काठमाडौं। पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ लोकार्पण गरिएको छ।
लेखक एवं पत्रकार मोहन मैनाली र ज्ञवालीले पुस्तकको संयुक्त रूपमा लोकार्पण गरे। कार्यक्रममा लेखक ज्ञवालीसँग मैनालीले अन्तर्संवादसमेत गरेका थिए।
उपन्यासको मुख्य पात्र मन्याको कथा पढिरहँदा पाठकलाई उसले हिँडेको बाटो पनि सँगसँगै यात्रा गर्ने हुटहुटी जाग्ने मैनालीले बताए। उपन्यास भएर पनि यहाँ राखिएका फुटनोटले इतिहासका विद्यार्थीले पढ्ने पुस्तकसमेत बनाएको उनको भनाइ छ। “ऐतिहासिक उपन्यासलाई यति सुन्दर बनाउन सक्नु लेखक केशवराज ज्ञवालीको गजब काम हो,” उनले भने।
कार्यक्रममा लेखक ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने ठूलो घटना भएको बताए। त्यस क्रममा योगदान गरेका तर गुमनाम पात्रहरूको कथालाई आफूले उपन्यासमा उतारेको उनको भनाइ छ। “त्यो बृहत् अभियानका अनेकौँ आयाममा नेपाली साहित्यमा प्रशस्त उत्खनन, लेखन भएको छैन। तीमध्ये त्यसमा संलग्न भुइँमान्छेहरूको गाथा पनि एउटा हो,” ज्ञवालीले भने, ‘इतिहास लेखन र पठनको सिलसिलामा धेरै पटक राजा, सेनानायकको चर्चा भेटिन्छ। आम मान्छेहरू आकलझुक्कल आउँछन्। हाम्रा पुर्खा संलग्न भएको लडाइँ, जति सेनानायकहरूको थियो, त्यति नै वा त्योभन्दा बढी त्यो समयका भुइँमान्छेहरूको पनि थियो। उनीहरूको कथा अज्ञातमार्फत मैले लेख्न खोजेको हुँ।”
अज्ञातमा के छ ?
गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो। अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे।
यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ। आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ। सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ।
बाबुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ- मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै। अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँवर सेनाको सानो टुकडी लिई बसेका हुन्छन्। अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ। उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ। तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ?
युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सूक्ष्म तरिकाले देखाइएको यो युद्धका साधन बनाइएका मानिसका दृष्टिबाट लेखिएको सशक्त उपन्यास हो, जुन शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।