संक्रमण
बर्डफ्लुका कारण कोसीका कुखुरा फार्ममा उत्पादित कुखुरा बिक्री हुन छाडेपछि कुखुरा व्यवसायी मर्कामा
विराटनगर। विराटनगर-११‚ पिचराका सन्तोष भुजेललाई केही साताअघिसम्म बिहानैदेखि मासु काट्न भ्याइनभ्याइ हुन्थ्यो। अहिले समय यसरी बदलिएको छ कि उनलाई दिनभरिमा पाँच केजी मासु बेच्न पनि हम्मेहम्मे छ।
“पहिले दिनमा ६० देखि ८० केजीसम्म मासु मजाले बिक्री हुन्थ्यो,” न्यु क्वालिटी फ्रेस हाउसका सञ्चालक भुजेलले आफ्नो रित्तो पसल देखाउँदै भने, “अहिले त व्यापार स्वाट्टै घट्यो। दिनभरि झिँगा धपाएर बस्नुपर्छ। पसलको महिनाको १० हजार भाडा कसरी तिर्ने भन्ने चिन्ता छ।”
मोरङ, सुनसरी र झापामा फैलिएको बर्डफ्लु संक्रमणले पूर्वी नेपालको मासु बजारमा मन्दी छाएको छ। संक्रमणको डरले उपभोक्ताले भान्सामा कुखुराको मासु पकाउन छाडेका छन्। अर्कातर्फ मासु पसलहरू पनि सुनसान बनेका छन्।

सुनसान देखिएको विराटनगर-११‚ पिचरास्थित ‘न्यु क्वालिटी फ्रेस हाउस’ अगाडि तस्बिर खिचाउँदै सञ्चालक सन्तोष भुजेल।
विराटनगर-११‚ पिचराकी आशिका श्रेष्ठको भान्सामा कुखुराको मासु अनिवार्य जस्तै थियो। पछिल्लो दुई सातादेखि उनको घरमा कुखुराको मासु भित्रिएको छैन। “सञ्चारमाध्यममा जताततै बर्डफ्लुको समाचार छ,” उनी भन्छिन्, “डर लागेर अहिले मासु ल्याउनै छाडिदिएँ।” आशिका मात्र होइन, विराटनगरकै जेनिशा डंगोलले पनि आफ्नो खाने तालिका परिवर्तन गरेकी छन्। “कुखुराको मासु खानै डर भयो,” उनी भन्छिन्, “त्यसैले मासु नल्याएको धेरै भयो। बरु कहिलेकाहीँ खसीको ल्याउँछौँ, नभए तरकारीमै चित्त बुझाएका छौँ।” उपभोक्तामा छाएको यही मनोवैज्ञानिक डरले बजारमा कुखुराको मासुको माग शून्यप्रायः छ।
१६ फार्ममा संक्रमण, ६६ हजार कुखुरा नष्ट
कोसी प्रदेशमा बर्डफ्लुको लहर ३ चैतदेखि सुरु भएको हो। मोरङको सुन्दरहरैँचा-४ स्थित हलेसी महादेव कृषि फार्ममा अचानक कुखुरा मर्न थालेपछि किसान तर्सिएका थिए। नमुना संकलन गरेर काठमाडौँ पठाइयो र ४ चैतमा रिपोर्ट आयो- ‘बर्डफ्लु’।
सोही वडाको बूढीगंगा कृषि फार्ममा पनि ४ चैतमै संक्रमण देखियो। कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले तत्कालै ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन त गर्यो, तर संक्रमण झापा, मोरङ र सुनसरीका १६ वटा ठूला फार्ममा फैलिइसकेको थियो। मन्त्रालयकी पशुपन्छी महाशाखा प्रमुख दीपा दियालीका अनुसार हालसम्म सुनसरीमा आठ, मोरङमा ६ र झापामा दुई वटा कृषि फार्ममा संक्रमण पुष्टि भइसकेको छ।

१२ चैतसम्म कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले बर्डफ्लु देखिएपछि कुखुरा नष्ट गरेको अभिलेख।
१२ चैतसम्मको तथ्यांक हेर्ने हो भने पूर्वी नेपालको पोल्ट्री व्यवसायको अवस्था भयावह देखिन्छ। तीन जिल्लाका विभिन्न फार्ममा रहेका ६६ हजार ३२ कुखुरा नष्ट गरिएको छ। जसमा फुल पार्ने ६४ हजार ८९७ ‘लेयर्स’ र एक हजार १३५ ‘ब्रोइलर’ कुखुरा छन्। मन्त्रालयकी महाशाखा प्रमुख दियाली भन्छिन्, “हामी संक्रमण रोक्ने प्रयास गरिरहेका छौँ। यो अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। जिल्लाहरूबाट क्षतिको विवरण संकलन भइरहेकाले पूर्ण विवरण मन्त्रालयसम्म आइपुग्न बाँकी छ।”
किसानलाई ऋणको भार
लेयर्स कुखुरापालक संघ मोरङ-सुनसरीका अध्यक्ष होम बास्कोटाका अनुसार पोल्ट्री क्षेत्रले अहिलेसम्मकै ठूलो संकट बेहोर्दै छ। मोरङ र सुनसरीमा मात्र ७४ लेयर्स कुखुरा फार्म छन्। तीमध्ये धेरै फार्म अहिले सुनसान छन्। “किसानले बैंकबाट लाखौँ रुपैयाँ ऋण लिएर फार्म सुरु गरेका हुन्छन्,” अध्यक्ष बास्कोटा भन्छन्, “कुखुराले प्रतिफल दिने बेला बर्डफ्लु देखियो। व्यापार ५० प्रतिशतभन्दा बढीले घटेको छ। व्यवसायीहरू अब सडकमा पुग्ने अवस्था आएको छ।” राज्यले कुखुरापालक कृषकलाई राहत दिनुपर्ने उनको भनाइ छ।
अहिले बजारमा ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी ३६० रुपैयाँमा झरेको छ। मूल्य घट्दा पनि ग्राहक नहुनु किसान र व्यापारी दुवैका लागि दुर्भाग्य बनेको विराटनगरमा विराट फ्रेस हाउसका सञ्चालक सन्तोष साह बताउँछन्। “किसानको खोरमा कुखुरा तयारी अवस्थामा छन्, व्यापार नभएपछि कसरी ल्याउनु?” उनी भन्छन्। साह अहिले कुखुराको साटो खसीको मासु जोख्न व्यस्त छन्। बर्डफ्लुको त्रासले कुखुराको बिक्री शून्य भएपछि उनले व्यापार टिकाउन रणनीति बदलेका हुन्। भन्छन्, “ग्राहकले कुखुराको मासु छुनै छाडे। त्यसैले अहिले खसीको मासुको व्यापारमा बढी ध्यान दिएको छु।”

बर्डफ्लुको त्रासमा उपभोक्ताले कुखुराको मासु खान छाडेपछि खसीको मासु बिक्री सुरु गरेको विराट फ्रेस हाउस।
बर्डफ्लुको त्रासले कुखुरा मात्र होइन, अन्डाको व्यापारमा पनि असर परेको छ। विराटनगरका मासु व्यवसायी सन्तोष खड्का भन्छन्, “मासु बिक्री नहुँदा पसलको भाडा र बिजुलीको पैसा उठाउन पनि मुस्किल भयो। अब यस्तै अवस्था रहे व्यवसाय नै परिवर्तन गर्नुपर्छ।”