संस्कृति
आधुनिकताका नाममा रैथाने संस्कृति लोप हुँदै गएको बेला भाषा, संस्कृतिको पुनर्जागरणमा लिम्बू समुदायको अग्रसरता
सेवारो, आङ्गा आमिङ् इङ्सुम सेर्मा रो। (नमस्कार, मेरो नाम इङ्सुम सेर्मा हो।)
ललितपुर बस्ने भीमा खजुमकी ९ वर्षीया छोरी इङ्सुम घरमा कोही पाहुँना आउँदा होस् या आफू कसैका घरमा जाँदा, यसरी आफ्नै भाषामा परिचय दिन्छिन्।
१३ वर्षीय छोरा सुयेमहाङ पनि घरमा याक्थुङ पान (लिम्बू भाषा)मै कुराकानी गर्छन्। उनीहरू राति सुत्ने बेला ‘गुड नाइट’ वा शुभरात्रिको सट्टा ‘इम्सी रो’ भन्छन्।

नयाँ पुस्तालाई लिम्बू भाषा तथा संस्कृतिबारे प्रशिक्षण दिइँदै।
आफ्नो भाषा, संस्कृति संरक्षणमा काम गरेकी भीमाले छोराछोरीको नाम पनि लिम्बू भाषामै राखिन्। घरमा पनि सकेसम्म मातृभाषामा बोल्न प्रेरित गर्छिन्। तर, उनीहरू पढ्ने विद्यालयमा भाषा, संस्कृति सिक्ने-बुझ्ने माहोल छैन। विद्यालयमा चासोक तङ्नाम जस्ता लिम्बू समुदायका चाडपर्वमा बिदा हुँदैन, त्यसबारे बुझ्ने अवसरै पाउँदैनन्।
विद्यालयमा अंग्रेजी भाषा र समाजमा नेपाली भाषा बोल्ने छोराछोरीलाई घरमा भाषा सिकाउन पनि सजिलो छैन। यसपटकको विद्यालय बिदामा छोराछोरी मोबाइल गेममै व्यस्त होलान् भन्ने भीमालाई चिन्ता थियो। तर, बालबालिकालाई भाषा र संस्कृति सिकाउने कक्षा सञ्चालन भइरहेको थाहा पाइन्। १० दिने कक्षा सुरु भएको ६ दिन बितिसकेको थियो, तर पनि उनले छोराछोरीलाई त्यहाँ भर्ना गरिदिइन्।

नयाँ पुस्तालाई च्याब्रुङ नाच सिकाइँदै।
घरमै याक्थुङ भाषाका केही शब्द सिकेका उनीहरूले चार दिनमा धेरै कुरा सिके। भाषा मात्र होइन, के (च्याब्रुङ) बजाउन र सिलाम साक्मा बनाउन पनि सिके। भीमा भन्छिन्, “कक्षामा आफ्नै भाषामा एकदेखि करोडसम्म भन्न सिके, चाडपर्वबारे बुझ्ने अवसर पाए। उनीहरू पनि नयाँ कुरा सिक्न पाउँदा खुसी छन्, हामी पनि आफ्नो भाषा, संस्कृति हस्तान्तरण गर्न पाउँदा खुसी छौँ।”
ललितपुरकै पुनमदेवी सेर्मालाई २ कक्षामा पढ्ने छोरा सुयेन थलङले १० दिनमै आफ्नो भाषाका धेरै शब्द सिक्दा खुसी लागेको छ।
उनी लिम्बू भाषामा पोख्त भए पनि उनका श्रीमान्लाई लिम्बू भाषा आउँदैन। त्यसैले घरमा लिम्बू भाषामा कुराकानी हुँदैन। यस्तो अवस्थामा छोराछोरीले सिक्ने कुरै भएन। त्यसमाथि ‘बोर्डिङ स्कुल’ पढ्ने केटाकेटीलाई आफ्नो भाषा, संस्कृति कसरी सिकाउने होला भन्ने तनाव थियो उनलाई। भन्छिन्, “यसपालि त आफ्नो भाषा, संस्कृति बुझ्न पायो छोराले। साप्ताहिक बिदामा पनि अनलाइन कक्षा भए सिकाउने थिएँ।”
लिम्बू समुदायको जातीय संस्था किरात याक्थुङ चुम्लुङले युवा पुस्तालाई लिम्बू भाषा, केःलाङ् (च्याब्रुङ नाच), याःलाङ् (धान नाच) लगायत संस्कार-संस्कृतिको प्रशिक्षण दिने गरेको छ। तर, साना स्कुले बालबालिकाका लागि प्रशिक्षणको अवसर थिएन।
यसपटकको विद्यालय बिदाको समयमा ललितपुरस्थित मुन्धुम बुटिक एन्ड मेख्ली हाउसकी सञ्चालक मुन्धुम मिभक लिम्बू (मुनु) ले बालिबालिकाको बिदाको समय सदुपयोग गर्ने नयाँ सोच निकालिन्– भाषा, केःलाङ् र सिलाम साक्माबारे प्रशिक्षण दिने। उनले चुम्लुङमा आफ्नो योजना सुनाइन्।

प्रशिक्षणमा आफैँले बनाएको सिलाम साक्मा देखाउँदै सहभागी।
मुन्धुमले व्यक्तिगत रूपमा ल्याएको योजना चुम्लुङका केन्द्रीय अध्यक्ष गोविन्द आङ्बुङलाई पनि ठिक लाग्यो। किरात याक्थुम चुम्लुङ ललितपुरले प्रशिक्षणका लागि भवन र च्याब्रुङ उपलब्ध गराइदियो। त्यसपछि तुरुन्तै प्रशिक्षकहरू पनि खोजियो। दुई दिनमै ३१ जना बालबालिका भाषा, संस्कृति सिक्न जम्मा भए। उनीहरूलाई भीमा खजुम, संस्कृतिकर्मी यासेली योङ्हाङ, निशेष आङ्देम्बेदेखि पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसम्मले भाषा, कला र संस्कृतिका बारेमा प्रशिक्षण दिए। संयोजक मुन्धुम मिभक लिम्बू भन्छिन्, “अबका नयाँ पुस्तालाई आफ्नो भाषा-लिपि, संस्कार, संस्कृतिबारे रूचि बढाउन सकियो भने अहिले प्रविधिको युगमा विभिन्न माध्यमबाट थप कुरा सिक्न सक्छन् भन्ने प्रमुख उद्देश्यले यो कक्षा सञ्चालन गर्ने सोंच आयो।”
लिम्बू समुदायमा पछिल्लो समय नयाँ पुस्तालाई भाषा, संस्कृति सिकाउने लहरै चलेको छ। सुरुमा त नयाँ जन्मिने बच्चाको नाम आफ्नै भाषाबाट राख्ने प्रचलन व्यापक छ। दुई दशकअघिदेखि नै मौलिक नाम राख्ने प्रचलन व्यापक भएको हो। यसपटक १० दिने प्रशिक्षण लिने सबैको नाम आफ्नै भाषामा थियो। मौलिक नाम राख्न सहजताका लागि लेखक डी.बी. आङ्बुङले लिम्बू र विष्णुदत्त आङ्बुहाङले नामकोश पुस्तक नै लेखेका छन्।
मुन्धुममा तान बुन्ने परम्पराबारे उल्लेख छ। अहिले पनि लिम्बू समुदायमा तानमा ढाकाको कपडा बुनेर लगाउने र व्यापार गर्ने प्रचलन छ। लिम्बू बालबालिकालाई तागावा, मेख्लीलगायत ढाकाका मौलिक पोसाक लगाइदिने चलन छ।

भाषा, संस्कृति प्रशिक्षणको समापन कार्यक्रम।
लिम्बू समुदायका युवा पुस्तालाई पहिलेदेखि नै चुम्लुङले भाषा, संस्कार र संस्कृतिको प्रशिक्षण दिने गरेको छ। त्यस्तै, नयाँ पुस्तालाई समयानुकूल भाषा, संस्कृति सिकाउन चुम्लुङले मोबाइल एप, युनिकोड फन्ट बनाएको छ। चुम्लुङका पूर्वअध्यक्ष प्रेम येक्तेन भन्छन्, “नयाँ पुस्ता प्रविधिमा अभ्यस्त छ, उनीहरूले सहजै भाषा, लिपि सिक्न सकून् भनेर युनिकोड बनाइएको छ। यसले उनीहरूलाई आकर्षित पनि गरिरहेको छ।”

किरात सिरिजंगा युनिकोड किबोर्ड सार्वजनिक गर्दै चुम्लुङका पूर्वअध्यक्ष प्रेम येक्तेन। तस्बिर : गोपाल दाहाल
बालबालिकालाई मातृभाषामा शिक्षा दिने सरकारको नीति भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। लिम्बू बहुल क्षेत्रका विद्यालयमा लिम्बू भाषा पठनपाठनको व्यवस्था रहे पनि सरकारले भाषा पढाउने शिक्षकको व्यवस्था नमिलाउँदा समस्या रहेको लेखक डी.बी.आङ्बुङ बताउँछन्। भन्छन्, “सरकारको योजना प्रभावकारी नभए पनि व्यक्तिगत र संस्थागत पहलमा नयाँ पुस्तालाई भाषा, संस्कृति र मौलिक कुरा सिकाइरहेका छौँ।’
बालबालिकालाई भाषा, संस्कृतिको प्रशिक्षणसमेत दिएका पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ बालबालिकालाई यस्तो ज्ञान दिन छोटो समयको कोर्स नै बनाएर अघि बढ्नुपर्ने सुझाव दिन्छन्। भन्छन्, “यसपटकको प्रशिक्षणबाट बच्चाहरूको स्क्रिन टाइम घटाउन र आफ्नो भाषा, संस्कृतिको ज्ञान छिटै सिकाउन सकिने अनुभव भयो। यसलाई व्यवस्थित गरिनु आवश्यक छ।”

प्रशिक्षणपछि प्रमाणपत्र पाएका सहभागीहरू।
चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङ्बुङ लिम्बू समुदायमा भाषा, संस्कृति पुनर्जागरणप्रतिको सचेतना देखेर उत्साहित छन्। उनी आफ्नो ५ वर्षको नानीले समेत भाषा, संस्कृतिका बारेमा चासो राख्न थालेकामा खुसी व्यक्त गर्दै भन्छन्, “मातृभाषामा ज्ञान-विज्ञान हुन्छ भन्ने पहिलेदेखि सुन्दै र बोल्दै आयौँ। अहिलेको पुस्तामा चासो देख्दा आशा पलाएको छ।”
याक्थुङ संस्कृतिकर्मी यासेली योङ्हाङ अभिभावकहरूमा समेत अंग्रेजी मोह बढिरहेकाले नयाँ पुस्तालाई पुराना कुरा सिकाउन र बुझाउन सहज नरहेको बताउँछन्। भन्छन्, “समुदायले आफ्नो तर्फबाट गरिरहेकै छ। भाषा, संस्कृति हराउन लागेको बेला संरक्षण गर्ने दायित्व राज्यको पनि हो।”