काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

क्रिकेट

७ खेलमा विकेटविहीन, एकै खेलमा चार विकेट

६ जेष्ठ २०८३
स्कटल्यान्डविरुद्धको खेलमा कप्तान रोहित पौडेलसँग खुसी साट्दै ललितनारायण राजवंशी। तस्बिरहरू : क्यान
अ+
अ-

केही महिनायता ललितनारायण राजवंशीको प्रदर्शन हेर्दा धेरैलाई लाग्न थालेको थियो, अब उनको बलमा ‘टर्न’ बाँकी रहेन। किनभने, पछिल्ला १३ मध्ये सात खेलमा उनी विकेटविहीन थिए।

तर, आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ४ जेठमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको स्कटल्यान्डविरुद्धको नेपालले जित्नैपर्ने खेलमा उनले यसलाई गलत साबित गरिदिए। बललाई पुरानै लयमा ‘टर्न’ गराउँदै ललितले चार विकेट लिए। उनको प्रदर्शनमा आशंका गर्ने सबै चकित परे।

तर, सन्दीप लामिछानेका लागि ललितको यो प्रदर्शन अनपेक्षित थिएन। उनी ललितले हरेक विकेट लिँदा रमाइरहेका थिए। स्कटल्यान्डविरुद्धको ६ विकेटको जित हात पारेपछि ‘पोस्टम्याच कन्फ्ररेन्स’ मा उनलाई यसबारे सञ्चारकर्मीले सोधिहाले।

स्कटल्यान्डविरुद्ध विकेट लिएपछि ललितनारायण राजवंशी।

“ललितले विकेट लिँदा स्वाभाविक रूपमा खुसी त भइहालिन्छ नि। किनभने, लामो समयदेखि हामी जोडी छौँ। उसले विकेट नलिए पनि एउटा इन्डबाट विपक्षीलाई च्यापेर मलाई विकेट लिन सहज बनाइरहेको थियो,” सन्दीपले भने।

शून्यबाटै सुरुआत, शून्यबाटै पुनरागमन

नेपालले सन् २०१८ विश्वकप छनोट प्रतियोगितामार्फत पहिलो एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्‍यो। लगत्तै जीवनको आधाभन्दा बढी समय नेपाली क्रिकेटमा समर्पित गरेका अलराउन्डर शक्ति गौचनले पहिलो ओडीआई खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुने घोषणा गरे। यही कारण नेपाली टोलीले उनको उत्तराधिकारीका रूपमा नयाँ लेफ्ट-आर्म स्पिनरको खोजी गरिरहेको थियो। ललित मुख्य दाबेदार थिए।

जुलाई २०१८ मा नेदरल्यान्ड्स भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा ललित पनि थिए। नेपालले त्यहाँ मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्सविरुद्ध टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेपछि पहिलो ओडीआई खेल खेल्ने तालिका थियो। तर, ललितले शृंखलामा कुनै खेल खेल्न पाएनन्। नेदरल्यान्ड्सविरुद्ध खेल्न उनी प्लेइङ-११ मा रहेको एउटै खेल पनि वर्षाका कारण रद्द भयो।

१ अगस्ट २०१८ मा नेपालले ओडीआई क्रिकेटमा ऐतिहासिक ‘डेब्यु’ गरेको थियो। एमस्टेलभिनमा भएको उक्त खेलमा नेपाल ५५ रनले पराजित भएपछि शक्ति गौचनले सन्न्यास घोषणा गरे। शक्तिको सन्न्यासपछि दोस्रो ओडीआई खेलमा ललित राजवंशीले होइन, ललित भण्डारीले डेब्यु गर्ने अवसर पाए। तर, त्यसपछि उनी राष्ट्रिय टोलीमा अटेनन्।

विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट र एकदिवसीय मान्यता जोगाउनुपर्ने दबाबमा रहेको नेपाल आठ टोलीमध्ये पाँचौँ स्थानमा उक्लिएको छ। २७ खेल खेलेको नेपालले २२ अंक पुर्‍याएको छ। अब नौ खेल खेल्न बाँकी छ।

जनवरी २०१९ मा नेपालले अर्को ओडीआई शृंखला खेल्न यूएई भ्रमण गर्ने तय भयो। दुई खेलको उक्त शृंखलाका लागि भने ललितले टोलीमा स्थान सुरक्षित गरे। २८ जनवरीमा भएको पहिलो खेलमार्फत उनले ओडीआई डेब्यु गरे। तर, उनले सात ओभर बलिङ गर्दै ३३ रन खर्चिए पनि विकेट लिन सकेनन्। दोस्रो खेलमा पनि उनी विकेटविहीन रहे। तेस्रो तथा अन्तिम खेलमा भने उनले एकै ओभरमा दुई विकेट लिएर प्रभाव छाडे।

त्यसयता ५० ओभरको क्रिकेटमा कठिन परिस्थितिमा टोलीलाई सम्हाल्ने जिम्मेवारी प्रायः सन्दीप र ललितकै काँधमा रहँदै आएको छ।

लिग-२ का अघिल्ला तथा यस चक्रका अधिकांश खेलमा पनि उनीहरू सँगै मैदानमा छन्। अघिल्लो चक्रमा आठ इनिङ्स मात्र खेलेका ललितले यसपटक २१ इनिङ्स खेलिसकेका छन्। तर, यी २१ इनिङ्समा सन्दीपले ३९ विकेट लिँदा समान खेल खेलेका ललित २१ विकेटमै सीमित छन्।

सन्दीप लामिछाने।

पछिल्ला १३ खेललाई मात्र हेर्ने हो भने सन्दीपले २६ विकेट आफ्नो नाममा गरिसकेका छन्। ललित भने आठ विकेटमै सीमित छन्। सन्दीप ८ जुन २०२५ मा स्कटल्यान्डविरुद्धको खेलमा मात्र विकेटविहीन रहेका थिए।

त्यसविपरीत ललितले पछिल्ला चार खेलमा मात्र होइन, गत वर्ष अक्टोबर-नोभेम्बरमा यूएईमा भएको घरेलु टोली, अमेरिका र नेपालसम्मिलित शृंखलामा पनि विकेट लिन सकेका थिएनन्। यस्तो दबाबपूर्ण अवस्थाबीच सोमबार स्कटल्यान्डविरुद्ध ललितले उत्कृष्ट पुनरागमन गरे। उनले आठ ओभर बलिङ गर्दै ३२ रन खर्चेर प्रभावशाली प्रदर्शन गरे।

लिग-२ का पछिल्ला पाँच जितमा नेपालले विपक्षी टोलीलाई २०० रन पनि पार गर्न दिएको छैन। उल्लेखनीय कुरा के छ भने, यी पाँच खेलमध्ये चार खेलमा नेपालले विपक्षी टोलीलाई अलआउटसमेत बनाएको छ।

नेपाली राष्ट्रिय टोलीका पूर्व छनोटकर्ता दीपेन्द्र चौधरी ललितको विकेटविहीन खेललाई भन्दा पनि उनले सन्दीपलाई कतिको साथ दिएका छन् भनेर हेर्नुपर्ने बताउँछन्। “क्रिकेटमा ब्याटिङमा जस्तै बलिङमा पनि साझेदारीको उत्तिकै महत्त्व हुन्छ। सन्दीपले बनाएको दबाबलाई अर्को इन्डबाट पनि विकेटमा परिणत गर्न सकिएन भने नतिजा बदल्न गाह्रो हुन्छ। यदि सन्दीपको इन्डबाट दबाब बनिरहेको छ भने अर्को इन्डबाट पनि १-२ विकेट आउनुपर्छ। नत्र मोमेन्टम विपक्षीतर्फ जान्छ। यस्तो अवस्थामा ललित प्रभावकारी बनिरहेका थिए,” उनी भन्छन्।

सन्दीपले यस चक्रका २१ इनिङ्समा २०४.५ ओभर बलिङ गरेका छन्। १२ ओभर मेडन फ्याँकेका उनले ९१२ रन खर्चिएका छन्। ललितले भने १७६.३ ओभर बलिङ गर्दै आठ मेडनसहित ७४९ रन खर्चिएका छन्।

बलिङकै भर

घरेलु मैदानमा भएको लिग-२ को शृंखलाअघि नेपालको प्रदर्शन अपेक्षाअनुसार देखिएको थिएन। ब्याटिङ र बलिङ दुवै विभागमा निरन्तरता अभाव देखिँदा टोलीले लय गुमाएको थियो। तर, घरेलु समर्थकको साथ र आफ्नै पिचको फाइदा उठाउँदै नेपाल खेलमा फर्किएको छ। टोलीले पछिल्ला सातमध्ये पाँच खेलमा उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा लगातार नतिजा आफ्नो पक्षमा पारेको छ।

योसँगै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट र एकदिवसीय मान्यता जोगाउनुपर्ने दबाबमा रहेको नेपाल आठ टोलीमध्ये पाँचौँ स्थानमा उक्लिएको छ। २७ खेल खेलेको नेपालले २२ अंक पुर्‍याएको छ। अब नौ खेल खेल्न बाँकी छ।

अहिलेसम्म नेपालको जितको मुख्य आधार नै अनुशासित र आक्रामक बलिङ रहेको छ। लिग-२ का पछिल्ला पाँच जितमा नेपालले विपक्षी टोलीलाई २०० रन पनि पार गर्न दिएको छैन। उल्लेखनीय कुरा के छ भने, यी पाँच खेलमध्ये चार खेलमा नेपालले विपक्षी टोलीलाई अलआउटसमेत बनाएको छ। यो एकदिवसीय क्रिकेटमा निकै प्रभावशाली उपलब्धि मानिन्छ।

नेपाली क्रिकेट टोली।

यसक्रममा नेपालको प्रभावशाली जित अंकतालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाविरुद्ध मानिन्छ। गत १६ मेमा भएको खेलमा नेपालले अमेरिकी टोलीलाई नौ विकेटले पराजित गरेको थियो। अमेरिकाले ३०.५ ओभरमा चार विकेट गुमाउँदै १५८ रन बनाएको थियो। एकपल्ट ३०० रनको आँकडमा पुग्ने आकलन गरिएको टोलीलाई नेपाली बलरले चल्नै दिएनन्। ३७ रन जोड्दा अमेरिकाले बाँकीका ६ विकेट गुमायो र १९५ रनमै सीमित हुन पुग्यो।

त्यसको दुई दिनपछि अंकतालिकाको शीर्षस्थानमा रहेको स्कटल्यान्डलाई पनि नेपालले १९४ रनमै रोक्यो। यस टोलीले १४ मेमा अमेरिकाविरुद्ध ६ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो। तर, ब्याटिङमा यतिको शक्तिशाली राष्ट्र पनि नेपालसामु ६ विकेटको हार बेहोर्दै निरीह भयो।

हुन त त्यसअघि नै नेपालले यूएईलाई ६ विकेट र ३७ रनले पराजित गरेको थियो। ओमानलाई पनि ८१ रनले पराजित गर्दै आफ्नो घरेलु मैदानको फाइदा उठायो। यी सबै खेलमा नेपाली बलरले लगातार विकेट लिँदै विपक्षी टोलीको साझेदारी जम्नै दिएनन्। विशेषगरी मध्य ओभरमा गरिएको कसिलो बलिङ नेपालका लागि निर्णायक साबित भयो।

नेपालमा खेल्न आउने कुनै पनि टोलीलाई कठिन हुने नेपाली टोली सम्हालिसकेका अमेरिकी प्रशिक्षक पुबुदु दासानायके बताउँछन्। अधिकांश अन्तर्राष्ट्रिय पिचमा बल टर्न र स्विङ भए दिनभरि हुने तर त्रिवि मैदानमा एकै दिनमा पनि अवस्था फेरिने उनको अनुभव छ। यसबारे नेपाल खेल्न आइसकेका विपक्षी टोलीलाई जानकारी नहुने भन्ने हुँदैन। तर, नेपाली बलर यस्तो परिस्थितिलाई कसरी सम्हाल्ने भन्नेमा निपुण रहेको दासानायके बताउँछन्।

“हाम्रा स्पिनरहरू अझै यी विकेटमा सही गति र टर्न खोज्न संघर्ष गरिरहेका छन्। नेपाली स्पिनरहरू भने यी परिस्थितिका गुरु हुन्,” उनी भन्छन्।