काठमाडौँ। द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ।
नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति २५ जेठसम्म छ।
मिस नेपाल २०२६ को ग्रान्ड फिनाले १६ साउन २०८३ पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ। ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
मिस नेपाल २०२६ का लागि योग्यता मापदण्डअनुसार सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्छ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ। विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डको साथ आवेदन दिन सक्नेछन्। दर्ता निःशुल्क छ।
यस वर्षको प्रतियोगिताबाट तीनजना विजेता घोषणा गरिनेछन्- मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेसनल। द हिडन ट्रेजरले कज्यारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्ष प्रायोजक तथा नटराज ज्वेलर्सलाई सह-प्रायोजकका रूपमा भित्र्याएको छ। नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनर पनि हो।
मिस नेपालको खोज देशका विभिन्न सहरहरू- विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिने भएको छ। साथै यस अवधिमा काठमाडौँका १० कलेजमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ।
अन्तिम अडिसन २९ जेठमा काठमाडौँमा हुनेछ। छनोट भएका प्रतिस्पर्धीले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।
