काठमाडौँ। पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच’ अवार्ड प्राप्त गरेका छन्।
बंगलादेशको मेडिकल अन्कोलोजी सोसाइटी (एमओएसबी) ले ढाकामा आयोजना गरेको बेस्ट अफ एस्को एन्ड एमओएसबी कंग्रेस २०२५ मा उनलाई यो सम्मान प्रदान गरिएको हो।
उपचारप्रतिको समर्पण, नेतृत्व क्षमता र क्यान्सर उपचार सेवा विस्तारमा पुर्याएको योगदानका आधारमा डा. शाहीलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।
ढाकास्थित नेशनल इन्स्टिच्युट अफ क्यान्सर रिसर्च एन्ड हस्पिटलबाट मेडिकल अन्कोलोजीमा स्नातकोत्तर गरेका डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकका रूपमा कार्यरत छन्। उनले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै समान र सहज क्यान्सर उपचार सेवाको पहुँच विस्तारमा योगदान पुर्याउँदै आएका छन्।