काठमाडौँ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारमा सर्वसत्तावाद हावी भएको बताएका छन्।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसंगको छलफलका क्रममा उनले संविधान, ऐन कानुनभन्दा माथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका हुन्।
उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरूको प्रश्न रहेको बताए। निरन्तरतामा क्रमभङ्गताका नाममा प्रचलित सबै अभ्यास र कानुनहरूलाई नजरअन्दाज गरेर फरक ढंगले प्रधानमन्त्री अघि बढ्न खोजेको उनले आरोप लगाए।
उनले सदनलाई सरकारको छायाजस्तो गरी सभामुखको कार्यशैली उन्मुख देखिएकाले आफूहरुले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध जनाएको धारणा राखे। सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफूहरूको रहर नभएको उनको भनाइ छ।
उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे।
त्यस्तै उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए।