काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। डा. शेखर कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग संवाद गर्दै “जेनजी” आन्दोलनले सिर्जना गरेको परिवर्तनलाई आत्मसात गर्दै पार्टीलाई नवदिशामा अगाडि बढाउन आग्रह गरेका छन्।

भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्।

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र व्यक्तिमाथि भएको पाशविक व्यवहारलाई उनले सभ्य समाजमा स्वीकार्य नहुने कार्य भनेका छन्। यस क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको हातपात र लुटपाटलाई “जघन्य अपराध” भन्दै कडा निन्दा गरेका छन्।

कोइरालाले विगतमा कहाँ चुक्यो भन्नेबारे समय खर्च नगरी भविष्यमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रजहरूको पदचिन्हबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई जोगाएको भन्दै अब विगतको पश्चात्तापमा समय खेर नफाली नेपाली समाजको परिवर्तनको तीव्र चाहनालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।

लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई- मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो । आज फेरी एकपटक लोकतान्त्रिक इतिहाँसका ति योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ ।

हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरुले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला । यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ ।