काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
वर्षमान पुन।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसद्‌मा प्रस्तुत गरिएको आर्थिक विधेयकमाथि हेरफेरको विषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका छन्।

संसद भवन सिंहदरबारमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले संसद्‌मा प्रस्तुत गरिएको आर्थिक विधेयकमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध भएकाले संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका हुन्।

उनले आर्थिक विधेयकमा भएको हेरफेरका विषयमा अर्थमन्त्रीले संसद्‌मा आएर स्पष्ट पार्नुपर्ने बताए। संसद्‌मा प्रस्तुत आर्थिक विधेयकमाथिको आफूखुसी करेक्सनले चुहावट आशंका उत्पन्न भएको उनको भनाइ छ।

त्यस्तै नेता पुनले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले नभई स्वयं प्रधानमन्त्री नै आएर सच्चाउनुपर्ने बताए।

राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गम्भीर र त्रुटिपूर्ण भएकाले आफूहरूले सदनमा विरोध जनाएको उनको भनाइ छ।

उनले संसद्‌को आगामी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हट्ने र आत्मलोचनासमेत गर्ने विश्वास व्यक्त गरे।