काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

अनुभूति

हाइवेमा सरर बाइक चलाउँदा केटीहरूको हाउभाउ नै बेग्लै

९ जेष्ठ २०८३
अ+
अ-

पहिलो दुर्घटना

हामी दन्त्यकथामा सुन्थ्यौँ, महिलाहरू कुचो चढेर उडेको कुरा। वास्तविक जीवनमा सवारीसाधन चलाउन नसिकेर वर्षौंवर्ष परनिर्भर भयौँ। कथाअनुसार यात्रा गर्न होस् या युद्धमा जाँदा, आखिर महिलाले नै पहिले वाहनको प्रयोग गरेका रहेछन्।

भन्छन् नि, मान्छेलाई नयाँ काम गर्न अवसर र आवश्यकता दुवैले एकैचोटि छोप्नुपर्छ। हामी पनि आफैँ बाइक चलाउन तयार भयौँ।

म सेप्टेम्बर २०१० देखि फेब्रुअरी २०१५ सम्म ‘रुम टु रिड’ संस्थामा वरिष्ठ कार्यक्रम अधिकृत र जिल्ला संयोजकको भूमिकामा काम गर्थें। बर्दिया जिल्लामा बालिका शिक्षा कार्यक्रम, पुस्तकालय र विद्यालय भवन निर्माण कार्यक्रम जस्ता कामको नेतृत्व गर्ने अवसर पाएकी थिएँ। मसहित महिला साथीहरू कार्यक्रम अनुगमनको सिलसिलामा विभिन्न ठाउँमा गइरहनुपर्थ्यो। यसरी हिँड्दा पुरुष साथीहरूको बाइकमा लिफ्ट पाउने समय मिलाउनुको विकल्प थिएन। केन्द्रीय कार्यालयले नै फिल्डमा बाइकवाला सहकर्मीसँग समन्वय गरी जानू भनेको थियो। तर, कहिलेकाहीँ पुरुष साथीहरू र हाम्रो फिल्ड नमिल्दा अबर पर्थ्यो। कि कार्यक्रम स्थगित कि त अर्को सवारीसाधनको बन्दोबस्त गर्नुपर्थ्यो।

हामी महिला कर्मचारीलाई फिल्ड अनुगमनमा असजिलो भएपछि बाइकको माग राख्यौँ। जिल्लामा तीन वटा बाइक आयो। एउटा गियरवाला यामाहा स्कुटर पहिल्यैदेखि जिल्लामै थियो जुन म कहिलेकाहीँ मात्रै चलाउँथेँ।

आँखाले शुभश्री होटलको नाम खोजिरहेको थियो। होटल देख्नेबित्तिकै स्पिड कम नगरी झ्याप्पै ब्रेक लगाएछु। ८० को स्पिडमा झ्याप्प रोक्न खोज्दा बिजुलीको पोलनजिकै हामी दुवै पछारियौँ। 

हामी महिला कर्मचारीले पुरुष साथीहरूसँग नयाँ बाइक चलाउन सिकेर लाइसेन्स पनि निकाल्यौँ। सन् २०१२ मा स्टाफ थपिएसँगै अरू बाइक थपिए। स्कुटरसहित बालिका शिक्षा कार्यक्रमलाई ६ वटा बाइक छुट्याएका थियौँ। एउटा अग्लो यामाहा बाइक पनि थियो।

म प्रायः होचो स्प्लेन्डर चलाउँथेँ। अरू महिला साथीमध्ये कसैले बाइक त कसैले स्कुटर रोजे। बाइक होस् या स्कुटी, मलाई स्पिड हाँक्न मन पर्ने, बेस्कन गुडाउँथेँ। झन् चिल्लो पिचरोड पाएपछि त उडाउने भइहालेँ। हामी केटीहरू सजिलो र फिलिली गुड्न पिच रोड रोज्थ्यौँ। बरु, बाटो लामो नै किन नहोस्। सर्टकर्ट अफरोड गुडेर पेट्रोल बचाउनु थिएन, हामीलाई आरामदायी यात्रा चाहिन्थ्यो। हाइवेमा सरर बाइक चलाउँदा केटीहरूको हाउभाउ नै बेग्लै। सबैको अनुहारमा हामी महिला पुरुषभन्दा के कम भन्ने आत्मविश्वास झल्कन्थ्यो।

जंगलको बाटोमा असुरक्षित महसुस हुने भएकाले प्रायः बाइकको गति ८० माथि नै हुन्थ्यो। एकदिन म र तृप्ति चौधरी पूर्व-पश्चिम हाइवेमा बाँसगढीबाट भुरीगाउँसम्मको यात्रामा निस्केका थियौँ। त्यसदिन पनि मेरो स्पिड उस्तै तीव्र थियो। हाम्रो कार्यक्रमन्तर्गत एसएलसी दिने छात्राहरूलाई ट्युसन/कोचिङ पढाइन्थ्यो। तिनैमध्ये भुरीगाउँको ट्युसन सेन्टरमा बस्नका लागि एक जना छात्रालाई सिरक-डसना पुर्‍याउनुपर्ने थियो। बाँसगढीमा सिरक-डसना किनेर बाइकमा कसकास गर्‍यौँ।

भुरीगाउँ प्रवेश गर्नेबेलासम्मै बाइकको गति तीव्र थियो। आँखाले शुभश्री होटलको नाम खोजिरहेको थियो। होटल देख्नेबित्तिकै स्पिड कम नगरी झ्याप्पै ब्रेक लगाएछु। ८० को स्पिडमा झ्याप्प रोक्न खोज्दा बिजुलीको पोलनजिकै हामी दुवै पछारियौँ। बाइक एकातिर, सिरक-डसना अर्कातिर।

बाइक चढ्नासाथ दुर्घटना हुनुअघिको आफ्नो गल्ती नसम्झने होइन। फेरि त्यस्तै गल्ती आइन्दा गरिन्न भन्ने लाग्छ। तर गल्तीका रूप अनेक हुने, अनुमान लगाउनै पो नसकिने रहेछ।

होटल सञ्चालक भाइले कुद्दै आएर कराउनुभयो, ‘ए दिदी! कस्तो खालको बाइक हँकाइ हो तपाईंको? अलिकतिले पोलमा ठोक्किनबाट जोगियो। ठोक्किएको भए ऐया भन्न नि पाउनुहुन्थेन होला।!’

ती भाइको कुरा सुनेपछि पो मेरो सातोपुत्लो उड्यो। परिवार-आफन्त सबैको अनुहार झलझली सम्झिएँ। धन्न ज्यान जोगियो भनेर चित्त बुझाइयो। तृप्तिजीलाई केही नभएकाले म ढुक्क भएँ। मेरो जुत्ताको दाहिनेपट्टिको भाग घस्रिँदा औँला भएतिर दुलो परेछ। जिन्सको पेन्ट सडकमा घिस्रिँदा दुई ठाउँ भ्वाङ पर्‍यो।

दोस्रो दुर्घटना

म विपना खरेललाई बाइकको पछाडि राखेर बगनाहा फिल्डतर्फ हुइँकिएकी थिएँ। भारत सरकारको सहयोगमा विस्तार हुँदै गरेको त्यो धुले तर ठूलो बाटोमा पनि घटीमा ५० को स्पिड त हुन्थ्यो नै। फराकिलो रोडमा पनि बाइक नहाँक्नु त खोलामा गएर पनि तिर्खा मेटिन्युजेल पानी नपिउनु जस्तै बेमजा लाग्छ। त्यसो त बाइक चढ्नासाथ दुर्घटना हुनुअघिको आफ्नो गल्ती नसम्झने होइन। फेरि त्यस्तै गल्ती आइन्दा गरिन्न भन्ने लाग्छ। तर गल्तीका रूप अनेक हुने, अनुमान लगाउनै पो नसकिने रहेछ।

ग्राभेल गरेर मजाले पेलिएको सडक भए पनि वर्षाको पानीले ठाउँ ठाउँमा खाल्डाखुल्डी थिए। कतिपय ठाउँमा खाल्डो त धुलोले पुरेर थाहा नहुने। सोच्दै नसोची बाइक खाल्डामा परेर लडिने। बाटो राम्रै होला लाग्दालाग्दै ड्वाङ्‌ग्राङ्‌ङ लड्दा मात्र पो खाल्डो रहेछ भन्ने थाहा हुन्थ्यो। त्यहाँ कल्भर्ट बन्ने क्रममा थियो। बाइक ५० कै स्पिडमा थियो। हल्का ओरालोमा बाइकको सन्तुलन बिग्रिँदा धुलोले छोपिएको कल्भर्टको खाल्डोमा पल्टियौँ।

कहाँ छु, के भएको भन्ने पत्तै पाइनँ। ‘मलाई उठाओ’ भन्न लागेकी थिएँ, माटोमा ख्वाप्पै मुन्टो गाडिएको रहेछ। त्यो अवस्थामा बोल्न खोज्दा मुखभरि माटो पस्ने हुनाले नबोली चटपटाउन थालेँ। उनीहरूको झन् सात्तो गएछ।

विपना ‘ऐया ऐया, मरेँ मरेँ’ भन्न थालिन्। उनलाई देखेर मेरो सातो गयो, ‘ला! मारी पो पठाएछु कि क्या हो?’ चिटचिट पसिना छुट्यो। म त अक्क न बक्क, आइया न आत्था भएँ। केही बेरमै बाइकवालाहरू जम्मा भएर हामीलाई उठाए। चोटपटक लागे/नलागेको सोधपुछ गरे। हामी धुलाम्मे थियौँ। आँखा झिमझिम गरेको मात्र देखिन्थ्यो। विपनालाई बाइकले थिचेर पाखुरा र ज्यान दुख्ने भएको रहेछ। उनी केही समयसम्म ‘ऐया ऐया’ गरिरहिन्। म भने थुरथुर कामिरहेँ।

सबैले सोधे, ‘बाइक चलाउन सक्नुहुन्छ?’

मैले भनेँ, ‘सक्छु।’

विपना डराईडराई पछाडि बसिन्। मैले पनि सुस्त गतिमा बाइक चलाएँ। साँझमा गुलरिया पुग्यौँ।

तेस्रो दुर्घटना

यस्तै अर्काे फिल्ड ट्रिपमा अफिसकी साथी धना ओडसँग गुलरियाबाट करिब आठ किमि टाढा नेपाल राष्ट्रिय मावि पुग्नु थियो। त्यसबेला म त्यही गियरवाला यामाहा स्कुटीमा थिएँ। केही दिनअघि परेको पानीका कारण सडक हिलै थियो। ट्र्याक्टर गुड्ने भएकाले बाटो पानी लान खनिएका दुई राजकुलो जस्तो थियो। बीचमा अग्लो डिल थियो। हामी गफिँदै थियौँ र स्कुल पनि पुग्ने बेला हुँदै थियो। गफको सुरमा हिलोमा स्कुटरको चक्का झ्याम्मै खस्दा पुर्लुक्कै लड्यौँ। धनाले ‘ऐयाआत्थु’ गरिन्। म भुइँमा चित खाएर लडिरहेँ। सास फुलिरहेको थिए। अलि ध्यान नदिएकाले साथीलाई लडाएँ भन्ने लाग्यो। केहीबेरपछि स्कुटी उठाएर स्कुलतर्फ लाग्यौँ।

चौथो दुर्घटना

नयाँ स्टाफले पदभार सम्हाल्नेबित्तिकै बाइक चलाउन उक्साइहाल्थेँ। बिचरा साथीहरू पनि लर्‍याङलर्‍याङ गर्दै चलाउन खोज्थे। म आफैँ नयाँ साथीहरूलाई चढाएर यताउता गर्न सहयोग गर्थें। सन् २०१३ तिर उषा जोशी बालिका शिक्षा कार्यक्रममा नयाँ स्टाफका रूपमा थपिनुभयो।  उहाँ आएको पहिलो दिनम अफिस छुट्टी भएपछि मैले होटल पुर्‍याउन खोजेँ। निकै वजनदार उहाँ चढ्न खोज्दा बाइक नै लर्कियो।

हाइवेमा सरर बाइक चलाउँदा केटीहरूको हाउभाउ नै बेग्लै। सबैको अनुहारमा हामी महिला पुरुषभन्दा के कम भन्ने आत्मविश्वास झल्कन्थ्यो।

अफिसबाट २५/३० मिटर नकुद्दै टर्निङ आयो, म कुदाउने मान्छे लिरलिर हल्लिँदा उषाजीलाई ड्याम्मै लडाएँ। उहाँले अफिस सुरु गरेकै दिन दुर्घटना भएकामा ग्लानि पनि भयो। धन्न उहाँलाई केही भएन। उहाँ पछिसम्म पनि बाइक चढ्न डराउनुभयो। बालिका शिक्षा कार्यक्रमबाहेक अन्य कार्यक्रमका लागि फिल्ड जाँदा पुरुष सहकर्मीहरूलाई पनि बाइकमा राख्थेँ। उनीहरू प्रायः बाइक हाँक्दैनथे। चन्द्रप्रभा कोइराला लाइब्रेरी (पुस्तकालय) कार्यक्रम हेर्नुहुन्थ्यो। उहाँलाई मैले नै बोक्ने जिम्मा लिए जस्तो भएको थियो। फिल्ड जाँदा चन्द्रप्रभाजीलाई मैले नै बोक्नुपर्ने अर्थात् उहाँको छनोटमा जहिल्यै म पर्थें। मैले सबैलाई लडाएको थाहा हुँदाहुँदै चन्द्रप्रभाजीको रोजाइको बाइक राइडर मै भएँ।

एकदिन ‘गुड फ्राइडे’ मनाउन हामी दुई बहिनी लुसुक्कै कुखुराको पकवान खान कृष्णसार नजिकको खाजा पसल पुग्यौँ। समूहमा खान गए जस्तो रौनक चाहिँ भएन। त्यही रेस्टुराँबाट १५० मिटर जति दूरीमा नेपाल राष्ट्रिय मावि थियो। त्यस विद्यालयको चोकमा डल्ला डल्ला ससाना ढुंगाहरू थिए। बाइक स्पिडमै रहेकाले नियन्त्रण गुमाउँदा चन्द्रप्रभाजीलाई लडाएँ, उहाँको औँलामा चोटसमेत लाग्यो। पाखुराहरू केही दिनसम्म चलाउन मिलेन। क्लिनिकमा उपचार गराउनुभयो, केही दिन त पेनकिलर नै खानुपर्‍यो।

पाँचौँ दुर्घटना

मेरो बाइकपछाडि विपना र जमुना बसेका थिए। अरू सवारीसाधन नपाउने र दिउँसोको टन्टलापुर घामले गर्दा बाइकमा ‘त्रिपल लोड’ हुइँकिएका थियौँ। राजापुरको गर्मीमा जति स्पिड उत्ति नै शीतल। गफिँदै, बतासिँदै ट्राफिकलाई छल्दै बजारसम्म आयौँ। भित्री बाटो हुँदै जमुनाको घर पुग्न कर्णाली नदीको तीरपट्टि लाग्यौँ। नदीको तीरैतीर डुल्यौँ। छेदिया गाउँभरि बाइकमै कुद्‌यौँ। जमुनाको घर फर्किने क्रममा एक ठाउँमा गियर डाउन नै नगरी टर्निङ लिँदा झ्याम्मै नालीमा झर्‍यौँ। त्यहाँ लहलह झार थियो। केही महिनाअघि मात्रै नाली बनाएकाले माटाको सतह कडा थिएन। साँझपखको समयमा हामीलाई कसले देख्ने? उनीहरू जसोतसो उठेछन्। म भने उँधोमुन्टो गाडिएर उभिन्डो भएछु। दुई बहिनीले ‘दिदी सकिइन्’ भन्ठानेर मलाई नछोई बसेछन्। यताउता मान्छे हेर्न थालेछन्। कोही नभेटिएपछि नजिक आएर श्वास चलेको वा नचलेको पत्ता लगाउन मेरो टाउकोनेर तिनका टाउको जोडेर सुनेछन्। धन्न! मेरो धड्कन चलिरहेको रहेछ। ‘दिदी! दिदी!’ भन्दै बोलाएपछि मैले ‘हुँ’ गरेछु।

मेरो होसले काम गरेको थिएन। कहाँ छु, के भएको भन्ने पत्तै पाइनँ। ‘मलाई उठाओ’ भन्न लागेकी थिएँ, माटोमा ख्वाप्पै मुन्टो गाडिएको रहेछ। त्यो अवस्थामा बोल्न खोज्दा मुखभरि माटो पस्ने हुनाले नबोली चटपटाउन थालेँ। उनीहरूको झन् सात्तो गएछ। उठ्ने प्रयासमा निकैबेर चटपटाएछु। मुन्टो उठाउने कोसिस गरेँ, सकिनँ। बल्ल दुई बहिनीले मलाई उठाए। अनुहार, आँखाको माटो टकटक्याउन सघाए। त्यसपछि बल्ल बोलेँ।

उनलाई थाहा थियो, मैले निगारले तिर्खा मेटाएको कुरा। त्यसैले बिस्तारै ख्याल गरेर हाँक्नुस् न भनेकी थिइन्। तर, जाँडरक्सीको कर्मै त्यस्तो, कहिल्यै जस नपाउने।

साँझ ढल्यो, रात पर्न थाल्यो। एक जना भाइ त्यही बाटो हुँदै आइरहेका थिए। नालीबाट बाइक बाहिर निकालेर उनैले हाँकेर जमुनाको घरसम्म पुर्‍याइदिए। म भने सबैजना सकुशल रहेकामा र बाइक पनि क्षति नभएकामा खुसीले हाँसेँ। दुई बहिनी मेरो हाँसोमा मौनता साँधेर यस्तो घटना हुँदा पनि तपाईं हाँस्ने भन्दै थिए। केहीबेरपछि जमुनाको घरमा पुग्यौँ, खाना खायौँ। विपना आफ्नो कोठामा बसिन्। म होटलतर्फ लागेँ।

छैटौँ दुर्घटना

मैले तृप्ति, धना, उषा, चन्द्रप्रभा, विपना र जमुनालाई बाइकबाट लडाएकी रहेछु। तीमध्ये विपनालाई धेरै लडाएँ।

एक पटक विपना र म राजापुर फिल्डमा बालिका शिक्षा कार्यक्रमको छात्रवृत्ति कार्यक्रमका लागि बालिका छनोट गर्न गाउँतिर निस्कियौँ। तालु पोल्ने गर्मीमा पानी खान माग्दा मलाई स्थानीय थारू समुदायकी दिदीले निगार पो दिइन्, मैले नि पिइदिएँ। त्यसपछि ऊर्जासहित बाइक गुटुङटुङ हाक्न थालेँ। एक्कासि बाइक चिप्लियो र विपनालाई लडाइहालेँ।

‘दिदी पनि कसरी हाँक्नुहुन्छ हौ!’

उनलाई थाहा थियो, मैले निगारले तिर्खा मेटाएको कुरा। त्यसैले बिस्तारै ख्याल गरेर हाँक्नुस् न भनेकी थिइन्। तर, जाँडरक्सीको कर्मै त्यस्तो, कहिल्यै जस नपाउने। आखिर नपिएर पनि मान्छेले कैयौँ गल्ती त गरेकै हुन्छन्।

सातौँ दुर्घटना

नेपाल राष्ट्रिय माविमा बेलुका अबेरसम्म कार्यक्रम चलाएर फर्किंदै गर्दाको कुरा हो। टाढाको दृश्य नदेखिने साँझको समय। नजिकको लाइट फोकस गरेर हिँडेको हाम्रो बाइकको गति सामान्य नै थियो। विपरीत दिशाबाट भैँसीगाडा लडिया आउँदै रहेछ। गाडामा न बत्ती हुन्छ, न त हर्न नै। हामीले कसरी चाल पाउनु यमराजको सवारी! झ्याम्मै लडियासँग ठोक्किई त गयो। लडियाको मान्छे र सामानलाई केही भएन। त्यहीँ छेउमा गहिरो पैनी बगिरहेको थियो। त्यसमा कथंकदाचित् खसेको भए हामी सबै मान्छे र दुई भैँसीको प्राण चट् हुन सक्थ्यो। अहिले पनि त्यो घटना सम्झँदा आङ जिरिङ्‌ङ हुन्छ। धन्न बाच्यौँ सबै जना।

आठौँ दुर्घटना

२७ सेप्टेम्बर २०१४। त्यसबेला फिल्डको सबै कार्यक्रम मेरो नेतृत्वमा थियो। त्यही सालको भीषण बाढीले परियोजनामा क्षति पुगेकाले संस्थाले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो। परियोजना पुनः कार्यान्वयनको बेला म लगातार काममा व्यस्त हुनुपर्‍यो। कामको धपेडी र खानपानको उचित समय नमिल्नाले थकित थिएँ। कामविशेषले एक्लै हिँडेको बेला बाइक चलाउँदा चलाउँदै होस हराएछु। बाइक लडेर दाहिने खुट्टाको पैताला चक्काभित्र घुम्दा म हुरुक्कै भएँ। दिउँसो प्रचण्ड गर्मीमा मानिसको आवतजावत खासै नहुने। धन्न मैले खाना खाने होटेलको कमल श्रेष्ठ भाइले उद्धार गरे। उनले मलाई बर्दिया जिल्ला अस्पताल पुर्‍याएका थिए। नजिकमा घर भएका एड्मिन स्टाफ प्रजेश ठकुराठीलाई मैले कल गर्न लगाएँ। उनैले सबै सम्बन्धितलाई जानकारी गराए।

बेलुका अस्पतालबाट डिस्चार्ज भएँ, तर खुट्टा दुखाइ कम भएन। केन्द्रीय कार्यालयका अपरेसन डाइरेक्टर र सुपरभाइजर राजभाइ शाक्यसँग उपचारका लागि काठमाडाैँ जान अप्रोभल लिएँ। भोलिपल्ट ५ बजे बेलुका यती एयरलाइन्सको टिकट लिएँ ।

जीवनको उत्तरार्धमा मेरा सहकर्मीहरूलाई सम्झने मेसो पनि तिनै दुर्घटना भएको छ। उहाँहरू जहाँ-जुन अवस्थामा भए पनि ती घटना सम्झिँदा एकचोटि ओठमा मुस्कान अवश्य आउँदो हो। साथ छुटे पनि आखिर मान्छेलाई साथ दिइरहने यिनै सम्झना त रहेछन्।

प्रोजेक्टलाई बाढीले क्षति पुर्‍याएकाले अधिकांश पुस्तकालय कार्यक्रम पुनः कार्यान्वयनको चरणमा थियौँ। कामको चापाचाप थियो। काठमाडौँ हिँड्ने दिन धेरै कागजात मिलाउने र थुप्रै चेकका पन्नामा साइन गर्दागर्दै एयरपोर्ट जान अलि ढिला भयो। खाना खान फेरि पनि भ्याइएन। यत्तिकै रिजर्भ गाडी चढेँ। बाटोमा पर्ने मैनापोखरी पुगेपछि म चढेको स्कार्पियोलाई प्रहरीचौकीले नियन्त्रणमा लियो। नसोचेको आपत् आइपर्‍यो। त्यस गाडीले अघिल्लो दिन ट्राफिक नियम उल्लंघन गरेको रहेछ। ड्राइभर अली खान आत्तिए। गाडीधनीसँग कुरा गरेपछि प्रहरीले गाडी त छोड्यो, तर म एयरपोर्ट पुग्दा प्लेन उडिसकेको रहेछ। प्लेनसँगै मेरो पैसा पनि हावामै उड्यो।

अन्तिम फ्लाइट बुद्ध एयरको थियो, त्यसको पनि सिट प्याक रहेछ। अनुनयविनयपछि मेरो अवस्था देखेर एक मानवधर्मीले आफ्नै सिट छोडिदिए। फेरि उडान खर्च भरेर साँझमा उड्न पाएँ।

भोलिपल्टदेखि बीएन्डबी अस्पतालमा उपचार सुरु भयो। दुई महिनासम्म बेडरेस्ट। घरबाटै अफिसका काम गरेँ। एक वर्ष पूर्ण रूपमा बैसाखी टेकेँ।

त्यति धेरै दुर्घटना हुँदा मेरो बाइकले पनि कम्ता सास्ती भोग्नु परेन। लामो समय अस्पताल भर्ना भएपछि मैले पनि बाइकलाई दुःख दिन लगभग छोडिदिएँ।

बाइक हँकाइका क्रममा पाएका त्यतिबेलाका दुःखहरू मेरा लागि घटना मात्रै होइनन्। ती एकेक क्षण अविस्मरणीय स्मृति बनेर मनमा बसेका छन्। जीवनको उत्तरार्धमा मेरा सहकर्मीहरूलाई सम्झने मेसो पनि तिनै दुर्घटना भएको छ। उहाँहरू जहाँ-जुन अवस्थामा भए पनि ती घटना सम्झिँदा एकचोटि ओठमा मुस्कान अवश्य आउँदो हो। साथ छुटे पनि आखिर मान्छेलाई साथ दिइरहने यिनै सम्झना त रहेछन्।