काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

खेलकुद

स्वर्णविहीन इतिहास मेटियो, घरेलु मैदानमा हुने १७औँ राष्ट्रपति रनिङ सिल्डमा वर्चस्व कायम गर्ने लक्ष्य

२४ जेष्ठ २०८३
सामूहिक तस्बिर खिचाउँदै पदक विजेता खेलाडी। तस्बिरहरू : प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेश
अ+
अ-

विराटनगर। काठमाडौँको दशरथ रंगशालामा १६औँ राष्ट्रपति रनिङ सिल्ड चल्दै गर्दा प्रदेश खेलकुद विकास बोर्ड कोसीका पदाधिकारीहरूको ढुकढुकी बढिरहेको थियो। कारण हो– बिर्सनलायक इतिहास। अघिल्लो वर्ष सम्पन्न १५औँ संस्करणमा कोसी प्रदेश सात प्रदेशमध्ये सातौँ स्थानमा पुगेको थियो। एउटा पनि स्वर्ण पदक हासिल गर्न नसकी ‘स्वर्णविहीन’ प्रदेशको ‘कलंक’ बोकेर फर्किएका खेलाडी र पदाधिकारीका लागि प्रतिष्ठा जोगाउनुपर्ने चुनौती थियो।

यसपटक २० देखि २२ जेठसम्म ट्र्याक र कभर्ड हलमा चलेको प्रतियोगितामा भने कोसी लयमा फर्किएको मात्र छैन, पदक तालिकाको उकालो यात्रा गर्दै प्रदेश खेलकुदमा नयाँ आशाको सञ्चार गर्न सफल भएको छ। चार स्वर्ण, सात रजत र १७ कांस्यसहित कुल २८ पदक जितेर कोसी पाँचौँ स्थानमा उक्लिएको छ। यो अंकतालिकाको सुधार मात्रै होइन, अघिल्लो वर्षको निराशाबाट बाहिर निस्केर गरेको ‘कमब्याक’ पनि हो।

मेरुदण्डमा मार्सल आर्टस्

यसपटक कोसी सफलताको मेरुदण्ड बन्यो– मार्सल आर्टस्, विशेषगरी कराते। यस विधामा कोसीको प्रदर्शनले राष्ट्रियस्तरमै प्रशंसा पाएको छ। करातेतर्फ स्वर्ण, रजत र कांस्य हरेकमा तीन-तीन गरी कुल नौ पदक जित्दै सात प्रदेशमध्ये कोसी पहिलो बन्न सफल भयो।

१६ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा कोसीका खेलाडी तथा प्रशिक्षक।

करा‍तेको महिला विधामा कोसीले ‘क्लिन स्विप’ नै गर्‍यो। ४५ केजी तौल समूहमा हिरा आले मगर, ५० केजीमा प्रनिशा नेपाल र ५५ केजीमा सशिका आले मगरले स्वर्ण चुम्दा रंगशालामा कोसीको बेग्लै सान देखिएको थियो। मार्सल आर्टस्‌कै अर्को विधा तेक्वान्दोमा यूमी राईले थप एक स्वर्ण दिलाएपछि कोसीको स्वर्ण संख्या चार पुग्यो। पुरुषतर्फ करातेमा प्रमोद राईले दुई रजत तथा निरोज थापा, मानस थापा र पुष्पराज योकपाङ्देनले कांस्य पदक जितेर उत्साह थपे।

गत वर्ष कोसी प्रदेशको प्रदर्शन खस्किएकोबारे खेलवृत्तमा बहस भएको थियो। प्रदेश खेलकुद विकास बोर्डको तत्कालीन नेतृत्व र छनोट प्रक्रियाबारे गम्भीर प्रश्न उठेका थिए। तत्कालीन सदस्यसचिव पर्शुराम बस्नेतको कार्यकालमा प्रदेशका तीन जिल्लाबाट खेलाडीको छनोट हुन सकेको थिएन, जसले गर्दा क्षमतावान् खेलाडी घरमै रहन बाध्य भए।

नयाँ सदस्य-सचिव विप्लव घोष नेतृत्वमा आएपछि बोर्डले प्रतियोगिताका लागि पर्याप्त समय हुने गरी तयारी सुरु गरेको थियो। १४ वटै जिल्ला समेटेर एक हजार ७०० खेलाडीबाट छानिएका उत्कृष्ट ११५ खेलाडीलाई प्रतियोगितामा पठाइएको थियो।

सदस्यसचिव घोष भन्छन्, “विगतको गल्तीबाट हामीले पाठ सिक्यौँ। खेलाडीको मिहिनेत र बोर्डको चुस्त व्यवस्थापनले काम गर्‍यो। यो सफलताले कोसी प्रदेशको खेलकुदमा नयाँ उत्साह थपेको छ।”

पुरस्कारले बढाएको मनोबल

खेलाडीको मनोबल बढाउन कोसी प्रदेश सरकारले पनि यसपटक उदारता देखाएको छ। प्रतियोगितामा जानुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार घोषणा गरेका थिए। सोहीअनुसार पदक विजेता २८ खेलाडीका लागि सरकारले कुल १७ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै छ। स्वर्ण पदक विजेतालाई एक लाख, रजतलाई ७५ हजार र कांस्य विजेतालाई ५० हजार रुपैयाँ दिने सरकारको घोषणा छ। यस्तो लगानीले भोलिका दिनमा खेललाई नै करिअर बनाउन खोज्ने युवाहरूका लागि ऊर्जा प्रदान गर्ने खेलकुदकर्मी बताउँछन्।

पदक जित्ने २८ खेलाडीको नामावली।

नतिजा सुधारिए पनि कोसीको तयारी अझै पर्याप्त नरहेको गुनासो प्राविधिक क्षेत्रबाट आएको छ। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार खेलाडीहरूले पर्याप्त अभ्यासको समय पाएनन्। “१४ जिल्लाबाट छनोट भएका खेलाडीहरूले पर्याप्त बन्द क्याम्पमा बस्न पाएनन्,” कार्की भन्छन्, “छनोट भएलगत्तै रातारात काठमाडौँ जानुपर्ने बाध्यता बन्यो। यदि केही हप्ता मात्रै राम्रोसँग अभ्यास गर्न पाएको भए पदकको संख्या अझै बढ्ने निश्चित थियो।”

प्राविधिक जनशक्तिको अभावले पनि समस्या भइरहेको बताउँदै नेपाल कराते महासंघ कोसीका सचिव राम लिम्बू प्रदेशले आफ्नै प्रशिक्षक राख्नुपर्ने सुझाव दिन्छन्। “अहिले सबै प्रशिक्षकहरू राष्ट्रिय खेलकुद परिषद्का छन्। प्रदेशले स्थानीय तहदेखि नै आफ्नै प्रशिक्षक र प्राविधिक कर्मचारी राख्नुपर्छ,” उनी थप्छन्, “जुन खेलमा बढी पदक आउने सम्भावना छ, त्यहाँ सरकारले विशेष लगानी गर्नुपर्छ।”

आफ्नै आँगनमा परीक्षा

प्रतियोगिताको १७औँ संस्करण कोसी प्रदेशमै आयोजना हुँदै छ। आगामी १९ देखि २२ फागुनसम्म घरेलु मैदानमा चल्ने प्रतियोगितामा कोसीलाई पाँचौँ स्थानबाट उत्कृष्ट तीनभित्र छिर्नुपर्ने दबाब र अवसर दुवै छ।

१७ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी।

बागमती प्रदेशले २२ स्वर्णसहित आफ्नो वर्चस्व कायम राखेको छ भने सुदूरपश्चिम १९ र लुम्बिनी १२ स्वर्णसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। गण्डकी पाँच स्वर्णसहित चौथो स्थानमा छ। १७औँ संस्करणमा कोसीले गण्डकीलाई उछिनेर अगाडि बढ्ने लक्ष्य राखेको छ।

“कोसी प्रदेशको खेलकुदमा देखिएको यो सुधार सुखद संकेत हो। शून्य स्वर्णको नमीठो इतिहास मेट्दै चार स्वर्णसहितको पुनरागमनले प्रमाणित गरेको छ कि यदि सही नेतृत्व, पारदर्शी छनोट र पर्याप्त लगानी हुने हो भने खेलाडीले परिणाम दिन सक्छन्,” नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्की भन्छन्, “तर, अबको यात्रा कराते र तेक्वान्दोमा मात्र सीमित हुनु हुँदैन। एथलेटिक्स, भलिबल, कबड्डी र उसु जस्ता खेलहरूमा पनि कोसीले आफ्नो पकड जमाउन आवश्यक छ।”