पहिलोपटक दलाई लामाको बधाई, विदेश मन्त्रालयका प्रवक्ताको सम्बोधनमै सीमित चीनको शुभकामना
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई प्रमुख शक्ति राष्ट्रहरूले समर्थन गरेका छन्। औपचारिक रूपमा समर्थन गर्नेमा जापान, भारत, अमेरिका चीनदेखि बाङ्लादेशसहित भारतमै निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामासम्म छन्।
जेन-जीले २३–२४ भदौमा गरेको आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, कुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित थियो। दुई दिनमा सत्ता नै पलट भएको यो दुर्लभ घटनापछि नयाँ सरकारलाई समर्थन बढिरहेको छ, जसले अन्तरिम सरकारलाई काम गर्न सहज हुने अपेक्षा छ।
राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौ २०८२ मा जेन-जी आन्दोलनको मागअनुसार कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। नियुक्तिलगत्तै सपथ खाएकी कार्कीले गृह मन्त्रालयमा बनाइएको प्रधानमन्त्री कार्यालयको कामचलाउ कार्यकक्षमा आज पदभार ग्रहण गरेकी छन्।
सपथलगत्तै २७ भदौकै राति कार्की मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी २१ फागुन २०८२ मा प्रतिनिधिसभाको नयाँ चुनावको मिति घोषणा गरेका छन्।
२७ भदौमा प्रधानमन्त्री कार्कीको सपथ लिएर निवास पनि नपुग्दै जापानले बधाई तथा शुभकामना सन्देश दियो। नेपालस्थित जापानी दूतावासले जारी गरेको शुभकामना सन्देशमा जापान सरकार नेपालमा भएको शान्तिपूर्ण लोकतान्त्रिक संक्रमण चाँडो टुंगियोस भन्ने आशासमेत राखिएको छ। जापानी दूतावासद्वारा जारी सन्देशमा भनिएको छ – ‘हामी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा श्रीमती सुशीला कार्कीलाई नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुभएकोमा स्वागत गर्दछौं।’
नेपालको दक्षिण छिमेकी भारतले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई खुलेर स्वागत गरेको छ। २८ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई तथा शुभकामना दिए। प्रधानमन्त्री मोदीले शनिबार नेपाली, अंग्रेजी र हिन्दी भाषामा एक्समा लेख्दै भनेका छन्– ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना दिन चाहन्छु। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।’

नेपालमा सरकार परिवर्तनकै बेला भारतीय प्रधानमन्त्री मोदी उल्लेख्य संख्यामा नेपालीभाषी रहेको भारतीय राज्य मणिपुर पुगे। त्यहाँ आयोजित समारोहमा मोदीले नेपालमा भएको परिवर्तनको प्रशंसा गरे। विदेश मामिला विज्ञ निश्चलनाथ पाण्डे भन्छन्, “नेपालमा भएको परिवर्तन र नयाँ सरकार गठनपछि भारतले नयाँ प्रधानमन्त्रीलाई बधाईमात्र दिएन, युवाहरूसँग सम्पर्क गरेर तिनका आवाज बुझ्ने कोसिससमेत गरेको देखियो। प्रधानमन्त्री मोदीले मणिपुरमा समेत नेपालबारे बोले, विश्वका धेरै देशले नेपालको नयाँ सरकारलाई दृढ समर्थन गरेका छन्। यसबाट संकटका बेला नेपाल र नेपाली एक्लै छैनन भन्ने पुष्टि हुन्छ।”
त्यसो त, सपथकै दिन २७ भदौमा भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नयाँ सरकारलाई स्वागत गरेको थियो। भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ– ‘नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारको रूपमा भारतले हाम्रा दुई जनता र देशहरूको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने छ।’
नेपालको उत्तरी छिमेकी चीनले प्रधानमन्त्री कार्कीलाई औपचारिक बधाई दिएको छैन। तथापि, चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई सोधिएको प्रश्नमा चीनको प्रतिक्रिया आएको छ। नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा सपथ लिएकी छन्। यसमा चीनको प्रतिक्रिया के छ? भन्ने प्रश्नमा प्रवक्ता भन्छन् – ‘म्याडम सुशीला कार्की नेपालको अन्तरिम प्रधानमन्त्री हुनुभएकोमा चीन बधाई दिन चाहन्छ। चीन र नेपालबीच पुरानो मित्रता छ। चीन सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा चुनेको विकासको बाटोलाई सम्मान गर्छ। हामी नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदान प्रदान गर्न, सहयोग वृद्धि गर्न र द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन तयार छौं।’
विश्वको पहिलो शक्ति राष्ट्र अमेरिकाले नेपालमा भएको जेन-जीको आन्दोलनपछिको शान्तिपूर्ण समाधानको स्वागत गरेको छ। उसकै शब्दमा ‘गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको स्वागत’ गरेको हो। नेपालस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं। यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथमै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं।’
अमेरिका कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी चुनावको लागि गर्ने तयारीहरूमा सहकार्य गर्न तयार देखिएको छ।
नेपालमा हुने सरकार तथा राजनीतिक परिवर्तनमा सामान्यतया प्रतिक्रिया नदिने भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले भने यसपटकको परिवर्तनमा प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। लामाले २९ भदौमा लेखेको पत्र दलाई लामा डटकम नामको उनको आधिकारिक वेबपेजमा सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री कार्कीलाई सम्बोधन गरिएको पत्रमा लामाले भनेका छन् – ‘तपाईंलाई थाहा छ नेपाली र तिब्बती जनताबीच ऐतिहासिक रूपमा निकट सम्बन्ध छ। सन १९५९ पछि तिब्बतबाट जबर्जस्ती भाग्नुपरेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकार र जनताले सुविधा प्रदान गरेकोमा म धेरै कृतज्ञ छु। वास्तवमा तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए पनि यसले नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको छ भन्ने मलाई लाग्छ। …यो चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षालाई पूरा गर्न तपाईंलाई सफलताको कामना गर्दछु। मेरो प्राथना र शुभकामनासहित।’
नेपालमा भएको परिवर्तनलाई यसपालि अन्तर्राष्ट्रिय समुदायले बिनाहिचकिचाहट खुलेर स्वागत तथा समर्थन गरेको बताउँछन् अन्तर्राष्ट्रिय मामिलाका अध्येता तथा पत्रकार अजयभद्र खनाल। भन्छन्, “देशका प्रमुख ठूला तीन दलले मिलीजुली कुशासन, भष्ट्राचार, अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर प्रहार गरेको देखेर नेपालका हितैषी मुलुक र अन्तर्राष्ट्रिय समुदाय दिक्क थियो। त्यसैले उनीहरूले अहिलेको परिवर्तनलाई खुलेर स्वागत गरेका हुन्। यसको गहिरो र दूरगामी अर्थ छ।”
अन्तरिम प्रधानन्त्री सुशीला कार्कीको सपथ समारोहमा प्रमुख राजनीतिक दलका नेता, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायत सहभागी भएनन्। तर, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरू सुरक्षा चुनौतीबीच पनि शीतलनिवासको रात्रिकालीन सपथ समारोहमा सहभागी भए। सपथमा भारतीय राजदूत नवीन श्रीवास्तव, चीनका राजदूत छन सोङ, अमेरिकी राजदूत डीन थम्पसन सँगसँगै बसेका थिए।
त्यहाँ नेपालस्थित अन्य कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका अधिकारी पनि सहभागी थिए। सपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याललगायत वरिष्ठ सुरक्षा अधिकारी सहभागी थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सपथमा सहभागी थिए। भट्टराई सपथमा सहभागी हुने एक्ला पूर्वप्रधानमन्त्री हुन्। उनले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई समर्थन गर्दै आएका छन्।