अनुवाद
तपाईंको मस्तिष्कमा खोपिएको बानीलाई पूर्णतः मेटाउन झन्डै झन्डै असम्भव नै छ, भलै तपाईंले त्यो व्यवहार नदोहोर्याएको केही समय नै भइसकेको होस्।
सन् १९७१। भियतनाम युद्ध १६औँ वर्षमा पुग्दै थियो। त्यतिबेला अमेरिकी कँग्रेसका दुई जना सांसद कनेक्टिकटका रोबर्ट स्टिल र इलिनोयका मोर्गन मर्फीले गरेको एउटा खोजले अमेरिकी जनतालाई चकित बनाइदियो। भियतनाममा खटिएका अमेरिकी सेनाहरूको भ्रमणका क्रममा उनीहरूले १५ प्रतिशत सैनिकहरू हेरोइनको लती भएको फेला पारे। त्यसपछि गरिएको अनुसन्धानले भियतनाममा खटिएकामध्ये ३५ प्रतिशत सैनिकले हेरोइनको सेवन गरेको र २० प्रतिशत जतिलाई कुलत लागिसकेको पुष्टि गर्यो। समस्या पहिले सोचेभन्दा पनि भयंकर थियो।
त्यस खोजले वासिङ्टनमा अनेकौँ गतिविधि सुरु गरिदियो। राष्ट्रपति रिचर्ड निक्सनले आफ्नो मातहतमा ‘स्पेसल एक्सन अफिस अफ ड्रग एब्युज प्रिभेन्सन’ स्थापना गरे, जसको मूल उद्देश्य लागुऔषध नियन्त्रण र पुनरुत्थान थियो। साथै, भियतनाम युद्धबाट फर्किएका सैनिकहरूमध्ये लागुऔषधका लतीहरूको पहिचान पनि थियो।
त्यतिबेला खटिएका अनुसन्धातामध्ये एक थिए, ली रोबिन्स। उनले गरेको खोजमा कुलतबारे प्रचलित मान्यताको ठ्याक्कै विपरीत परिदृश्य देखा पर्यो। रोबिन्सले घर फर्किएका सैनिकहरूमध्ये पाँच प्रतिशत जति मात्रै एक वर्षमा पुनः कुलतमा फर्किएको पाए। र, तीन वर्षमा जम्मा १२ प्रतिशत पुनः कुलतमा लागेको फेला पारे। अर्को शब्दमा भन्दा, भियतनाममा हेरोइन सेवन गरेका झन्डै १० मध्ये आठ जना सैनिकहरूले रातारात कुलत त्यागेको पाइयो।
रोबिन्सले उजागर गरेको तथ्य थियो, परिवेशमा आमूल परिवर्तन गर्ने हो भने कुलत क्रमशः घट्दै जान्छ।
त्यतिबेला हेरोइनको लत स्थायी हुन्छ र छुटाउन सकिँदैन भन्ने मान्यता थियो। यो खोज त्यस मान्यताको विपरीत थियो। बरु रोबिन्सले उजागर गरेको तथ्य थियो, परिवेशमा आमूल परिवर्तन गर्ने हो भने कुलत क्रमशः घट्दै जान्छ। भियतनाममा सैनिकहरू हेरोइन उपयोगलाई उद्वेलित गर्ने संकेतले घेरिएका थिए। ती संकेत निकै सहज थिए। उनीहरू युद्धको तनावमा थिए। हेरोइन सेवन गर्ने सैनिकहरूसँगको मित्रतामा थिए र घरबाट हजारौँ माइल टाढा थिए। अमेरिका फर्किएपछिको परिवेशले भने उनीहरूलाई हेरोइन त्याग्न प्रेरित गर्थ्यो। सन्दर्भ बदलिनासाथ उनीहरूको बानी पनि फेरियो।
यस अवस्थालाई कुनै लागुऔषध दुर्व्यसनीसँग तुलना गरेर हेरौँ। कोही व्यक्ति घरमा वा साथीसँगको संगतमा कुलतमा लाग्छ। ऊ त्यसबाट मुक्त हुन पुनःस्थापना केन्द्र जान्छ। त्यहाँको परिवेशले उसलाई त्यो कुलत त्याग्ने बनाउँछ। त्यहाँबाट निस्केपछि ऊ पुनः त्यही परिवेशमा फर्किन्छ, जसले उसलाई कुलतमा लाग्न उत्प्रेरित गरेको थियो। यस्तो अवस्थामा भियतनाम अध्ययनमा भन्दा ठ्याक्कै विपरीत नतिजा आउनु अनौठो होइन। करिब ९० प्रतिशत हेरोइन दुर्व्यसनीहरू पुनःस्थापना केन्द्रबाट फर्केपछि पुनः कुलतमा लाग्छन्।
भियतनाम अध्ययनले खराब बानीबारेका हाम्रा सांस्कृतिक मान्यताबारे प्रश्न उठाउँछ, किनभने यसले खराब बानीलाई नैतिक कमजोरीका रूपमा लिने हाम्रो परम्परागत सोचलाई चुनौती दिन्छ। तपाईं अत्यधिक मोटो हुनुहुन्छ वा चुरोट पिउनुहुन्छ वा दुव्यर्सनी हुनुहुन्छ भने जिन्दगीभर तपाईंलाई आत्मनियन्त्रण गर्न नसकेर यस्तो भएको भनिन्छ। तपाईंलाई खराब व्यक्तिका रूपमा चित्रित गरिन्छ। थोरै अनुशासित हुने हो भने सबै समस्या समाधान भइहाल्छन् भन्ने चिन्तन हाम्रो संस्कृतिमा जरा गाडेर बसेको छ।
एक पटक बानी बसिसकेपछि त्यससँग जोडिएको परिवेश पुनः सिर्जना हुनासाथ त्यस्तै गरिहाल्ने चाहना पनि जागृत भइहाल्छ।
तर, पछिल्लो अनुसन्धानले त्योभन्दा फरक परिदृश्य देखाउँछ। एकदमै आत्मनियन्त्रण भएको देखिने व्यक्तिको अनुसन्धान गर्दा वैज्ञानिकहरूले उनीहरू अरू संघर्षरत मानिसभन्दा खासै फरक नभएको पाए। बरु, ती ‘अनुशासित’ भनिएका मानिस आफ्नो जीवनका लागि त्यस्तो परिवेश सिर्जना गर्न सक्षम थिए, एकदमै तिलस्मी इच्छाशक्ति वा आत्मनियन्त्रण नै चाहिँदैनथ्यो। अर्को शब्दमा भन्दा उनीहरूले लोभ्याउने परिवेशमा कम समय बिताइरहेका थिए।
उत्कृष्ट आत्मनियन्त्रण भएका मनिसहरू ती हुन्, जसलाई त्यसको प्रयोगको आवश्यकता नै अति कम पर्छ। जब आवश्यकता नै कम पर्छ भने आत्मसंयमको अभ्यास गर्न सहज हुन्छ। पक्कै पनि सफलताका लागि दृढता, धैर्य र इच्छाशक्ति जरुरी हुन्छन्, तर यी गुण अनुशासित व्यक्ति हुने चाहना राख्दैमा हासिल हुँदैनन्। त्यसका लागि अझ अनुशासित परिवेश सिर्जना गर्नुपर्छ।
कुनै बानी मस्तिष्कमा बसिसकेपछि के हुन्छ भन्ने थाहा भयो भने सहजवृत्तिको विपक्षमा रहेको यो धारणा अझ राम्रोसँग बुझिन्छ। मस्तिष्कमा लिपिबद्ध भइसकेका बानी समान परिस्थिति सिर्जना हुनासाथ अभ्यासमा आइहाल्छन्। टेक्सस, अस्टिनकी थेरापिस्ट प्याट्टी अलवेलले सुरुसुरुमा प्रायजसो साथीसँग घोडसवार गर्दा चुरोट सल्काउँथिन्। पछि उनले चुरोट त्यागिन् र वर्षौंसम्म कसैले प्रस्ताव गर्दा पनि स्वीकार गरिनन्। उनले घोडा चढ्न पनि छोडेकी थिइन्। दशकौँपछि जब उनी पुनः घोडा चढिन्, आफूलाई वर्षौंपछि पहिलो पटक चुरोटको तलतल लागेको महसुस गरिन्। संकेत अहिले पनि मस्तिष्कमा थिए। उनी केवल ती संकेत भएको परिवेशमा थिइनन्।
खराब बानी आफ से आफ उत्प्रेरित हुन्छ। यसको प्रक्रियाले नै यसलाई मलजल गरिरहेको हुन्छ। जुन अनुभूतिलाई रोक्न खोजिएको हो, तिनैलाई खराब बानीले बढाइदिन्छन्।
एक पटक बानी बसिसकेपछि त्यससँग जोडिएको परिवेश पुनः सिर्जना हुनासाथ त्यस्तै गरिहाल्ने चाहना पनि जागृत भइहाल्छ। कतिपय व्यवहार परिवर्तन गर्ने तरिकाले उल्टो परिणाम दिने एउटा कारण यो पनि हो। मोटा मानिसलाई उनीहरूको मोटोपनमाथि टिप्पणी गरिरहँदा तनाव महसुस हुन्छ अनि उनीहरूले त्यसको सामना गर्न प्रचलित तरिका अपनाउँछन्, उनीहरू अझ बढी खान थाल्छन्। चुरोटको खोलमा क्यान्सरले क्षतविक्षत फोक्सोको तस्बिर राखिन्छ, तर त्यसले मानिसलाई थप बेचैन बनाउँछ र उनीहरू चुरोट पिउन थाल्छन्। संकेतबारे सचेत भइएन भने रोक्न चाहेको व्यवहार अझ प्रेरित हुन सक्छ।
खराब बानी आफ से आफ उत्प्रेरित हुन्छ। यसको प्रक्रियाले नै यसलाई मलजल गरिरहेको हुन्छ। जुन अनुभूतिलाई रोक्न खोजिएको हो, तिनैलाई खराब बानीले बढाइदिन्छन्। तपाईंलाई नराम्रो महसुस हुन्छ र पत्रु खाना खान थाल्नुहुन्छ। पत्रु खाना खाने भएकाले नै तपाईंलाई नराम्रो महसुस हुन्छ। टेलिभिजन हेर्दा तपाईंलाई आलस्य अनुभूति हुन्छ। त्यसैले नै तपाईं टेलिभिजन हेर्नुहुन्छ किनभने अरू काम गर्ने जाँगर नै चल्दैन। स्वास्थ्यबारे चिन्ता गर्दा तपाईंलाई बेचैनी हुन्छ, जसले त्यो बेचैनी कम गर्नकै लागि चुरोट पिउने बनाउँछ। त्यसले तपाईंको स्वास्थ्य अझ खतम बनाउँछ र तपाईं झन् बढी बेचैन हुनुहुन्छ। यो उँधोगतिको यात्रा हो। खराब बानीतिरको दौड हो यो।

अनुसन्धाताले यस्तो प्रक्रियालाई ‘संकेत प्रेरित इच्छा’ नाम दिएका छन्, जसको अर्थ हो– यस्तो बाह्य उत्प्रेरक, जसले खराब बानी दोहोर्याउने तृष्णा जगाइदिन्छ। जब तपाईंले कुनै चिज ख्याल गर्नुहुन्छ, तपाईं त्यो चाहन थाल्नुहुन्छ। तपाईंले ख्याल नगरेको बेला पनि यो प्रक्रिया हरबखत भइरहेको हुन्छ। वैज्ञानिकहरूले फेला पारेका छन्, एक जना दुर्व्यसनीलाई ३३ मिलिसेकेन्डका लागि मात्रै कोकिनको तस्बिर देखाउँदा उसको मस्तिष्कले उल्टो बाटो समात्छ र त्यसको तृष्णा जागृत हुन्छ। यो प्रक्रिया यति द्रुत गतिमा हुन्छ, मस्तिष्कले सचेतनापूर्वक ग्रहण गर्नै सक्दैन। दुर्व्यसनीले पनि के देखेँ भन्न सक्दैन, तर उसलाई त्यसको तृष्णा जागृत भइसकेको हुन्छ।
एउटा सूत्र छ– तपाईं बानी त्याग्न सक्नुहुन्छ, तर बिर्सन सक्नुहुन्न। तपाईंको मस्तिष्कमा खोपिएको बानीलाई पूर्णतः मेटाउन झन्डै झन्डै असम्भव नै छ, भलै तपाईंले त्यो व्यवहार नदोहोर्याएको केही समय नै भइसकेको होस्। यसको अर्थ हो, कुनै चाहना अस्वीकार गर्नु मात्रै प्रभावकारी रणनीति होइन। अनेकौँ अवरोधले भरिएको जिन्दगीमा जेन भिक्षुले जस्तो उपेक्षाभाव राख्न कठिन छ। त्यसका लागि निकै ऊर्जा चाहिन्छ। छोटो समयका लागि तपाईंले चाहना दबाउन सक्नुहुन्छ। तर, दीर्घकालमा हामी आफू बाँचिरहेको परिवेशअनुरूप नै बन्छौँ। सिधासाधा भन्दा, मैले अहिलेसम्म नकारात्मक परिवेशमा बाँचेर सकारात्मक बानीमा अडिग भएको कसैलाई देखेको छैन।
तपाईंले एकदुई पटक तृष्णा थाम्न सक्नुहुन्छ, तर हरेक पटक तृष्णा रोक्ने इच्छाशक्ति हुँदैन।
भरपर्दो तरिका भनेको खराब बानीका स्रोतहरू बन्द गर्ने हो। खराब बानी घटाउने सबैभन्दा व्यावहारिक तरिकामध्ये एक हो, त्यसलाई उत्प्रेरित गर्ने संकेतसँगको साक्षात्कार नै घटाउने।
तपाईंले कामलाई निरन्तरता दिन सकिरहनुभएको छैन भने केही घण्टाका लागि फोन अर्को कोठामा छोडिदिनुस्।
‘म त केही गर्न सक्दिनँ’ भन्ने भावनाले गाँजिरहेको छ भने सामाजिक सञ्जाल स्क्रोल गर्न छोडिदिनुस्, त्यसले नै तपाईंमा ईर्ष्या र द्वेष सिर्जना गरिरहेछ।
टेलिभिजन हेरेर समय नष्ट गर्नुभएको छ भने बेडरुमबाट टिभी बाहिर राख्नुहोस्।
इलेक्ट्रोनिक्समा पैसा दिन छोड्नुभएको छ भने तीबारेका रिभ्यु पढ्न छोड्नुहोस्।
अति धेरै भिडिओ गेम खेल्नुहुन्छ भने तिनलाई पहुँचभन्दा पर राख्नुहोस्।
यो अभ्यास व्यवहार परिवर्तनको पहिलो नियमको उल्टो हो। यसलाई स्वाभाविक बनाउनुको साटो यसलाई अदृश्य बनाउनुहोस्। यो साधारण परिवर्तनले कति ठूलो प्रभाव पार्छ भनेर म बेलाबेला चकित पर्छु। एउटा मात्र संकेत हटाउनुहोस्, सिंगो बानी नै धूमिल हुन्छ।
आत्मनियन्त्रण अल्पकालीन रणनीति हो, दीर्घकालीन होइन। तपाईंले एकदुई पटक तृष्णा थाम्न सक्नुहुन्छ, तर हरेक पटक तृष्णा रोक्ने इच्छाशक्ति हुँदैन। हरेक पटक सही काम गर्दा इच्छाशक्ति जागृत गर्ने ऊर्जालाई अनुकूल परिवेश बनाउन खर्चिनु राम्रो हुन्छ। यही नै आत्मनियन्त्रणको रहस्य हो। आफ्ना असल बानीका संकेतलाई स्वाभाविक बनाउनुहोस् र खराब बानीका संकेतलाई अदृश्य।
(जेम्स क्लियरको एक करोड प्रतिभन्दा बढी बिक्री भएको पुस्तक एटमिक ह्याबिट्स नेपाली भाषामा बुकहिलले आधिकारिक प्रकाशन गरेको छ। यसको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)