काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। ‘मुनलाइट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ।

आगामी असारको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको यो प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका कलाकारको आवश्यकता परेको भन्दै निर्माण पक्षले अडिसन तथा कास्टिङ कल खुला गरेको हो। चलचित्रको नाम र निर्देशकको भने हाल सार्वजनिक गरिएको छैन।

निर्माण पक्षले जारी गरेको पोस्टरअनुसार चलचित्रका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका प्रतिभाशाली अभिनेता तथा अभिनेत्रीको खोजी भइरहेको छ। इच्छुक नवोदित तथा अनुभवी कलाकारहरूले आगामी १२ देखि १४ चैतसम्म हुने अडिसनमा सहभागी हुन सक्नेछन्।

काठमाडौँको भत्केको पुलस्थित कठघरा स्टुडियोमा अडिसन सञ्चालन हुनेछ। अडिसनमा सहभागी हुन चाहनेले नामदर्ता त्यसअघि नै गराउनुपर्नेछ।

चलचित्रको अर्को रोचक पक्ष भनेको यसको निर्देशन कसले गर्दै छ भन्ने पनि लुकाइएको छ। निर्माता पक्षले निर्देशकको नाम अहिले नै नखुलाए पनि नेपाली चलचित्र उद्योगकै एक प्रतिष्ठित र स्थापित निर्देशकले यस प्रोजेक्टको कमान्ड सम्हाल्ने दाबी गरेको छ।

हाललाई निर्माताका रूपमा पोस्टरमा उल्लेखित कम्पनी ‘मुनलाइट मोसन पिक्चर्स’ मात्र प्रस्तुत भएको छ भने अन्य व्यक्तिगत निर्माता वा टिमका सदस्यहरूको नामसमेत गोप्य राखिएको छ।