ। यस्ता क्रियाकलापले परदेशमा पसिना बगाउनेहरू कुन हदसम्मको मनस्थितिबाट ग्रुजिनुपरिरहेको छ भन्ने मार्मिक चित्रण छ।

पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन के हो?

मेरो जीवनमा पुस्तकले परिवर्तन मात्र होइन, रोजगारी पनि दिएको छ। कहिल्यै एक्लोपनको महसुस हुँदैन। डिप्रेसन हुँदैन र सबैभन्दा ठूलो परिवर्तन आत्मविश्वास बढाएको छ। हरेक कुराको कारण हुन्छ, त्यो कारण बुझेपछि त्यसले अत्यधिक असर छोड्दैन। जीवनमा आइपर्ने आपत्‌विपत्‌सँग सहजै सामना गर्न सकिन्छ। यो कुरा बुझ्न सक्ने भएकी छु।

पुस्तक किन पढ्ने?

नपढीकन हामीलाई जति जीवन बुझे जस्तो लागेको हुन्छ; पुस्तक पढेपछि त्योभन्दा बेसी बुझ्ने भइन्छ। दु:खमा अत्यधिक हडबडाउने र सुखमा चौपट्टै मात्तिने बानीमा परिवर्तन आउँछ। अध्ययनले साधारण, धैर्यवान् र गम्भीर बनाउँछ।

डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?

यो डिजिटल युगमा पठन संस्कृति जोगाउन गाह्रो परेको छ। मानिसहरू चटपटे मनोरञ्जनमा भुलेका छन्। त्यसका लागि त आफूले नै जीवन क्षणिक खुसीमा बाँच्ने कि दीर्घकालीन खुसीका लागि आफूलाई अभ्यस्त बनाउने हो, जान्नुपर्छ।

लेखकहरूले पनि मात्र आफू लेखक बन्नका लागि कनीकुथी नलेखेर अलि तथ्यपरक लेख्नुपर्छ। किताब पढेपछि कम्तीमा पाठकले जीवनको कुनै न कुनै अप्ठ्यारा फुकाउने उपाय प्राप्त गरोस्।