हेटौँडा। बागमती प्रदेश सरकारले आगामी आवका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ।
बागमती प्रदेश सभा बैठकमा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आवको बजेट प्रस्तुत गरे। उनले आगामी आवमा चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए।
बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट सात अर्ब ७३ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने अनुदानबापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ प्राप्त हुने अनुमान छ।
मन्त्री तामाङले सञ्चित कोष बचत विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ र अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको बताए।
उनले प्रदेशमा लगानीको वातावरण तयार गर्ने तथा आर्थिक क्रियाकलापमा वृद्धि हुने गरी राजस्व नीति प्रस्ताव गरेको पनि जानकारी दिए।