काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध कपिलवस्तुका पूर्वसांसद अभिषेकप्रताप साहले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रशासनमा उजुरी दिएका छन्।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई साहले शनिबार उजुरी बुझाएका हुन्।
जाहेरीकै रूपमा उल्लेख गरिएको उजुरी भने असम्बन्धित ठाउँमा परेकाले कानुनी रूपमा अघि बढाउन नसकिने तामाङले बताए। “जहाँ घटना भएको हो त्यहाँको प्रहरीमा जाहेरी बुझाउनु पर्छ, असम्बन्धित ठाउँमा जाहेरी आएकाले यो अघि बढ्दैन,” उनले भने।
ज्ञापन पत्र बुझाउँछु भनी आएका साहले जाहेरी दिएर फर्केको तामाङले बताए। जेन-जी आन्दोलनका मृतक तथा घाइते भएका व्यक्तिका तर्फबाट साहले जाहेरी दिएका हुन्।
कांग्रेसका पूर्वसांसद रहेका साहले उक्त जाहेरीमा जेन-जी आन्दोलनमा प्रधानमन्त्री रहेका ओलीले गोली चलाउन आदेश दिएकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन्।