आवरण
ताता दिनहरूको मात्रा र अवधि बर्सेनि बढिरहँदा जनस्वास्थ्यदेखि जीविकोपार्जनसम्ममा असर
पछिल्लो एक महिनामै सरकारले तातो दिन तथा तातो लहरको खतरासम्बन्धी तीन वटा ‘विशेष बुलेटिन’ जारी गर्यो। जल तथा मौसम विज्ञान विभागले ७ वैशाख, ११ वैशाख र ८ जेठमा यस्तो बुलेटिन जारी गरेको हो। गत वर्षको गर्मी याममा भने यस्तो बुलेटिन दुई पटक मात्र जारी गरिएको थियो।
यसपालि जारी गरिएका तीनवटै बुलेटिनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भएर तातो हावाको लहर चल्ने सम्भावना देखिएकाले सावधानी अपनाउन त्यस क्षेत्रका बासिन्दालाई सचेत गरिएको थियो। हुन पनि ११ जेठमा नेपालगन्जको २४ घण्टाको अधिकतम तापक्रम हालसम्मकै उच्च ४२ डिग्री सेल्सियस मापन भएको थियो। त्यसयता त्यहाँको अधिकतम तापक्रम ४१.५ डिग्री सेल्सियसमुनि ओर्लिएकै छैन।
अहिले नेपालगन्जसहित तराई-मधेस र पहाडी भेगका केही स्थानमा गर्मी र तातो हावाले जनजीवन आक्रान्त पारेको छ। जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढी हुने आकलन गरेको छ। यतिबेला प्रि-मनसुनमै उखरमाउलो गर्मी भइरहेकाले यस वर्षको खास गर्मी त आउन बाँकी नै छ। वातावरण विज्ञानका अनुसन्धाता उत्तमबाबु श्रेष्ठ भन्छन्, “अहिले त गर्मी याम नै भयो, योभन्दा चर्को गर्मी आउँदै छ। आगामी जुन र जुलाईमा अत्यधिक गर्मी हुने देखिन्छ।”
मौसमविद् सरोज पुडासैनीका अनुसार सामान्यभन्दा धेरै तापक्रम बढेको अवस्थालाई ‘हिट वेभ’ (अत्यधिक गर्मी) भनिन्छ। धेरै गर्मी भएको दिनलाई तातो दिन भनिन्छ। लगातार तीन दिन वा सोभन्दा बढी समयसम्म तातो दिन रहेमा यसलाई तातो हावाको लहर अर्थात् ‘लू’ भनेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले परिभाषित गरेको छ। पुडासैनी भन्छन्, “एकै तापक्रम मापन केन्द्रमा तीन दिनसम्मको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी यथावत् रहेमा त्यस क्षेत्रमा ‘लू’ चलेको मानिन्छ।”
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल तातो दिन तथा ‘लू’ विशेषगरी प्रि-मनसुनमै देखिने बताउँछिन्। मनसुन सुरु भएपछि वर्षा भएर गर्मी घट्दै जाने मान्यता राखिन्छ। तर, पछिल्ला वर्षमा नेपालमा लामो समय अत्यधिक तातो हावाको प्रभाव बढी देखिन थालेको छ। मनसुन सुरु भएपछि पनि लामो समय वर्षा नहुने कारणले गर्मी बढ्छ। जलवायु परिवर्तनको प्रभावले अप्रत्याशित मौसमी प्रणाली विकास हुँदा गर्मीको मात्रा र अवधि बर्सेनि बढ्दै गएको छ। “गर्मी पहिले पनि हुन्थ्यो, अहिले जलवायु परिवर्तनले गर्मीको मात्रा र अवधि दुवै बढाएको छ,” पोखरेल भन्छिन्, “गर्मी याममा ताता दिनहरू बढ्न थालेका छन्।”

काठमाडौँको भद्रकाली-सिंहदरबारस्थित सडक पेटीमा घामले गर्मी भएपछि छाता ओढेर आफ्नो गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण। तस्बिर : रासस
मौसम विभागको अभिलेखअनुसार सन् २०२४ भरि ५० दिन अत्यधिक तातो दिनका रूपमा रेकर्ड भएका थिए। ती दिनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि थियो। जसले तराई क्षेत्रको जनजीवन प्रभावित बनाएको थियो। यस्तै, सन् २०२५ मा मार्चदेखि जूनसम्म तराईका धेरै तापक्रम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियभन्दा माथि पुगेको थियो। उक्त वर्ष २२ दिन अत्यधिक तातो दिनका रूपमा रेकर्ड भए।
तीन दशकअघि अहिलेसम्मकै बढी अधिकतम तापक्रम मापन भएको थियो। ५ जून १९९५ (२२ जेठ २०५२) मा सबैभन्दा बढी धनगढीमा ४६.४ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको अभिलेख छ।
बहुआयामिक असर
ताता दिनहरू बढ्न थालेपछि आमजनजीवन कष्टकर बन्दै गएको छ। ज्यान सेक्ने गर्मीले जनस्वास्थ्य, शिक्षा, कृषि, पशुचौपाया, वातावरण, रोजगारी र सार्वजनिक पूर्वाधारमा असर थपेको छ। जटिल भू-बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनका कारण बहुप्रकोपको दृष्टिकोणबाट अति संवेदनशील मुलुक मानिने नेपालका नागरिकलाई एक दशकयता तातो हावाले पार्ने असरको बोझ थपिएको छ।
तातो हावा र उखरमाउलो गर्मीका कारण महिला, बालबालिका, जेष्ठ नागरिक र बाहिरी क्षेत्रका कामदार बढी सकसमा पर्छन्। मानवीय पाटोमा हुने असर त छँदै छ, यसपालि देशैभर सरदर तापक्रम वृद्धिको सम्भावना रहेकाले उच्च हिमाली भेगमा हिमताल विस्फोटन, पहाडमा खडेरी र तराई-मधेसमा अत्यधिक गर्मीको जोखिम छ।

अत्यधिक गर्मीले जनस्वास्थ्यमा असर पार्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार अत्यधिक गर्मीले शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, बेहोस हुने, बान्ता हुने, मुटुको चाल तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, खुट्टा बाउँडिने, चक्कर आउने, मांसपेसी दुख्ने, छाला सुक्खा र रातो हुने, जलवियोजन, ऐँठन र ‘हिट स्ट्रोक’ जस्ता समस्या निम्त्याउँछ। ‘हिट स्ट्रोक’ भनेको गर्मीका कारण शरीरको तापक्रम अत्यधिक भएर तापक्रम नियन्त्रण गर्ने प्राकृतिक प्रणालीले काम नगर्नु हो।
अत्यधिक गर्मीका कारण हुने तनावले दम, मुटुको रोग, मानसिक समस्या, मिर्गौला रोग जस्ता दीर्घरोगीमा मृत्युको खतरासमेत बढाउँछ। सन् २००० देखि २०१९ सम्मका अध्ययनले विश्वभरि बर्सेनि करिब चार लाख ८९ हजार मानिसको मृत्यु गर्मीसँग सम्बन्धित कारणले भएको देखाएका छन्। जसमा ४५ प्रतिशत मृत्यु एसियामा र ३६ प्रतिशत युरोपमा भएका थिए।
वातावरण विज्ञानका अनुसन्धाता श्रेष्ठका अनुसार ‘वेट-बल्ब टेम्प्रेचर’ को सीमा नाघेपछि मानव स्वास्थ्य खतरामा पर्छ। “मानव शरीरले ३७ डिग्री सेल्सियस हाराहारीको गर्मी सहन सक्छ, त्यसमाथिको गर्मीमा पसिना नै निकाल्दैन,” उनी भन्छन्, “यस्तो भएपछि ‘हिट स्ट्रोक’ हुन्छ, मान्छे हिँड्दाहिँड्दै मर्छ।”
‘वेट-बल्ब टेम्प्रेचर’ भन्नाले मानव शरीरले गर्मी सहन सक्ने सीमा हो। मानव शरीरले लामो समयसम्म ३७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सहन सक्दैन।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले वैशाख २०७५ मा प्रकाशन गरेको ‘लू’ को स्वास्थ्य जोखिम शीर्षकको अध्ययनमा नेपालमा सन् २००२ देखि २०१० सम्म (सन् २००८ बाहेक) २५ वटा ‘लू’ चल्दा २५ जनाको मृत्यु र २८० जना प्रभावित भएको गृह मन्त्रालयको अभिलेख उद्धृत गरेको छ। १८ चैत २०७८ मा स्प्रिंगर नेचर अनलाइनमा प्रकाशित ‘नेपालमा जलवायु विपद्को प्रवृत्ति’ शीर्षकको अध्ययनमा सन् १९९१ देखि २०२१ सम्ममा ‘लू’ का कारण ३५ जनाको मृत्यु भएको उल्लेख छ। तर, यस्ता घटनामा रिपोर्टिङ गर्ने प्रणाली नभएकाले यससम्बन्धी सबै विवरण गणनामा नआउने अवस्था छ।

तस्बिर : वीरेन्द्र रमण
यस्तै, अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने हुँदा विद्यार्थीको पढाइमा अवरोध पुग्छ। गर्मीले कक्षाकोठामा बस्न गाह्रो हुने, ध्यान केन्द्रित गर्न नसक्ने र शारीरिक असहजता हुने भएकाले विद्यार्थीको सिकाइ क्षमतामा कमी आउँछ। विशेषगरी प्रशस्त वातानुकूलित कक्षाकोठा नभएका विद्यालयका बालबालिका बढी प्रभावित हुन्छन्। सरकारले बर्सेनि अत्यधिक गर्मीको बेला तराई-मधेशका विद्यालयको पठनपाठन बन्दसमेत गर्दै आएको छ। यसपालि अत्यधिक गर्मी भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १२ र १३ जेठमा नगरक्षेत्रका विद्यालयको पठनपाठन बन्द गरेको छ। यस्तै, कञ्चनपुरकै कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाले पनि ११ जेठदेखि तीन दिनसम्मका लागि नगरक्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द गरेका छन्।
तापक्रम बढ्दा किसानलाई पनि असर पर्छ। अनुसन्धाता श्रेष्ठ गर्मी बढ्दा खडेरीको जोखिम बढ्ने बताउँछन्। पानी कम पर्ने, नपर्ने र भएको पानी पनि सुकिहाल्ने भएकाले तापक्रम वृद्धिले खडेरीको समस्या चर्काउने उनको भनाइ छ। “यसले आकासे पानीमा निर्भर खेती प्रणालीलाई असर गर्छ, उब्जनी घट्छ,” उनी भन्छन्। सिँचाइ नभए पछि बालीनाली सुक्छ, राम्रो फल लाग्दैन। जसले उत्पादन घटाउँछ। गर्मीले बस्तुभाउलाई थकित र रोगी बनाउँछ। गर्भिणी पशुको गर्भ खेर जाने, दूध दिने जनावरको दूध उत्पादन घट्ने, कतिपय अवस्थामा बस्तुभाउ नै मर्नेसम्मको खतरा हुन्छ।
चर्को गर्मीले घर संरचना कमजोर भएका निम्न आय भएका समुदायलाई बढी सकस पार्छ। टिन र जस्तापाताको छानो वा घेराबार भएका घरभित्र अत्यन्तै तातो हुन्छ।
गर्मीले सडक, पुल र भवन नै चिरा पर्ने र कालोपत्रे सडक नै पग्लिएर उप्किने हुन्छ। लामो समयसम्म चल्ने अत्यधिक गर्मीका घटनाले पानी र बिजुली प्रणालीमा दबाब बढेको २५ वैशाख २०८३ मा संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालयले जारी गरेको अध्ययनमा उल्लेख छ। गर्मीले विद्युत् र पानीको माग बढाउँछ, क्षमताभन्दा बढी माग हुँदा आपूर्ति प्रणालीमै अवरोध सिर्जना हुन्छ।
गर्मीले सुक्खापन बढाउने हुँदा आगलागी र वनमा डढेलोको जोखिम पनि बढ्छ। नेपालमा सन् २०१६, २०२१ र २०२४ मा धेरै आगलागी र डढेलोका घटना हुनुमा तापक्रम वृद्धिको भूमिका रहेको अनुसन्धाता श्रेष्ठ बताउँछन्।
महिलालाई दोहोरो मर्का
अधिक गर्मीले महिलाको स्वास्थ्य, दैनिक जीविकोपार्जन र आर्थिक स्थितिमा गम्भीर संकट निम्त्याइरहेको अध्ययनहरूले देखाएका छन्। विशेषगरी, गर्भवती र बाहिरी क्षेत्रमा काम गर्ने मजदुर सबैभन्दा बढी जोखिममा छन्। श्रमिक महिलाले एकातिर कार्यस्थलमा गर्मी सहेरै काम गर्छन्, घर फर्केपछि खाना पकाउने, सरसफाइ र हेरचाहका जिम्मेवारी पनि सम्हाल्नुपर्छ। धेरैजसो महिलाले ‘लू’ सम्बन्धी पूर्वसूचना र आवश्यक जानकारी नपाउँदा स्वास्थ्य समस्या र आर्थिक बोझ थपिएको छ।

२९ फागुन २०८१ मा टेलर एन्ड फ्रान्सिस अनलाइनमा प्रकाशित ‘तातो हावाको लहरले गर्भावस्थामा पारेको प्रभाव’ शीर्षकको अध्ययनले जलवायु परिवर्तन र बढ्दो तातो हावाको लहरले विशेषगरी गर्भवती र बालबालिकालाई असर पारेको उजागर गरेको छ। नेपाल जस्ता कम आय भएका देशमा अत्यधिक तापक्रमका कारण समय नपुगी बच्चा जन्मने जोखिम उच्च रहेको र यसले सामाजिक रूपमा पिछडिएका समुदायलाई झन् बढी प्रभाव पारेको छ। गर्मीले शरीरमा तनाव बढाउने र जैविक प्रक्रियामा अवरोध पुर्याउने हुनाले यस्ता समस्या बढ्न थालेका छन्।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्छन्, “गर्भवतीको शरीर यसै पनि हर्मोनको परिवर्तनले तातो हुन्छ, धेरै गर्मी भयो भने उसको शरीरमा पानीको मात्रा कम भएर रक्तचाप वा मुटुमा दबाब पर्छ।”
श्रमिकलाई सास्ती
अत्यधिक गर्मीका कारण खासगरी अनौपचारिक क्षेत्रका मजदुर मारमा पर्छन्। उनीहरू प्राय: बाहिरी क्षेत्रमा काम गर्ने, टन्टलापुर घाममा सेकिनुपर्ने र पिउने पानीको पहुँच एकदमै न्यून हुने भएकाले गर्मीसम्बन्धी असरको जोखिममा हुन्छन्। चर्को गर्मीले उनीहरूको स्वास्थ्य, जीविकोपार्जन र समग्र जीवनस्तरमा गम्भीर खालको नकारात्मक असर पारेको पिपल्स करेज इन्टरनेसनल र आइसेट इन्टरनेसनल संस्थाले गरेको अध्ययनले देखाएको छ। ‘बढ्दो गर्मीले दक्षिण तथा दक्षिण-पूर्वी एसियाका सहरका अनौपचारिक श्रमिकलाई पारेको प्रभाव’ शीर्षकको उक्त अध्ययन ३१ वैशाख २०८३ मा सार्वजनिक भएको छ।
गर्मीले मजदुरहरूलाई दोहोरो असर पारेको उक्त अध्ययनमा संलग्न अध्येता प्रकाश भट्टराई बताउँछन्। “उनीहरू छाप्रो वा टहरोमा बस्ने भएकाले घरमा हुँदा पनि गर्मी खेप्नुपर्ने र कार्यस्थलमा जाँदा पनि गर्मीमै काम गर्नुपर्ने स्थितिमा रहेको पायौँ,” उनी भन्छन्।

तस्बिर : वीरेन्द्र रमण
२०८१ सालदेखि सरकारले कार्ययोजना बनाएर गर्मीले जनजीवनमा पारेका असरलाई सम्बोधन गर्ने प्रयास गरेको देखिए पनि प्रभावकारी नभएको भट्टराईको तर्क छ। “सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न कागजमा नीति, कार्ययोजना बनाएको हुन्छ, व्यवहारमा लागु भएको पाइँदैन। गर्मीसम्बन्धी कार्ययोजनामा पनि यही समस्या देखिन्छ,” उनी भन्छन्, “गर्मीको प्रभाव ठाउँपिच्छे फरक हुने भएकाले स्थानविशेष कार्ययोजना चाहिन्छ। हामीकहाँ चाहिँ राष्ट्रिय स्तरको कार्ययोजना बनाइन्छ र त्यो पनि लागु नगरी छाडिन्छ।”
नेपाल, भारत, बाङ्लादेश, इन्डोनेसिया र फिलिपिन्सका पाँच मुख्य सहरमा गरिएको अध्ययनले अनौपचारिक क्षेत्रका मजदुरको स्वास्थ्य र जीविकोपार्जनमा परेका चुनौती उजागर गरेको छ। गर्मीले कार्यक्षमतामा गिरावट आउनाले तलब, ज्याला, सेवासुविधा कटौती हुने वा रोजगारी नै गुम्न सक्ने खतरा बढेको छ। गर्मीका कारण स्वास्थ्यमा आउने समस्याको उपचार गर्न ऋण लिनुपर्ने, खानामा कटौती गर्नुपर्ने वा उपचारमा ढिलाइ हुने जस्ता जोखिमतिर मजदुरहरू धकेलिने गरेका छन्।
उक्त अध्ययनमा काठमाडौँ र नेपालगन्जको अत्यधिक गर्मी र यसले न्यून आएका भएका अनौपचारिक क्षेत्रका श्रमिकलाई पारेको प्रभाव पनि समेटिएको छ। अत्यधिक गर्मी, बाढी र अधिक चिसो नेपाली मजदुरले कार्यस्थलमा भोग्ने प्रमुख तीन मौसमी घटना हुन्। सबैभन्दा बढी ७५ प्रतिशतले अत्यधिक गर्मी, ४७ प्रतिशतले बाढी र ४२ प्रतिशतले चिसोको समस्या खेप्ने गरेको अध्ययनमा सहभागी श्रमिकहरूले बताएका छन्। गर्मीले कार्यक्षमतामा गिरावट आउँदा ४९ प्रतिशतले ज्याला कटौती भएको खुलाएका छन्। यस्तै, गर्मीले ७४ प्रतिशतको घरमा खाद्य असुरक्षा निम्त्याएको र ६५ प्रतिशतलाई स्वास्थ्य समस्या देखिएको छ।
के हो गर्मीको कारण?
मानवीय गतिविधिसिर्जित जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तापक्रम बढिरहेको छ। विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ३० पुस २०८२ मा प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२५ लाई हालसम्मकै तातो वर्ष घोषणा गर्यो। पछिल्ला ११ वर्ष लगातार इतिहासकै तातो वर्षका रूपमा रेकर्ड भएको डब्लूएमओले जनाएको छ।
नेपालमा मनसुनमा समेत गर्मी बढ्नुमा प्रशान्त महासागरमा विकसित हुने दुई वटा मौसमी प्रणालीमध्ये ‘एल निनो’ को प्रमुख भूमिका रहन्छ। अनुसन्धाता श्रेष्ठ ‘एल निनो’ चक्रमा समुद्रमा तातोपन बढ्ने र यसले नेपालसहित दक्षिण एसियाली क्षेत्रमा गर्मी लिएर आउने बताउँछन्। भन्छन्, “यसपालि अझ सुपर ‘एल निनो’ को चक्र भएकाले अहिलेसम्मकै अधिक गर्मी हुने भन्ने कुरा पनि छ।” यस चरणमा ठाउँअनुसार तापक्रमदर सरदर एकदेखि तीन डिग्री सेल्सियस वृद्धि हुने उनी बताउँछन्।
विश्वभरको मौसमी प्रणालीमा ‘एल निनो’ र ‘ला निना’ दुई चक्र हुन्छन्। ‘एल निनो’ बलियो हुँदा नेपालसहित दक्षिण एसियामा मनसुन कमजोर हुन्छ, गर्मी बढ्छ र खडेरी हुन्छ। ‘ला निना’ बलियो हुँदा मनसुन सक्रिय हुन्छ, चिसोपन हुन्छ। हरेक तीनचार वर्षमा ‘एल निनो’ र ‘ला निना’ चक्रमा पालैपालो फेरबदल हुने भनिए पनि पछिल्ला वर्षहरूमा ‘एल निनो’ बढी सक्रिय हुने र लामो समय चल्ने हुँदा तापक्रम बढेर यससम्बन्धी मौसमी घटनामा बढोत्तरी भएको श्रेष्ठ बताउँछन्। गर्मीको प्रभावबारे बढी सुनिन थालेको पनि एक-डेढ दशक भएको उनको भनाइ छ।
नेपालमा सहरी र ग्रामीण भेगमा गर्मीको महसुस एकदमै फरक छ। काठमाडौँसहितका सहरी क्षेत्रमा सहरीकरण र कंक्रिट संरचनाले गर्दा तापक्रम धेरै बढेको महसुस हुन्छ। “सहरलाई तातोको टापु भनिन्छ, धेरै मान्छे बसोबास गर्छन्, सडक, उद्योग कलकारखाना हुन्छन्, रुखबिरुवा कमै हुन्छन्, यसो भएपछि गर्मीको मात्रा बढी नै हुन्छ,” श्रेष्ठ भन्छन्।

तराई क्षेत्रमा गर्मी बढेसँगै ख़ाली भएको सड़क। तस्बिर : वीरेन्द्र रमण
कंक्रिट र कालोपत्रे सडकले ताप सोस्ने र लामो समयसम्म राम्ररी नसेलाउने हुँदा सहरमा बढी गर्मी महसुस हुन्छ। श्रेष्ठसहितका अनुसन्धाताले काठमाडौँभित्रकै रुखबिरुवा भएको र नभएको छिमेकी टोलबस्तीको अध्ययन गर्दा बोटबुट्यान नभएका ठाउँमा तीनदेखि चार डिग्री सेल्सियस बढी तापक्रम मापन भएको देखाएको छ। उनीहरूले जावलाखेलको चिडियाखाना र कुमारीपाटी, त्रिभुवन विमानस्थल र गल्फकोर्स क्षेत्र तथा यूएन पार्क र बानेश्वरको तापक्रम मापन गर्दा रुखबिरुवा नभएका वा एकदमै कम भएका ठाउँमा बढी तापक्रम पाएका हुन्। यसले सहरमा तापक्रमलाई अनुकूलन गर्न रुखबिरुवा लगाएर हरियाली बढाउनुपर्ने सन्देश दिएको छ।
बेवास्ता गरिएको विपद्
अध्ययनहरूले जलवायु परिवर्तनका कारण नेपालसहितको दक्षिण एसियामा तातो हावाको आवृत्ति, अवधि र तीव्रता निरन्तर बढ्दै जाने र स्वास्थ्य जोखिमलाई झन् गम्भीर बनाउँदै लैजाने आकलन गरेका छन्। श्रेष्ठ भन्छन्, “संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी)को अध्ययनले पुरानो पुस्ताभन्दा जेन-जी र अल्फा पुस्ताले आफ्नो जीवनकालमा साढे सात गुणा बढी मात्राको गर्मी खेप्नुपर्छ भन्ने देखाएको छ।”
२८ साउन २०८२ मा प्लस वान अनलाइनमा प्रकाशित तातो हावाको लहरको जोखिमसम्बन्धी अध्ययनअनुसार न्यूनीकरणका प्रभावकारी उपाय अपनाइएन भने आगामी सन् २०८० को दशकसम्म नेपालमा गर्मीसँग सम्बन्धित मृत्युदर प्रतिएक लाख जनसंख्यामध्ये ५३ जना पुग्न सक्ने अनुमान गरिएको छ। सन् १९६१ देखि १९९० को अवधिमा यो दर प्रतिएक लाखमा चार जना मात्र थियो।
दक्षिण एसियामा तापक्रमको आवृत्ति, अवधि र तीव्रताको वृद्धि जारी रहेमा यस क्षेत्रको वार्षिक औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढ्न सक्ने आकलन भइरहेको छ। सन् २०२५ मा नेपालको वार्षिक औसत तापक्रम २१.२१ डिग्री सेल्सियस रह्यो। यस वर्षको अधिकतम तापक्रम २७.१८ डिग्री सेल्सियस मापन भयो, जुन १३ वर्षअघि (२०१२) को भन्दा ०.१७ डिग्री सेल्सियसले बढी हो।
भारतमा सरकारले बढ्दो गर्मीको सामना गर्न ‘वेट-बल्ब टेम्प्रेचर’ बारे अनुगमन गरेर सचेतना जारी गर्ने, सार्वजनिक ठाउँमा कुलर वा फ्यान राख्ने जस्ता अनुकूलनका प्रयास गरेको छ। तर, नेपालमा यससम्बन्धी प्राथमिकता र तयारी नै छैन। अनुसन्धाता श्रेष्ठ भन्छन्, “अरू देशमा गर्मीबाट मानिसको मृत्यु हुने दर बर्सेनि बढिराखेको छ, यस्तो जोखिम नेपालमा पनि छ। तर, गर्मीको खतरालाई नियन्त्रण गर्न हाम्रो सरकारी संयन्त्र तयार भएको जस्तो लाग्दैन।”
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता पोखरेलका अनुसार अत्यधिक गर्मीका कारण हुने जोखिम टार्ने तयारीका लागि लामो समयको तथ्यांक विश्लेषण गर्नुपर्ने हुन्छ, तर सरकारसँग पर्याप्त र व्यवस्थित तथ्यांक नै छैन। “तातो दिन तथा तातो लहरसम्बन्धी पर्याप्त र व्यवस्थित तथ्यांकहरू छैनन्, गर्मीको हानि र क्षतिबारे विस्तृत अध्ययन भइसकेका छैनन्,” उनी भन्छिन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी मौसमविद् निर्मला रेग्मी बाढी र पहिरोको प्रभाव जसरी नदेखिने हुँदा तातो हावाले गरेको हानि र क्षति यकिन हुन नसकेको बताउँछिन्। “तातो हावाकै कारण मृत्यु भयो भन्ने चिकित्सकीय रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ, त्यस्तो संयन्त्र अहिलेसम्म नेपालमा बनिसकेको छैन,” उनी भन्छिन्, “हाललाई तीन वर्षयता अत्यधिक गर्मीबाट पर्ने असर रोकथाम तथा न्यूनीकरण गर्न कार्ययोजना बनाएर लागु गर्दै आएका छौँ।”

दैनिक जनजीवन, स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने अत्यधिक गर्मीलाई सरकारले विपद् मान्न थालेको तीन वर्ष मात्रै हुँदै छ। पहिलो पटक २०८१ सालमा ‘लू’ सम्बन्धी पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजना लागु गरिएको थियो। त्यसयता बर्सेनि कार्ययोजना ल्याउने गरेको छ। पूर्वतयारी, पूर्वकार्य तथा प्रतिकार्यलाई शीघ्र एवं प्रभावकारी बनाएर अत्यधिक गर्मीबाट हुन सक्ने क्षति र प्रभाव न्यूनीकरण गर्न कार्ययोजना बनाउँदै आएको हो।
गर्मीबाट हुने जोखिम कम गर्न तीन तहकै सरकार र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै राहतको व्यवस्था गरिन्छ। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान गरेर सम्भावित प्रभावित क्षेत्रको नक्सांकन गरी बुलेटिन प्रकाशनमार्फत पूर्वसूचना जारी गर्छ।
प्राधिकरणले पनि पूर्वसूचना जारी गरेर जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रवाह गर्छ। ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलगायत संकटासन्न समूहलाई विशेष हेरचाह तथा संरक्षणका लागि अनुरोध गरिएको हुन्छ।
जोगिने उपाय
प्राधिकरणका अनुसार तातो हावाको लहर आउनुअघि नै आवश्यक सावधानी अपनाउने हो भने यसले पार्ने असरलाई कम गर्न सकिन्छ। यसका लागि गर्मीको मौसम सुरु हुने चैत महिना अगावैदेखि पूर्वतयारी थाल्नुपर्छ र तातो हावाको जोखिम रहँदासम्म निरन्तरता दिनुपर्छ। घरदेखि अस्पताल, विद्यालय र सार्वजनिक स्थानसम्म समयमै चिसो वातावरणको चाँजोपाँजो मिलाउने, स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती र बिरामीहरूको विशेष हेरचाह गर्नुपर्छ। यस्ता तयारीले अत्यधिक गर्मीले जनस्वास्थ्यमा पार्ने असर कम गर्छ र दीर्घकालीन रूपमा आर्थिक खर्चसमेत घटाउँछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अत्यधिक गर्मी चलिरहेको बखत चर्को घाममा बाहिर ननिस्किने, घरभित्र अर्थात् चिसो स्थानमा रहने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक पटक पानी तथा जुस, सर्बत, मही जस्ता झोल पदार्थ प्रशस्त पिउने र स्वास्थ्यमा समस्या आएमा चिकित्सक वा स्वास्थ्यकर्मीको सम्पर्कमा गएर सुझाव लिने गर्नुपर्छ।
यस्तै, कृषि तथा पशुचौपाया र जीविकोपार्जनमा परेको असरलाई कम गर्न तातो सहन सक्ने बालीका जात/नश्ल र छाया भएका गोठको व्यवस्थापनमा सरकारले जोड दिनुपर्ने अनुसन्धाता श्रेष्ठको सुझाव छ। “हाम्रै छिमेकी भारतमा पानी कम पर्ने र गर्मी बढ्ने पूर्वानुमानअनुसार त्यहाँको सरकारले छोटो अवधिमा फल्ने, खडेरी सहने जातका बालीनाली लगाउनु भनिसकेको छ,” उनी भन्छन्, “हामीले पनि खाद्य संकट आउन नदिन यो उपाय अपनाउन सक्छौँ।” अत्यधिक गर्मीसँग जुध्न सरकारले आवश्यक कार्यक्रम र बजेट सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ।