काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवाप्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताएका छन्।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवमा आयोजित समारोहमा उनले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताए। राष्ट्रपति पौडेलले भने‚ “स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणामुखी बनाउन सक्छन्। प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ। यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ।”

राष्ट्रपति पौडेलले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पारे। उनले भने‚ “आयोगप्रतिको भरोसा र विश्वास एवं यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मिहिनेती युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन। विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापी रूपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीसमेतको अध्ययनको आधारमा आफ्नो कामलाई भविष्यमा थप परिस्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु।”

उनले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्ना गर्ने एउटा महत्त्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनोटमा समयसापेक्ष परीक्षण विधि/प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।

‘सुशासनमार्फत विकासमा ध्यान दिउँ’

राष्ट्रपति पौडेलले भने‚ “कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ। यो विश्वास, भरोसा एवं प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईंहरूले विशेष मिहिनेत गर्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु।” उनले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भावी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समीक्षा र भावी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाए।

उनले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशक लामो अवधिमा ‘योग्यता, निष्पक्षता र स्वच्छता’ जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुसीको विषय भएको बताए।

उनले भने‚ “विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनोटको उच्चतम् कसी हो। मूल्यांकनको यही अन्तर्य अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ। यो भरोसा र विश्वास आयोगको ठूलो सम्पत्ति हो। यसलाई अझ थप सुदृढ गर्दै थप सबल बनाउन तपाईंहरूको शत्‌प्रयास निरन्तर रहने मैले विश्वास लिएको छु।”