सुर्खेत। वीरेन्द्रनगरमा जारी यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार कोसी प्रदेशका टीका शाह र प्रिन्सा रानामगरको अर्धशतकीय रेकर्ड मधेसकी सना परविनले तोडेकी छन्।
प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्न कालुञ्चोक मैदानमा उत्रिएको मधेसको पहिलो जितमा सना एक्लै हावी हुँदा कोसीको पहिलो हारसँगै टीका र प्रिन्साको अर्धशतकसमेत ओझेलमा पर्यो।
१६ ओभरको तेस्रो बलमा खेल जित्न जम्मा २ रन चाहिएको थियो। व्यक्तिगत ४८ रनमा खेलिरहेकी सनाले सातौँ चौका प्रहार गर्दै फिनिसरका रूपमा अर्धशतकीय पारीसँगै खेल समापन गरिन्। उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दा अनुभवअनुसार नै खेल्दै आएकी सनाले नटआउट १०६ को स्ट्राइक रेटमा ४९ बलमा ५२ रन बनाइन्।
सनासँग साझेदारी गरेकी साक्षी यादवले ४६ रनको व्यक्तिगत स्कोरमा खेल्दै गर्दा सिंगल रन लिएर स्ट्राइक रोटेट गरेर सनाका लागि अर्धशतकीय पारी खेल्ने मौका जुराइन्।
एलिशा यादव ७ र शिवानी साह शून्यमै पभेलियन फर्किएपछि ओपनर सनासँग साझेदारी गर्न क्रिजमा उत्रिएका साक्षीले ११५ को स्ट्राइक रेटमा ८ चौकासहित ४० बलमा ४६ रनको योगदान दिइन्। मधेसका दुवै विकेट शुभेक्षा लिम्बूले आफ्नो नाममा राखिन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको थियो। ओपनिङ गर्न आएकी पूर्णिमा राजवंशी खाता नखोलेर फर्किएपछि उनीसँगै ओपनिङमा आएकी टीका शाहले ५१ रन जोडिन् भने तेस्रो क्रममा ब्याटिङमा आएकी प्रिन्सा राना मगरले नटआउट ५५ रन जोड्दै उत्कृष्ट साझेदारी गरिन्।
अविजित प्रिन्साले ६८ बलमा ९ चौकासहित प्रतियोगिताको पहिलो अर्धशतकीय पारीको रेकर्ड बनाउँदा टीकाले भने ३६ बलमा ११ चौकासहित दोस्रो अर्धशतक पूरा गरिन्।
वीरेन्द्रनगर रंगशालामा भएको चौथो खेलमा लुम्बिनी गण्डकीसँग पाँच पराजित भयो। टस जितेर गण्डकीविरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनीले १८.३ ओभरमा अलआउट हुनुअघि १३ अतिरिक्त रनसहित जम्मा ६३ रन बनाउन सक्यो।
लुम्बिनीका लागि अञ्जी पाठकले १३ र योजना थापाले १२ रनबाहेक अरु कुनै ब्याटरले दोहोरो आँकडा राख्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका कुसुम गोदार र प्लयेर अफ दी म्याच बनेकी रचना चौधरीले आठ-आठ रन खर्चिएर समान तीन-तीन विकेट लिए भने रञ्जना साउँदको नाममा २ विकेट रह्यो।
लुम्बिनीबाट पाएको ६३ रनको झिनो लक्ष्य गण्डकीले १२.४ बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। पहिलो खेलमा बागमतीलाई सात विकेटले हराउँदै दुई अंक जोडेको गण्डकीका लागि अंक तालिकामा दोहोरो अंक दिलाउने क्रममा ज्योत्सिनीका मरासिनी र दीपिका सापकोटाले समान १६ रनको योगदान दिए। लुम्बिनीका लागि आशना चौधरी र आयुषा भुसालले समान दुई-दुई र विमिता मगरले एक विकेट लिए।