काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षासचिव जोन हेली र पूर्वसैनिक एवं मानव संसाधनमन्त्री लुइस स्यान्डर जोन्ससँग भर्चुअल बैठक गरेका छन्।

बैठकमा ब्रिटिस गोर्खा सैनिकसँग सम्बन्धित दीर्घकालीन समस्याहरू, विशेषगरी समानुपातिक पेन्सनको मागलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले नेपाल-बेलायत सम्बन्धमा गोर्खा सैनिकहरूको महत्त्वपूर्ण योगदान उल्लेख गर्दै उनीहरूका जायज माग यथाशीघ्र समाधान गर्न आवश्यक रहेकामा जोड दिएका थिए। उनले न्याय, समानता र सम्मानको आधारमा समस्याको समाधान गर्न बेलायती सरकारलाई आग्रह गरेका थिए।

बेलायती तर्फबाट मानव संसाधनमन्त्री जोन्सले गोर्खा भूतपूर्व सैनिकका समस्याहरू समाधानका लागि नेपालसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए। बेलायती पक्षबाट अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष एलेक्स बेकरलगायत रक्षा मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो। साथै ब्रिटिस गोर्खा संगठनका प्रतिनिधिहरू पनि भर्चुअल बैठकमा सहभागी भएका थिए।

यसअघि मन्त्री खनालले बेलायतस्थित ब्रिटिस गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तर्क्रिया गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकको समन्वय तथा सहजीकरण लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए।